दशैंको चापाचापमा पनि राजधानीमा बग्रेल्ती कार्यक्रम

दशैंको चापाचापमा पनि राजधानीमा बग्रेल्ती कार्यक्रम

आज दशैं शुरु भएको चौथो दिन । पर्सिदेखि औपचारिक रुपमा पाँच दिन सरकारी बिदा हुँदैछ । विद्यालय र अदालत घटस्थापनाको दिनदेखि बिदा हुने प्रचलन छ । बजारमा मानिसको भीड देखिन्छ । उपत्यका छाड्नेहरुको लर्को दिनहुँ बिहान सबेरैदेखि राती अबेरसम्म बसपार्क र विमानस्थलमा लागेको छ ।

तर पनि राजनीतिक दल र विभिन्न संघ संस्थाले उपत्यकामा कार्यक्रमको आयोजना गर्न छाडेका छैनन् । त्यहि क्रममा आज नेपाल लोकतान्त्रिक खेलकुद संघ बाग्मती प्रदेश कमिटीले विजया दशमी,दिपावली,नेपाल सम्बत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । स्मार्ट पार्टी प्यालेस,धुम्बाराहीमा बिहान ८ बजेदेखि कार्यक्रम शुरु भएको छ ।

नेपाली काँग्रेसको मुख्यालयमा जारी रिले अनसन र धर्ना कार्यक्रम जारी छ । क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीविरुद्ध उनीहरुले तीन महिनादेखि बिहान ९ बजे शुरु गरेर साँझ ५ बजेसम्म त्यस्तो कार्यक्रम गर्ने गरेका छन् ।

राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको आयोजनामा नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्या र हत्यामा संलग्न व्यक्तिलाई प्रहरी प्रशासनले संरक्षण गरेको भन्दै असोज १ गते नेपालगञ्जबाट पैदल यात्रा गरेर अभियन्ताहरुले अस्ति शुक्रबारदेखि माइतीघर मण्डलामा सुरु गरेको धर्ना आज पनि जारी हुने जनाइएको छ । उनीहरुलाई प्रहरीले अस्ति राती पक्राउ गरेको थियो । आज उनीहरुले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना कार्यक्रम राखेका छन् ।

नेपाल वायुसेवा निगममा पनि असारदेखि जारी धर्ना र बिरोध कार्यक्रम आजलाई समेत तय गरिएको छ । निगमका तीन वटा कर्मचारी युनियनले दिनहुँ साढे १० बजेदेखि साढे १२ बजेसम्म धर्ना र नाराबाजी गर्दै आएका छन् । आज पनि त्यो कार्यक्रम जारी राखिएको उनीहरुले बताएका छन् ।

उता संसदको सार्वजनिक लेखा समितिको बैठक बोलाइएको छ । समितिको सभाकक्ष, सिंहदरबारमा बिहान ११ बजेदेखि बैठक बस्ने बताइएको छ ।

आज विश्व मानसिक स्वास्थ्य दिवस हो । सो अवसरमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत संघ संस्थाहरुले एउटा अन्तरक्रिया कार्यक्रम गर्दैछन् । कार्यक्रम हार्दिक होटल, बागबजारमा दिउँसो १ बजे राखिएको छ ।

आज दिउँसो राष्ट्रिय सभाको बैठक बोलाइएको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो २ बजे बस्नेछ ।

टिप्पणीहरू