गृहमा यतिसम्म हुन थाल्यो गडबडी

गृहमा यतिसम्म हुन थाल्यो गडबडी

आफ्नै हात जगन्नाथ हुँदा पतिले पत्नीका लागि कुन हदसम्म खेलो फड्को गर्न सक्छन् भन्ने एउटा उदाहरण फेला परेको छ ।

गृहको कर्मचारी प्रशासन महाशाखाका प्रमुखले पत्नीको प्रगतिका लागि सक्दो बल गरेपछि अहिले त्यहाँका कर्मचारीहरुमा खैलाबैला छ ।

गत भाद्र २३ मा गोविन्दप्रसाद रिजाल काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा खटाइएपछि कप्रको जिम्मेवारी पाए सुनिल खनालले । यही कार्तिकमा ५८ बर्षे उमेर हद लागेर घर जान लागेका उनले गृहको कर्मचारी प्रशासन महाशाखामा बसेर पत्नी सुप्रभाका लागि गर्न मिल्ने नमिल्ने सबै खाले प्रवन्ध गरेसँगै अहिले गृह कर्मचारी प्रशासनमा हलचल निम्तिएको हो ।

“काठमाडौं र ललितपुर दुबै जिल्ला अहिले दैलेखको पकडमा छ । काठमाडौंमा सहायक सिडिओ रहेकी कल्पना घिमिरे नेपाललाई गृहमा तानेर त्यहाँ सुप्रभालाई पठाउने अन्तिम तयारी भइरहेको बताइन्छ ।”

सहसचिव खनालले गृहका क्याडरभन्दा बाहिरकी पत्नी सुप्रभा खनाललाई हालै उर्जाबाट गृहमा तानेर शुक्रवार काठमाण्डौको सहायक सिडियो बनाएका छन् ।

सरकारले गत १५ असोजमा एकैपटक ४४ उपसचिवको सरुवा गरेको छ । जसमध्ये गृहबाट १६ बाहिरिए भने १६ जना नै बाहिरकालाई गृहमा भित्राइयो । यसरी बाहिरबाट गृहमा तानिनेहरुमा उद्योग,वाणिज्यबाट सूर्य खत्री,सार्वजनिक खरिदका शेखर पौडेल,श्रम रोजगारका फणिन्द्र दाहाल,संघीय मामिलाबाट अनोजकुमार घिमिरे,उर्जा, जलश्रोतबाट सुप्रभा खनाल,भूमि व्यवस्थाबाट वासुप्रसाद कोइराला, अख्तियारका रविन्द्रप्रसाद आचार्य,लोकसेवाबाट गणेशप्रसाद पौडेल,भूमि व्यवस्थाबाट पुष्कर राना,संघीयबाट विश्वराज मरासिनी,संघीयबाटै काशिराम गैरे,अञ्जन न्यौपाने,चेतनाथ बराल,मुख्यमन्त्री कार्यालय गण्डकी प्रदेशबाट मोहनप्रसाद अर्याल हुन् ।

तिनैमध्येका अधिकांश उपसचिव गृहमा हाजिर गर्ने र फर्कनेमा सीमित छन् । कोही भने सिडिओ बनेर बाहिर गैसके तर पतिदेव नै गृहमा कर्मचारी प्रशासनको हर्ताकर्ता भएपछि पत्नीका लागि काठमाडौंको सहायक सिडिओ बनाउने काम फत्ये भएको छ ।

गृह स्रोतले जनआस्थालाई दिएको जानकारीअनुसार,सहसचिव खनालले पत्नीलाई ललितपुरका सहायक सिडिओ ललितकुमार बस्नेतलाई हटाएर त्यहाँ खटाउन खोजेका थिए तर एमाओवादीले सिडिओ र सहायक सिडिओ दुबै कांग्रेस निकटको हुँदैन भनेर विरोध गरेपछि रोकिएर काठमाण्डौतिर मोडिएको छ ।

यसअघि भक्तपुरका सिडियो प्रेम भट्टराई सम्पत्ति शुध्दिकरणतिर पठाइएपछि त्यहाँ गुल्मीबाट रुद्रादेवी शर्मालाई सिडिओको रुपमा तानिएको छ भने हालैमात्र गृहले सहायक सिडिओको रुपमा सीता परियारलाई खटाएको छ ।

काठमाडौं र ललितपुर दुबै जिल्ला अहिले दैलेखको पकडमा छ । काठमाडौंमा सहायक सिडिओ रहेकी कल्पना घिमिरे नेपाललाई गृहमा तानेर त्यहाँ सुप्रभालाई पठाइएको हो ।

गृहमा कर्मचारी प्रशासनभित्र भद्रगोलको श्रृंखला यतिमै सकिँदैन । झण्डै दुई दर्जन सहसचिव अहिले जिम्मेवारी बिहिन छन् । उनीहरु बरण्डामा सीमित छन् । हालैमात्र गृहमा तानिएका र जगेडामा राखिएका गरी दुई दर्जन हाराहारी उपसचिव पनि जिम्मेवारीविहिन अवस्थामा छन् ।
उता एकजना सहसचिवले उपत्यकाको सिडिओ बन्नकै लागि आफूले चढ्दै आएको सवारी गृह मन्त्री बालकृष्ण खाँणका स्वकीय नरेन्द्र जिसीलाई उपहार चढाएको खबर छ ।

टिप्पणीहरू