आत्महत्याको बाटो रोज्नेमा युवा धेरै,महिलाभन्दा पुरुष अगाडि

आत्महत्याको बाटो रोज्नेमा युवा धेरै,महिलाभन्दा पुरुष अगाडि

हरेक मान्छेलाई लामो समय बाँच्ने चाहना हुन्छ । लामो जीवन बाँचेर सुख कमाउने लोभ पनि मानिसमा हुन्छ । जन्मपछि मृत्यु अवश्यम्भावी भएपनि मानिसले सहजै स्वीकार गर्दैन । बरु जीवनलाई रमाइलो, उत्साहजनक बनाउन सक्दो कोसिस गरिरहेको हुन्छ ।

यसैपनि मरण भयावह नै हुन्छ । तर, पनि मानिसले आफ्नो बाँच्ने इच्छाशक्तिलाई त्यागेर किन आत्महत्या रोज्छन् होला ? प्रश्न गम्भीर र संवेदनशील हुँदाहुँदै पनि विश्वमा आत्महत्या गर्नेको संख्या बढ्दो छ ।

नेपालजस्तो विकासोन्मुख राष्ट्र आत्महत्या गर्नेको सूचीमा अक्सर अगाडि पर्ने गर्दछ । गत आर्थिक वर्ष मात्रै नेपालमा ७ हजार बढीले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ । यसरी आत्महत्या गर्नेमा उर्जाशील युवाको संख्या धेरै पाइएको छ । तथ्यांकअनुसार १५ देखि २५ वर्ष उमेर समूहका मानिसले धेरै आत्महत्या गर्ने गरेका छन् ।

“आत्महत्या गर्नेमा अधिकांश प्रेमरोगी छन् । प्रेममा धोका खाएर आत्महत्याको बाटो रोज्नेमा अधिकांश किशोर किशोरी रहेका छन् । त्यस्तै,सामाजिक लाञ्छना, सामाजिक मनोवृत्ति र धार्मिक कारणले पनि मानिसले आफ्नो बाँच्ने चाहनालाई त्याग्ने गरेको प्रहरीको तथ्यांकले बोलेको छ ।”

प्रहरीले दिएको विवरणअनुसार आर्थिक वर्ष २०७७।७८ मा ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेका छन् । जसमध्ये पुरुषको संख्या ३ हजार ९ सय २८ र महिलाको संख्या २ हजार ४ सय ४९ रहेको छ । तीमध्ये ५ हजार ७ सय ३१ ले झुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै,विष खाएर १ हजार २ सय ८६ ले आत्महत्या गरेको पाइयो ।

तथ्यांकमा आत्महत्या अँगाल्नुको कारण पनि औंल्याइएको छ । सामान्यतया : आफ्नो जीवनदेखि नै दिक्दार भइसकेकाले आत्महत्या गरेको तथ्यांकले बताएको छ । लैंगिक रुपमा हेर्दा महिलाले भन्दा पुरुषले बढी आत्महत्या गरेको पनि तथ्यांकले देखाएको छ ।

नशालु पदार्थ सेवन गर्ने,मदिरापान पनि आत्महत्याको प्रमुख कारण बनेको देखिन्छ । आत्महत्याको अर्को प्रमुख कारण गरिबी पनि हो । गरिब भएर कतिञ्जेल बाँच्नु भन्ने मनस्थितिले गर्दा पनि आत्महत्याका घटना बढ्ने गरेको तथ्यांकले देखाएको छ ।

आत्महत्या गर्नेमा अधिकांश प्रेमरोगी छन् । प्रेममा धोका खाएर आत्महत्याको बाटो रोज्नेमा अधिकांश किशोर किशोरी रहेका छन् । त्यस्तै,सामाजिक लाञ्छना, सामाजिक मनोवृत्ति र धार्मिक कारणले पनि मानिसले आफ्नो बाँच्ने चाहनालाई त्याग्ने गरेको प्रहरीको तथ्यांकले बोलेको छ । त्यस्तै,दाइजो प्रथाले पनि आत्महत्यालाई प्रोत्साहन गरिरहेको तथ्यांकमा उल्लेख छ ।

हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या दिवस मनाउने गरिन्छ । कसैले पनि आत्महत्याको प्रयास नगरोस् भनेर यो दिवस मनाउने गरिएको हो । तर, पनि आत्महत्याको दरमा भने कमि आएको छैन् । मनोचिकित्सकहरुका अनुसार आत्महत्या कुनै मानसिक रोग होइन् । डिप्रेसनबाट ग्रसित मानिसहरुमा आत्महत्या गर्ने सोच पलाउँछ । किनकि उनीहरु जहिले पनि तनावमा बाँचिरहेका हुन्छन् ।

टिप्पणीहरू