बल्ल रमाइलो हुने भयो चेपाङको दशैं

बल्ल रमाइलो हुने भयो चेपाङको दशैं

-शंकर श्रेष्ठ, धादिङ

ओर्वाङकी सूर्यमाया चेपाङलाई आजबाट बल्ल दशैं आएजस्तो लागेको छ । घरमा खाने अन्नसमेत जोहो गर्न नसक्दा छट्पटीमा रहेकी सूर्यमायाले दाताले दिएको एक बोरा चामल पाएकी छन् । भन्छिन्,‘चामल पाएँ,अब दशैं रमाइलो हुन्छ ।’

सूर्यमायासँगै छाक टार्नै समस्यामा परेका बेनिघाट रोराङ गाउँपालिका–३, तल्लो ओर्वाङका चेपाङ ९० परिवारले दशैको मुखमै खाद्यान्न पाएका छन् । हाल अस्ट्रेलियामा बस्दै आएका नेपालीहरुले संकलन गरर पठाएको सहयोग रकमबाट गरिबीको चपेटामा रहेका चेपाङ समुदायमा चामल वितरण गरिएको हो ।

पार्जिवका हर्कबहादुर चेपाङको पनि यसपालीको दशैं रमाइलै हुने भएको छ । गाउँदेखि हिँडेर पृथ्वी राजमार्गको छेउमा आई एक बोरा चामल लिएका हर्कबहादुर भन्छन्,‘यत्ति चामल पाएपछि बालबच्चाको दशैं रमाइलो हुने भयो ।’

‘ऋण गरेर भएपनि गाउँमा मासु भनेको छु,चामल कहाँ गएर जुटाउँ र बालबच्चालाई रमाइलो गराउँ भन्ने चिन्ता थियो,अब ढुक्क भएँ’ हर्कबहादुरले खुशी सुनाए । गाउँका अधिकांश परिवार गरिबीको चपेटामा छन् । दशैँ मनाउन सकस भइरहेको बेला गाउँभरि सबैको घरमा चामलका बोरा पुग्दा स्थानीयहरु खुशी भएका छन् ।

नेपाल घर भई हाल अष्ट्रेलिया बस्दै आएका र भिक्टोरिया राज्यका दाताहरुबाट संकलित रकमले सहयोग गरिएको एनभिए अष्ट्रेलियाका अध्यक्ष राम गुरुङले जानकारी दिए । ईन्जिनियर निराजन गौलीको समन्वय र एनएभिका कोषाध्यक्ष डा.याकिन्द्र तिमिल्सिनाको संयोजनमा संकलन भएको एक लाख ५३ हजारले ९० परिवारलाई सहयोग गरिएको गुरुङले बताए ।

घरमा अन्नपात सकिएर भोकमरीसँग पौँठेजोरी खेल्दै जीवन धानिरहेका बस्तीमा आइतबार दाताहरुले राहतस्वरुप चामल पुर्याएका छन् । खोरिया खनेर उत्पादन गरेको अन्नपातले दक्षिणी भेगको महाभारत पर्वत शृङ्खला आसपासका स्थानीयलाई मुस्किलले पाँच महिना खान पुग्छ ।

टिप्पणीहरू