कोरोनाले घटायो यौन रोग,कण्डमको ब्यापार बढ्यो

कोरोनाले घटायो यौन रोग,कण्डमको ब्यापार बढ्यो

बेलायतमा कोरोना महामारीको झण्डै डेढ वर्षको अवधिमा यौन रोगीको संख्या अप्रत्यासित ढंगले घटेको खबर बाहिरिएको छ । तर, कोरोना महामारीको पटक पटकको संक्रमणका लहरले भने बेलायतलाई पछ्याउन छाडेको छैन । बेलायतमा पुनः कोरोना संक्रमणको नयाँ लहर शुरु भएको आशंका गरिएको छ ।

तर,बेलायतीहरुमा यसबीच यौन रोगको संक्रमण थोरै देखिएको छ । बीबीसीका अनुसार महामारीको समय यौन रोगीको संख्यामा झण्डै एक तिहाइले कमि आएको छ । बेलायतीले कोरोना महामारीमा पहिलेझैँ निस्फिक्री यौन व्यवहार र क्रियाकलाप नगरेका कारण संख्या घटेको अनुमान गरिएको हो ।

कोरोना महामारी रोक्न बेलायत सरकारले विभिन्न किसिमका निषेधाज्ञा जारी गर्दै आएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले बेलायतीहरुलाई पटक पटक सामाजिक दूरी कायम राख्न र यौन रोगसँग खेलबाड नगर्न सचेत गराएका छन् । उनीहरुले कोही कसैले जोखिमपूर्ण तरिकाले यौन सम्पर्क गरेको भए तत्काल परीक्षण गर्न समेत भनेका छन् ।

बेलायती स्वास्थ्य अधिकारीहरुले सबै खालका यौन रोग लक्षणविहीन हुने भएकाले मन थाम्न नसके कण्डमको प्रयोग गर्न सल्लाह दिएका छन् । तर, छिल्लिएका बेलायतीहरुले कोरोना महामारीले आफूहरुको यौन जीवन तहस नहस बनाएको भन्दै दुःख मनाउ गरेका छन् ।

बेलायतमा अघिल्लो वर्ष मात्र करिब तीन लाख १८ हजार यौन रोग संक्रमित फेला परेका थिए । त्यसअघि सन् २०१९ मा उक्त संख्या चार लाख ६७ हजारभन्दा बढी थियो । यसबीच यौन रोगबारे चिकित्सकसँग सल्लाह लिनेको संख्यामा समेत अस्वाभाविक कमि आएको पब्लिक हेल्थ इङ्ल्याण्डले जनाएको छ ।

बेलायतमा १५ देखि २४ वर्ष उमेर समूहमा सबैभन्दा बढी यौन रोग देखिने गरेको छ । त्यसमा पनि अश्वेत र समलिङ्गी पुरुषहरूमा अधिक देखिन्छ । अहिले यौन रोगको संक्रमण थोरै देखिए पनि परीक्षण र चिकित्सकसँग लिने गरिएको सल्लाहमा देखिएको कमिले यो भित्रभित्रै बढेको समेत आशंका गरिएको छ ।

समाचार स्राेत : विभिन्न एजेन्सी

टिप्पणीहरू