हिरासतमा थुनुवाको मृत्यु भएपछि प्रहरी कार्यालयमै झडप

हिरासतमा थुनुवाको मृत्यु भएपछि प्रहरी कार्यालयमै झडप

प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त बनेको छ । मृतकका आफन्तसहित ठूलो संख्याको उत्तेजित भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप भएको हो ।

प्रर्दशनकारीहरुले ढुङ्गामुडा गरेपछि प्रहरीले उनीहरुलाई लखेट्न आधा दर्जन बढी अश्रुग्याससमेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै आक्रोशित प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले शव लाश नबुझ्ने अडान पनि राखेका छन्।

उता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने प्रष्ट पारे ।

प्रहरीले प्रर्दशनकारीलाई हटाउन पटक-पटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरीमाथि नै जाई लागेको हो । झडपका क्रममा प्रहरी कार्यालय र परिषरका संरचनामा क्षतिसमेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा-५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् ।

उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।

टिप्पणीहरू