​कोमलले उपरखुट्टी लगाउँदाको कोलाहल

जहाँ कोमल वली त्यहीँ लफडा ! गर्न मिल्ने, नमिल्ने–सबै कुरामा अघि सर्ने, उनलाई देखेर कर्मचारीहरु नर्भस हुने ! यस्तो रमिता देखियो, प्रदेश नं. ५ को पहिलो प्रदेशसभा बैठक कक्षभित्र ।

नबोलाइएकी र आउनुपर्ने सूचीमा पनि नभएकी गायिका वली २१ गते दिउँसो १ बजे बुटवलस्थित बैठकस्थलमा देखा परिन् । उनी सोही प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवार हुन् । अर्को उम्मेदवारी नपरेका कारण निर्विरोध निर्वाचित भइसकेकी छन् । तर, निर्वाचन आयोगले मत परिणाम घोषणा गरेर शपथ नलिउञ्जेलका लागि वैधानिक राष्ट्रियसभा सदस्य हैनन् । तर, पहिलो प्रदेशसभा बैठकमा उपरखुट्टी लगाएर रमिता देखाइन् । एकातिर कोमल त्यस्तो रमिता देखाउने, अर्कातिर कर्मचारीहरु ‘लरी लरी लै’ को तालमा मच्चिने । राष्ट्रिय गानका लागि सभासद्हरु उठिसके । एउटा पेनड्राइभ हाल्नुपर्नेमा अर्कै हालेछन् । ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली…’ बज्नुपर्ने, तर बज्यो, ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली…†’ यस्तो हुँदा कोमल वली मुख छोपेर हाँसिन् । अरु सभासद् सीटमा बस्न थाले । एकजना टेक्निसियनले हत्तपत्त गीत बन्द गरेर अर्को पेनड्राइभ हालेपछि बल्ल ‘सयौँ थुङ्गा…’ बज्यो । फेरि सबै उठे । यतिबेलासम्म कोमलको अनुहारचाहिँ हाँसी–खुशी नै थियो ।

पहिला सभासद् बस्नेभन्दा पछाडि रहेको दर्शक दीर्घामा देखा परिन् । संसद सचिवालयका कर्मचारीले त्यहाँबाट विशिष्ट अतिथि बस्ने दीर्घामा राख्न मर्यादापालकलाई खटाए । महिला मर्यादापालकले ‘म्याम, हजुरको सीट यता हो’ भन्दै विशिष्ट अतिथि बस्ने ठाउँ देखाए । तर, एमालेकै सभासद्हरुले ‘हैन, हैन । अहिले उहाँ त्यता बस्ने हो’ भन्दै कर्मचारीहरु बस्ने दीर्घातिर देखाए । कोमल यता न उता भइन् । मर्यादापालकले बैठककक्षभित्र धेरै उभिन नपाइने भनेपछि उनी कर्मचारीहरु बस्ने दीर्घामै थचक्क बसिन् । बस्न त बसिन् । तर, घरी मोबाइलबाट सेल्फी खिच्ने, घरी मोबाइलमै ऐना हेरेर लिपस्टिक मिलाउने गर्न थालिन् । ‘म्याम, यहाँ यस्तो मिल्दैन’ भनेर मर्यादापालकले सम्झाएपछि मोबाइल लुकाइन् । एकछिनपछि उपरखुट्टी लगाएर बसिन् । अर्का मर्यादापालकले गएर भने, ‘हजुर, खुट्टा…मिलेन हजुर !’ खुट्टा तल झारिन् । अधिकांश सभासद् सभामुखतिर हेरिरहेका थिए, तर केही सभासद्चाहिँ बैठकमा छिरेदेखि निस्किँदासम्म कोमल वलीबाहेक केही नहेरी फर्किए ।

त्यस्तै, पहिलो बैठकका वक्ताहरुले सभामुखलाई ‘सम्मानीय’ भनिरहेका थिए । जबकि, प्रदेशसभा सभामुखको वरियताअनुसार उनी ‘माननीय’ मात्र हुन्छन् । तर, सत्तारुढ गठबन्धनका नेता शंकर पोखरेलदेखि प्रतिपक्षी नेतासम्मले त्यही संबोधन गरे । प्रदेशसभाका सभासद्लाई ‘माननीय’ भन्ने कि नभन्नेबारे कानुनले केही बोलेको छैन । उक्त बैठकमा सबै सभासद् ‘माननीय’ बन्न पुगे ।

उता, जिल्ला सदरमुकाम पनि नभएको ठाउँमा प्रदेश राजधानी बनाउँदाको दुःख कस्तो हुँदोरहेछ भन्ने अहिले बुटवलमा देखिँदैछ । मुख्यमन्त्री, मन्त्रीहरुलाई राख्ने भवन, प्रयोग गर्ने कार्यालयको ठूलो अभाव छ । त्यसै त प्यूठान, अर्घाखाँची, गुल्मी, स्याङ्जा, पाल्पातिरबाट बसाइँ झरेका बासिन्दाको अत्यधिक जनघनत्वका कारण काठमाडौंको असन–इन्द्रचोकझैँ बनिसकेको छ, बुटवल । त्यसमाथि दर्जनौँ भिआइपी पाल्नुपर्दा ठाउँको अभाव हुने देखिएको छ । अख्तियारको नवनिर्मित भवन उपयुक्त हुने ठहर प्रदेश प्रमुख र संसद सचिवालयका अधिकारीले गरिसकेका छन् । तर, उक्त भवन दिने कसले ? बुटवलभरिको आकर्षक भवन नै त्यही हो । मुख्यमन्त्रीको कार्यालय, आर्थिक मामिला तथा कानुन मन्त्रालयसहित तीन निकाय एक ठाउँमा राख्न श्रम मन्त्रालयअन्तर्गतको तालिम केन्द्रलाई प्रयोग गरिनेसम्म टुंगो लागेको छ ।

बाँकी मन्त्रालय कहाँ–कहाँ राख्ने ? केही पत्तो छैन । राजस्व अनुसन्धान कार्यालयको गेष्ट हाउसलाई पनि प्रयोग गर्ने योजना बनाइएको छ । सभामुख, उपसभामुख र प्रदेशसभा सचिवालयका कर्मचारीहरु रुपन्देही उद्योग बाणिज्य संघले अस्थायी रुपमा प्रयोग गर्न दिएको भवनमा बस्दै आएका छन् । ठाउँ एकदमै साँघुरो छ । एउटै भवनमा चार–पाँच वटा मन्त्रालय नराख्ने हो भने ठाउँ पाउन मुस्किल छ । अख्तियारको कार्यालय भैरहवामा पनि छ । अख्तियारले भैरहवाबाट काम चलाएर बुटवलको भवन दियो भने टण्टा साफ हुन्छ । प्रदेश प्रमुखको कार्यालय रुपन्देही बाणिज्य संघको भवनमा राखिएको छ । तर, ज्यादै साँघुरो । अरु प्रदेशमा जस्तो होइन, ५ मा त मुख्यमन्त्री को बन्छन् भन्ने कुराको टुंगो शपथकै दिन लागिसकेको छ । तर, उनको कार्यालय कहाँ राख्ने ? निवास कहाँ राख्ने ? केही पत्तो छैन । ‘पुल्चोकको मन्त्री क्वार्टर’ भनेजस्तो बुटवल टेक्निकल इन्स्टिच्युट (बिटिआई) मा भिआइपी राख्ने प्रस्ताव पनि आएको छ । तर, त्यहाँ सञ्चालित कक्षाहरु कहाँ लैजाने ? टुंगो नलाग्दा बिजोग छ ।

टिप्पणीहरू