चिज नक्कली ठहरिइसक्यो,मान्छे अझै जेलमा

चिज नक्कली ठहरिइसक्यो,मान्छे अझै जेलमा

कस्तुरीको वीना ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यक्ति कारागार पुगेपनि उक्त वस्तु भने वीना नभएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले प्रमाणित गरेको छ ।

असोज २ गते कस्तुरीको वीना ओसार पसारको आरोपमा प्रहरीले वीनाजस्तो देखिने वस्तुसहित सुर्खेतबाट दुई जनालाई प्रकाउ गरेको थियो । दैलेख घर भई अहिले भावर टोलमा होटेल सञ्चालन गर्ने २३ वर्षीय सर्जन रावत र जुम्ला चन्दननाथ नगरपालिका–२ का ६० वर्षीय रनबहादुर बोहरा संरक्षित वन्यजन्तु कस्तुरीको वीना ओसारपसार गरेको अभियोगमा पक्राउ परेका थिए ।

तर,विधि विज्ञान प्रयोगशालाले नै कस्तुरीको वीना नभएको पुष्टि गरेपनि उनीहरु भने अहिले कारागारमै छन् ।

प्रहरीले बरामद गरेको वस्तु कस्तुरीको वीना नभएको प्रमाणित भएपछि पक्राउ परेका व्यक्तिका आफ़न्तले प्रहरीमाथि नै शंका गरेका छन् । प्रमाण बिना नै शंकाको भरमा दु:ख दिएको भन्दै उनीहरुले प्रहरीको भूमिकामाथि आशंका गरेका हुन् । प्रहरीले प्रमाणबिना नै कारवाही गरेकाले निर्दोष हुँदाहुँदै पनि कारागार बस्नुपरेको उनीहरुको गुनासो छ ।

यता,सब-डिभिजन वन कार्यालय सुर्खेतले पनि बरामद वस्तु कस्तुरीको वीना नभएको पुष्टि भएको जनाएको छ । कार्यालयका सहायक वन अधिकृत कृष्णराम धितालले कस्तुरीको वीना नभएपनि शंकास्पद वस्तु भएको दाबी गरे ।

उनले अनुसन्धानका क्रममा कस्तुरीको वीना नभएको पाइएपछि प्रमाणित गराउन डिएनए परीक्षणको लागि असोज २० गते राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको बताए । अधिकृत धितालले प्रहरीले दिएको पत्रमा कस्तुरीको वीनाजस्तो देखिने,सुगन्ध आउने वस्तु भनिएकाले अहिले परीक्षणकै क्रममा रहेको र यही हो भन्न सकिने अवस्था नरहेको उल्लेख गरे । उनले रिपोर्ट आउन अझै कम्तिमा डेढ महिना लाग्ने बताए ।

स्थानीयले भने प्रहरीले शंकाकै भरमा प्रहरीले प्रकाउ गर्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । चाडपर्वको समयमा अनुसन्धानको नाममा प्रहरीले अनावश्यक दु:ख दिने गरेको उनीहरुको भनाइ छ ।

टिप्पणीहरू