ईश्वर पोखरेल ओलीसङ्ग नलड्ने,महासचिव पनि नहुने

ईश्वर पोखरेल ओलीसङ्ग नलड्ने,महासचिव पनि नहुने

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्ष केपी ओलीलाई बलियो बनाउनतिर लाग्ने बताउनुभएको छ । ओलीलाई कमजोर बनाउने कुनै पनि गतिविधि नगर्नेसमेत पोखरेलको भनाइ छ ।

काठमाडौँ आज सञ्चारकर्मीमाझ कुराकानी गर्दै पोखरेलले आफू पुन: महासचिवमा उम्मेदवारी नदिने घोषणा पनि गर्नुभयो । दुई पटक महासचिव बनिसक्नु भएका उहाँलाई पुन: महासचिवमा उम्मेदवारी दिन विधानले रोक लगाएको छ ।

एमालेको हालै गोदावरीमा सम्पन्न विधान महाधिवेशनले एकै व्यक्ति एउटै पदमा दुईचोटी भन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ । पोखरेलले पनि विधानले समेत नदिने भएकाले आफू महासचिवमा उठ्ने तयारीमा नरहेको प्रष्ट पार्नुभयो ।

अहिले एमालेविरुध्द घेराबन्दी भैरहेकाले ओलीलाई बलियो बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । अहिले मुलुकमा दुईवटा राजनीतिक ध्रुव रहेको भन्दै पोखरेलले केपी ओली एकातिर र ओलीविरोधी सबै अर्कोतिर भएकाले पनि ओलीलाई शक्तिशाली बनाउन सिंगो पार्टी पंक्ति लाग्नुपर्ने तर्क गर्नुभयो ।

ओलीको विकल्प खोजे एमाले कमजोर हुने उहाँको भनाइ छ ।

एमालेले आगामी मङ्सिरमा नेतृत्व चयनका लागि दसौँ राष्ट्रिय महाधिवेशन गर्दैछ । विधान महाधिवेशनबाट ७० वर्षे उमेरहदबारे अनुकूल व्याख्या गरेर ओलीले पुन: अध्यक्ष बन्ने बाटो खोलेको चर्चा चलिरहेका बेला पोखरेलको यस्तो भनाइ आएको हो ।

टिप्पणीहरू