दशैँको खसी किलोको ६ सय ४० भाउ कसी कसी

दशैँको खसी किलोको ६ सय ४० भाउ कसी कसी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसी बोकाको बिक्री शुरु गरेको छ । दशैँलाई लक्षित गरेर खसीबोकाको बिक्री थालेको कम्पनीले प्रतिकेजी ६ सय ४० रुपैयाँ निर्धाण गरेको छ ।

थापाथलीस्थित कार्यालयको परिसरबाट खसीबोका बिक्री भइरहेको कम्पनीले जनाएको छ । निजी व्यवसायीले भन्दा १० रुपिँया घटाएर कम्पनीले बिक्री गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सस्तोमा खसी बोका पाइने उल्लेख गर्दै खरिदकर्तालाई कम्पनीबाट खरिद गर्न आग्रह गर्नुभएको छ । उहाँले खसीबोका अभाव हुन नदिनेसमेत बताउनुभयो ।

कम्पनीले हाल २ हजार खसी बोका बिक्रीका लागि ल्याएको छ । तर,ग्राहकहरुको चाप बढेकाले आवश्यकताअनुसार फेरि पनि ल्याउने तयारी गरेको कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिनुभएको छ । दैनिक ५ सय वटा खसीबोका बिक्री हुने कम्पनीको अनुमान छ ।

यता,ग्राहकहरुले पनि बजारमा भन्दा सस्तोमा खसी बोका उपलब्ध भएको भन्दै खुशी व्यक्त गरेका छन् । कम्पनीले बिक्री गरिरहेको खसी बोका स्वस्थ रहेको र वितरणको व्यवस्था पनि गतवर्षको भन्दा सहज भएको ग्राहकको प्रतिक्रिया छ । कम्पनीले बिहान ७ बजेबाट अपरान्ह ५ बजेसम्म बिक्रीको व्यवस्था मिलाएको छ ।

कोरोनाका कारण यस वर्ष पनि कम्पनीले चीनबाट च्याङ्ग्रा भने भित्राउन सकेको छैन । दाङ र मकवानपुरबाट खरिद गरेर ल्याइएका खसी बोका बिक्रीको लागि राखिएको हो ।

टिप्पणीहरू