राजदूतमाथि खनिए भूपू आइजिपी र डिआइजी

राजदूतमाथि खनिए भूपू आइजिपी र डिआइजी

नेपाल प्रहरीका तत्कालीन चार जना डिआइजीहरु आइजी बन्न सहयोग माग्दै लैनचौरस्थित भारतीय दूतावास पुगेको नेपालका लागि पूर्वभारतीय राजदूत रञ्‍जित रेको भनाइ विवादमा परेको छ । रेको हालै प्रकाशित ‘काठमाडौं डिलेमा रिसेटिङ इण्डिया–नेपाल टाइज’ नामक पुस्तकमा गरिएको यस्तो दाबीको तत्कालीन डिआइजीद्वय प्रकाश अर्याल (पछि आइजिपी) र बमबहादुर भण्डारीले खण्डन गरेपछि विवादमा तानिएको हो ।

पुस्तकमा प्रहरीको आइजीपी नियुक्तिमा तत्कालीन गृहमन्त्रीले आफूसंग परामर्श गरेको र आइजीका उम्मेदवारहरु दूतावासमा भेट्न आएको दाबी गरिएको छ । त्यतिबेलै आइजी बन्नुभएका अर्याल र डिआइजीबाट अवकाश लिनुभएका भण्डारीले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरु भारतीय दूतावास नगएको प्रष्ट पार्नुभएको छ । उहाँहरुले पुस्तकमा नेपाल प्रहरीसँग सम्बन्धित सन्दर्भ अप्रासंङ्गिक, तथ्यहीन कपोलकल्पित र भ्रामक भएको समेत जिकिर गर्नुभएको छ ।

प्रहरी संगठनलाई बदनाम गर्ने मनशाय पुस्तकमा देखिएको भन्दै संयुक्त विज्ञप्तिमा भनिएको छ, नेपालका लागि भारतका पूर्वराजदूत रञ्‍जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं डिलेमा रिसेटिङ इण्डिया–नेपाल टाइज’ मा हाम्रो व्यावसायिक प्रहरी जीवनको कालखण्डसँग जोडेर उठाइएको अप्रासंङ्गिक,तथ्यहीन, कपोलकल्पित एवं भ्रामक विवरणप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

“राजदूतजस्तो सम्मानित पदमा रहिसकेको व्यक्तिले आफ्ना परिस्थितिजन्य तर्कहरुलाई पुष्टि गर्ने अभिप्रायले हुँदै नभएका झुट्ठा दृष्टान्तको सहारा लिनु अत्यन्त निकृष्ट र निन्दनीय कार्य हो ।”

पूर्वराजदूत रेल आफ्नो निहित स्वार्थका लागि नेपालको राष्ट्रिय स्वाभिमान र सम्प्रभूतामाथि हस्तक्षेप पुष्टि गर्ने उध्देश्यले पुस्तकमा यस्तो विवरण समेटेको अर्याल र भण्डारीको भनाइ छ । रेसँग आफूहरुले प्रत्यक्ष भेटघाट नगरेको र दूतावास पनि नगएको उहाँहरुको दाबी छ ।

‘पुस्तकका लेखक,तत्कालीन नेपालका लागि भारतीय राजदूत रञ्‍जित रेसँग हाम्रो प्रहरी कार्यकालमा प्रत्यक्ष भेटघाटसमेत नभएको र इण्डिया हाउसमा महामहिम राजदूतलाई भेट्न नगएको कुरा स्पष्ट पार्न चाहान्छौँ’,विज्ञप्तिमा भनिएको छ, ‘विशेष उत्सवमा आयोजना गरिने कार्यक्रमहरुमा वैदेशिक कूटनीतिक नियोगका अधिकारीहरुसँग भेटघाटको सम्भावना भएता पनि यसरी हुने भेटघाटहरु शुभकामना आदान प्रदानमा मात्र सीमित हुने गरेको हामीले अनुभव गरेका छौँ ।’

विज्ञप्तिमा राजदूतजस्तो सम्मानित पदमा रहिसकेको व्यक्तिले आफ्ना परिस्थितिजन्य तर्कहरुलाई पुष्टि गर्ने अभिप्रायले हुँदै नभएका झुट्ठा दृष्टान्तको सहारा लिनु अत्यन्त निकृष्ट र निन्दनीय कार्य भएको उल्लेख छ । पुस्तकमा उल्लेखित झुटा विवरणले आफ्नो व्यक्तिगत र व्यावसायिक मानमर्यादा र प्रहरी संगठनको गरिमामा गम्भीर आघात पुगेको भन्दै अर्याल र भण्डारीले त्यस्ता विवरण हटाउन मागसमेत गर्नुभएको छ ।

उहाँहरुले नेपालीको स्वाभिमानमा आँच पुर्याउने काम आफूहरुबाट नभएकाले भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आइजीपी नियुक्तिका विषयमा विवादित बनेको थियो । प्रधानमन्त्री देउवा र गृहमन्त्री निधिले आ-आफ्नै रोजाइका पात्र अघि सारेका कारण आइजी नियुक्तिमा सरकारलाई सकस परेको थियो । यहि सन्दर्भलाई उठाउनुभएका पूर्वराजदूत रेलले निधि स्वयंले आफूलाई फोन गरेर सुझाव मागेको पुस्तकमा लेख्नुभएको छ ।

त्यतिबेला डिआइजी रहेका जयबहादुर चन्द,नवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारी आइजीपीको दावेदार हुनुहुन्थ्यो । सिलवाललाई निधि र चन्दलाई देउवाको साथ रहेको चर्चा त्यतिबेला व्यापक थियो । तर,आइजी नियुक्ति विवादित बनेपछि सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएर एमाले प्रवेश गर्नुभयो ।

त्यसपछि प्रधानमन्त्री देउवाको रोजाइकै डिआइजी चन्दलाई आइजीपी बनाइएको थियो । तर,चन्दको नियुक्तिविरुध्द सर्वोच्च अदालतमा रिट परेपछि अदालतले कार्यसम्पादन मूल्यांकनका आधारमा अर्याललाई आईजीपी बनाउन आदेश दिएको थियो ।

टिप्पणीहरू