​दिल्लीमा राजधानी

अहिले त मत्थर भयो । तर केही समय अघिसम्म पनि जारी थियो, राजधानीको प्रदर्शन । फलाना प्रदेशको राजधानी फलाना जिल्लामा हुनै पर्छ । नभए यसो गर्छु, उसो गर्छु । राजधानी मागेर गरिएको यो प्रदर्शनले हुनसम्म बेहाल ग¥यो । तोडफोड, आगजनी त कति भो कति । 

सुन्दै छु, भारतको दिल्लीमा पनि यस्तै एउटा प्रदर्शन हुँदै छ रे † त्यो पनि राजधानी नै मागेर । दिल्ली त आफै राजधानी हो । यहाँ फेरि कुन राजधानी चाहियो ? दिल्लीले अरूको राजधानी मागेको होइन । नेपालको राजधानी चाहियो भनेर मागेको रहेछ । नेपालको राजधानी दिल्लीमा राख्नुप¥यो रे ! अहिले त्यो माग हुन थालेको छ । स्थानीय जनतालाई त चाहिएको कुरा होइन । तर दिल्लीको सरकार चाहिँ यही चाहिरहेको छ । उनीहरू चाहन्छन् कि नेपाल देशकै राजधानी दिल्लीमा कायम होस् । नेपालको राजधानी दिल्लीमा राख्न लबिङ पनि खुब चलिरहेको छ अरे !

नेपालका विभिन्न जिल्लाहरूले प्रदेशको राजधानी मागिरहेको बेला दिल्ली चाहिँ नेपाल देशकै राजधानी मागिरहेको छ । राजधानी भनेको मागेर दिइने वस्तु त होइन । तर नेपालमा राजधानी मागेर सातै प्रदेशमा यस्ता आन्दोलन भइरहने हो भने नेपालको राजधानीचाहिँ देख्दादेख्दै नै दिल्ली नसारिएला भन्न सकिन्न । बेलेमा होश पु¥याउने हो कि ?  

टिप्पणीहरू