आईजीपीलाई उन्मुक्ति

अख्तियारले अकुत सम्पत्ति आर्जनमा तेह्र पन्ने भराएर बयानको निम्ति हाजिर गराइ राखिएका पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई सफाइ दिएको छ । खर्चभन्दा आम्दानी बढी देखिएको भन्दै सोमबार अख्तियारले उनलाई थप झमेलाबाट उन्मुक्ति दिएको हो । 

उनले २०४३ सालमा इन्स्पेक्टर पदमा भर्ना भएदेखि ०७३ मा अवकास पाउँदासम्म आर्जन गरेको तलब र विदेश मिसनबापतको तीन करोडमध्ये दुई करोडमात्र खर्च देखिएको स्रोतले जनाएको छ । पुख्र्यौली आम्दानीका रुपमा कृषि पेशा रहेको, सिराहाको साढे ९ बिघा जमिनमध्ये साढे ६ बिघामा आँपको बगैँचा रहेको र आम्दानीको स्रोत खुलेका कारण उनले सफाई पाएका हुन् । 

त्यस्तै, क्षेत्राधिकार मिचेर लोकमानको पालामा १३ पन्ने भराइएका नेपाल मेडिकल काउन्सिलका सदस्य अनिल झाले पनि सोमबार सफाई पाएका छन् । त्यही दिन  नापी कार्यालयका कर्मचारी शैलेन्द्र सिंहले समेत अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्धामा सोमबारै सफाई पाएका छन् । माघ मसान्तमा प्रमुख आयुक्त दीप बस्न्यात उमेर हद लागेर अख्तियार प्रमुखको जिम्मेवारीबाट घर फर्किंदैछन् ।

लोकमानलाई अदालतले अयोग्य घोषणा गरेपछि उनी पहिलो वरियताको आयुक्त भएकै कारण स्वतः प्रमुख आयुक्त भएझैँ फागुन २ गतेदेखि अहिलेका वरिष्ठतम् आयुक्त नवीन घिमिरेले कार्यवाहक प्रमुख आयुक्तको कार्यभार सम्हाल्दैछन् । यसपछि अख्तियारमा एउटा  आयुक्त पद रिक्त हुन्छ । संघीय संसदको बैठक शुरु भएपछि गठन हुने संसदीय सुनुवाई समिति आएपछि मात्र नयाँ आयुक्त नियुक्त हुने स्रोत बताउँछ ।

टिप्पणीहरू