मन्त्रीहरुलाई टीका र खादा लगाउँदा किसान श्रेष्ठ किन छुटे ?

मन्त्रीहरुलाई टीका र खादा लगाउँदा किसान श्रेष्ठ किन छुटे ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका नवनियुक्त मन्त्रीहरुलाई बधाई दिँदै टीका र खादा लगाइदिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालको हातबाट टीका र खादा नलगाउने मन्त्रीमा किसान श्रेष्ठ पर्नुभएको छ ।

पार्टीको सिफारिसमा परेका चार जना मन्त्री र एक जना राज्यमन्त्रीलाई आज पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपालले बधाई र शुभकामना दिनुभएको हो । कार्यक्रममा स्वास्थ्य मन्त्री विरोध खतिवडा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगर,सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्य मन्त्री भवानी खापुङ हुनुहुन्थ्यो ।

मन्त्री किसान श्रेष्ठ भने शुक्रबार मन्त्रीको शपथ ग्रहण गरेर हिजो नै आफ्नो गृह जिल्ला तनहुँ र निर्वाचन क्षेत्रमा पुगेको कारण आजको कार्यक्रममा अनुपस्थित हुनुभएको बताइन्छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर सांसद बन्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठको सम्मानमा हिजो दिनभर तनहुँमा स्वागत र र्याली निकालिएको थियो ।

टिप्पणीहरू