कमरेड कुमारको बादल र सर्वेन्द्रद्वारा यसरी गरियो कत्लेआम

कमरेड कुमारको बादल र सर्वेन्द्रद्वारा यसरी गरियो कत्लेआम

– अनिल शर्मा

कुमार पौडेलको हत्या हुनुमा सरकारभित्रको वार्ता गर्ने र भाँड्नेहरूबीचको संघर्ष पनि कारण देखिन्छ । त्यसबेला ओलीका विश्वासपात्रहरूको टोलीले वार्ता प्रक्रिया अघि बढाउन आन्तरिक गृहकार्य गरिरहेको थियो । वार्ताको विषयमा अनेक समाचार आइरहेका, अड्कलबाजी भइरहेका थिए । त्यो समयसम्म ओली पक्षले गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डकै मान्छे ठान्थ्यो । थापामार्फत प्रचण्डसम्म वार्ताको सूचना पुग्नसक्ने र प्रचण्डले वार्ता भाँड्ने जिकिर ओली पक्षको थियो ।

गृहमन्त्री र आईजीपीबाटै लुकाएर गरिने वार्ताको गृहकार्य कत्तिको सम्भव हुन्थ्यो ? असार ६–७ मा जगन्नाथ खतिवडा र नेकपाका प्रतिनिधिबीच भक्तपुर–काभ्रे सीमामा भेट्ने निश्चित भएबमोजिम प्रतिनिधिहरू वार्ता स्थलमा जाँदै गर्दा सर्लाहीमा कुमार पौडेलको हत्या भयो । त्यो घटनापछि नेकपाका प्रतिनिधि बाटैबाट फर्किए ।

यसरी गृहमन्त्री थापा र आपराधिक पृष्ठभूमिका आईजीपी सर्वेन्द्र खनाल गिरोहले पौडेलको हत्या ग¥यो । २०७५ असार ५ गते पौडेलमाथि गोली चलाउने केडी साह (कृष्णप्रसाद साह) मधेस आन्दोलनको क्रममा सूचना चुहाएर पहाडी मूलका नागरिक मार्न भूमिका खेलेको आरोपमा कारवाहीमा परेका व्यक्ति हुन् । आईजीपी खनालले उनैलाई आफ्नै मातहतमा राखी परिचालन गरेका थिए ।

प्रहरीमाथि कारवाही गर्ने नेकपाको न त नीति थियो न कतै त्यस्तो कारवाही नै भएको थियो । सर्लाहीमा कुमार र भोजपुरमा राजुको बाटो ढुकेर हत्या गरियो । यति भएपछि विप्लवहरू उत्तेजित हुन्छन् र बदलास्वरुप प्रहरी चौकी वा प्रहरी गस्तीमाथि आक्रमण गर्न उद्यत हुन्छन् अनि दमन गर्न सजिलो हुन्छ भन्ने हिसाब निकालियो ।

नेकपाले एनसेल, अरुण–३, मानव तस्कर र राष्ट्रियताको आन्दोलन चलाएको विषय ओली सरकारलाई पाच्य थिएन । ओलीले खुला रुपमा नै ‘कि जुलुस मात्र लगाऊ, कि बम मात्र हान, दुई वटै गर्न कहाँ पाइन्छ ?’ भनेका थिए । त्यसबाट स्पष्ट छ, सरकार हिंसा चाहन्थ्यो । गृहमन्त्रीका प्रेस सल्लाहकारले २०७४ सालमा भएको छलफलमा भारत, अमेरिका र सेनाको समर्थन भएको हुनाले शुरुमै भयानक दमन गरेर उठ्नै नदिने योजना रहेको खुलासा गरेका थिए ।

नारायणकाजी गुटका तस्कर, माओवादी कालमा अपराधी घटनामा संलग्न आरोप खेपिरहेका भ्रष्टाचारी (हाल मेयर) भरत थापासहितको टोली कुमार पौडेललाई मार्न गृहमन्त्री थापाकोमा पटक–पटक डेलिगेसन गएको थियो । ‘स्थानीय स्तरबाट पटक–पटक पौडेललाई नियन्त्रण गर्न दबाब आएको’ भन्ने गृहमन्त्री थापाको भनाइले पनि त्यसलाई पुष्टि गर्छ । बागमती नदी दोहन, तस्करी, भ्रष्टाचारको विषयमा नेकपा सर्लाहीले विज्ञप्ति जारी गरेपछि कुमार पौडेल, सन्देश पौडेल र कमाण्ड इञ्चार्जसँग भेट्न निजले पटक–पटक खबर पठाएका थिए । हामीले भेट्न अस्वीकार ग¥यौं । त्यसपछि उनी कुमार पौडेलको हत्या गर्ने अन्तिम निश्कर्षमा पुगेको देखिन्छ ।

