दोहोरी,डिस्को र नाइटक्लब पनि खोल्न पाइने

दोहोरी,डिस्को र नाइटक्लब पनि खोल्न पाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिमालको अध्यक्षतामा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले चाडपर्व केन्द्रित सुरक्षा योजना ल्याउने निर्णय गरेको हो ।

बैठकले सुरक्षा निकायबाट लागू गरिएका चाडपर्व लक्षित योजनाको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने र त्यसको अनुगमन गर्ने निर्णय गरेको छ ।

त्यस्तै,रात्रिकालीन व्यवसाय सञ्चालनको लागि ठमेल पर्यटन विकास परिषदले पेश गरेको प्रतिवध्दता कार्यान्वयनसम्बन्धी असोज १९ गतेको बैठकको निर्णय लागू गर्ने पनि भनिएको छ । जसअनुसार दोहोरी साँझ र डान्सबारलाई राति २ बजेसम्म र नाइट क्लब तथा डिस्को राति ४ बजेसम्म स्वास्थ्य मन्त्रालयको मापदण्डअनुरुप सन्चालन गर्न दिइने छ ।

बैठकले हालको सुरक्षा अवस्था विश्लेषण गर्दै शान्ति सुरक्षाको स्थिति सामान्य रहेको निष्कर्ष पनि निकालेको छ ।

बैठकमा महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह,सिंहदरबारस्थित चण्डीदल गणका प्रमुख सेनानी वरुण केसी,सशस्त्र प्रहरी बल २० नम्बर गण सिनामंगलका उपरीक्षक विष्णुप्रसाद भट्ट,सशस्त्र प्रहरी बल १८ नम्बर गण कीर्तिपुरका उपरीक्षक पूर्ण साउद,राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक र सहायक प्रजिअ दीपक पौडेलको उपस्थिति थियो ।

सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष र अन्य सुरक्षा निकायका प्रमुखहरु सदस्य रहने व्यवस्था छ ।

टिप्पणीहरू