बेइजिङमा चालकरहित सवारी साधन गुड्ने

बेइजिङमा चालकरहित सवारी साधन गुड्ने

चीनको राजधानी बेइजिङमा अब चालकरहित (स्वःचालित) सवारी साधनहरु गुड्ने भएका छन् । अघिल्लो सातादेखि राजधानीका २ सय ७८ वटा सडकको एक हजार २७ किलोमिटरको भागमा त्यस्ता सवारी साधन गुडाउन सकिने निर्णय गरिएको हो ।

चीनको बेइजिङ इनोभेसन सेन्टर फर मोबिलिटी इन्टेलिजेन्सका अनुसार ती सडकमध्ये १९ वटाको झण्डै १ सय ९० किलोमिटर क्षेत्रमा रातको समयमा समेत त्यस्ता सवारी साधन गुडाउन सकिने छ ।

उच्चप्रविधियुक्त चालकरहित सवारी साधन हाललाई राजधानीको सुन्यी, थोङचौ,हाइतियन,फाङसान र बेइजिङ टेक्नोलोजिकल विकास क्षेत्रमा गुडाउन सकिने बनाइएको छ ।

बेइजिङ महानगरले हाललाई १६ वटा कम्पनीका १ सय ६५ वटा स्वचालित सवारी साधन गुडाउन अनुमति दिएको छ ।

तीमध्ये चीनको इन्टरनेट सेवा प्रदायक संस्था पाइदु र पोनी एई पनि हुन् । चीनको तीन वटा कम्पनीले विदेशबाट समेत चालकरहित सवारी साधनबाट यात्रु ओसार्ने अनुमति पाएको सिन्ह्वाले जनाएको छ ।

फोटो स्रोत : सिन्ह्वा

टिप्पणीहरू