फेरि भित्रियो एअरपोर्टमा सुन

फेरि भित्रियो एअरपोर्टमा सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ११ लाख ६२ हजार ५ सय ७५ रुपैयाँ मूल्य बराबरको १ सय ५० ग्राम सुनको बालासहित एकजनालाई पक्राउ गरेको छ ।विमानस्थलको आन्तरिक पार्किङ एरियामा आएर बाला संकलन गर्न लागेका धादिङका ५७ वर्षीय खड्कप्रसाद तिमल्सिना पक्राउ परेका हुन् ।

उनलाई बालासहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाईएको प्रहरीले बताएको छ । त्यस्तै,विभिन्न देशबाट आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई सुन संकलन गर्ने अन्य व्यक्तिसमेत पक्राउ परेको प्रहरीको भनाइ छ ।

पैसो भेटियो,श्रोत अझै भेटिएन

महोत्तरीबाट स्रोत नखुलेको नगदसहित दुई जना समातिएका छन् । जलेश्वर नगरपालिका–८ बज्राहीस्थित सडकबाट स्रोत नखुलेको १० लाख ४ हजार ५ सय नेपाली रुपैयाँसहित २ जनालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मनरासिश्वा नगरपालिका–५ कटैयाका ३४ वर्षीय दिपेन्द्रकुमार साह र भंगाहा नगरपालिका–७ का १८ वर्षीया किशोरी रहेका छन् ।

अनटेस्ट लेखिएको मोटरसाइकलमा सवार उनीहरूलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्नेक्रममा उक्त नगदसहित पक्राउ गरेको हो ।

कोदालोले हानेर घाइते श्रीमतीको हत्या प्रयास

भोजपुरमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । रामप्रसाद राई गाउँपालिका–१ चामबोटेबाट १ नाल भरुवा बन्दुकसहित त्यहि ठाउँका ४६ वर्षीय सुजिल राईलाई हिजो बेलुका प्रहरीले पक्राउ गरेको हो ।

राईले आफ्नै ४५ वर्षीया श्रीमतीलाई घरायसी विवादमा कोदालो प्रहार गरी घाइते बनाएको र हत्याका लागि भरुवा बन्दुक निकाल्न हिँडेको भन्ने सूचनाका आधारमा अस्थाई प्रहरी चौकी ओख्रेबाट खटिएको टोलीले उनलाई भरुवा बन्दुक र कोदालोसहित पक्राउ गरेको हो ।

घाइतेको स्थानीय मेडिकल ओख्रेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुध्द मन्दिर नजिकै रेडपाण्डाको छाला

बाँकेको नेपालगन्ज-४ बुध्द मन्दिर नजिकै रेडपाण्डाको छाला फेला परेको छ । जाजरकोटको भेरी नगरपालिका-१ बस्ने २८ वर्षीय मनिराम सुनारको साथबाट उक्त छाला फेला परेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सुनारको तलासी गरेको थियो । चेकजाँच गर्ने क्रममा सुनारले झोलाभित्र लुकाई राखेको अवस्थामा छाला फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले सुनारलाई आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको बताएको छ ।

टिप्पणीहरू