पौडेल हत्याकाण्डमा सागरनाथ वन परियोजनासँग सम्बन्धित भ्रष्टाचारीहरू र सुकुम्बासी उठीबास गराउन चाहने तत्वहरू पनि जिम्मेवार छन् । सुकुम्बासीहरूको वैकल्पिक व्यवस्थापन नगरी उठीबास गराउन पाइन्न भनी पौडेलले सुकुम्बासी संघर्षको नेतृत्व गर्दै वन कार्यालयमा दबाब दिएका थिए । पार्टी र वन कार्यालयको दोहोरो दबाबमा परेका कर्मचारीहरू सरुवा माग्दै पलायन हुँदै गर्थे र सूचना दिन्थे । दमनकारी तत्वहरूको भण्डाफोर हुन्थ्यो ।

पौडेल मधेस आन्दोलनको समयमा पहाडी मूलका नागरिकको नायक पनि थिए । त्यसबेला एमाले छाडेर चुरे भावरमा संगठित थिए । उनी बौद्ध धार्मिक संस्थामा पनि संलग्न थिए । सागरनाथ वन परियोजनामा पहाडी मूलको बाहुल्यता भएका कारण सो बस्ती कायम हुँदा मधेसको चुनावी परिणाममा प्रभाव पर्ने सार्वजनिक चिन्ता कतिपय मधेसवादीले गरेका थिए । नारायणकाजी समूह र मधेसवादी समूहले कुमार पौडेललाई प्रतिस्पर्धी र खतरा ठान्थे । कुमार पौडेललाई खतरा ठानेर एक वर्षअघि अन्यत्र स्थानान्तरण गरिएको पनि हो । तर, फेरि सर्लाही नै सरुवा भयो ।

एमसीसी परियोजना पारित गर्न, चीन घेर्ने सामरिक स्थल नेपाललाई बनाउन र नेपालको कम्युनिष्ट प्रवाहलाई रोक्न अमेरिकाले विप्लव नेतृत्वको नेकपालाई मुख्य बाधक ठानेको थियो । त्यसैले नेकपालाई ‘आन्तरिक आतंकवाद’ घोषणा ग¥यो र नेपालको बाटो हुँदै भारतमा आतंकवादी खतरा रहेको बतायो । लगत्तै केपी ओली नेतृत्वको सरकारले नेकपामाथि प्रतिबन्ध लगायो ।

अमेरिकाले नेकपालाई आतंकवादी घोषणा गर्नु र ओली सरकारले प्रतिबन्ध लगाउनुको बीचमा कुनै संयोग मात्र थिएन र त्यो निश्चित रणनीतिक उद्देश्य थियो । निश्चित पूर्वयोजनाअन्तर्गत गरिएको थियो । नेकपालाई प्रतिबन्ध लगाएर देशभक्त धारालाई निस्तेज गर्ने रणनीति थियो । आन्तरिक रुपमा कम्युनिष्ट र बाहिर चीनको विरुद्ध अमेरिकी सैन्य अखडा खडा गर्ने उद्देश्य थियो ।

भियतनाम, फिलिपिन्स र नेपालको कम्यनिष्ट आन्दोलनको अध्ययन गरिरहेका एकजना अमेरिकी, प्राध्यापन पेशासमेत गर्ने सिआइएका प्रतिनिधि नेपाल आएर फर्केलगत्तै प्रतिबन्ध लगाइएको हो । नयाँ पत्रिका दैनिकमा अन्तर्वार्ता दिँदै मार्कले ‘दुर्भाग्य विप्लवहरूले बुझेका छन् र आजको युगमा हिंसा स्वीकार्य हुँदैन’ भनेका थिए । हेर्दा प्रहरीको ‘कानुन र आदेश’ अथवा ‘मानवअधिकार’ को विषयजस्तो देखिए पनि कुमार पौडेलको हत्या विश्व राजनीतिको प्रभाव र सरकारको प्रभुभक्तिको परिणाम थियो ।

कुमार पौडेलको हत्या हो कि भिडन्त भनिरहनु पर्दैन । पौडेलको त्यत्रो नृशंस हत्या गर्न सरकार किन उद्यत भयो ? त्यो मूल विषय हो । नेकपाले गृहयुद्ध नचाहेको, युद्धको घोषणा नगरेको, प्रहरीहरू एक–दुई जना सादा पोशाकमा गाउँ–गाउँ चहार्दा पनि आक्रमण नगरेको अवस्थामा कुमार पौडेलसँग भिडन्त भएको भन्ने गृहमन्त्री थापा र सर्वेन्द्र खनालको दाबी सत्तारुढ पार्टी र संसदले नै अस्वीकार गरिसकेका छन् । दोहोरो भिडन्त हुने राजनीतिक अवस्था नै देशमा थिएन न त घटनाप्रवृत्ति र अवस्थाले त्यसको पुष्टि गर्न सक्यो । रामबहादुर थापाले कुमार पौडेल र भोजपुरमा क. राजुको हत्याको अपराध ढाकछोप गर्न वार्ताको नाटक गरे पनि उनको अपराधको बहीखाता बन्द हुने छैन ।

टिप्पणीहरू