​रातो गलबन्दी

केही दिन भयो, एमाले अध्यक्ष कमरेड केपी ओली र माओवादी अध्यक्ष कमरेड पुष्पकमल दाहाल दुवै जना गलामा रातो गलबन्दी लगाएर देखा परिरहनुभएको । पहिले पहिले त आक्कलझुकल मात्रै यस्तो गलबन्दी लगाउनुहुन्थ्यो । अहिले अलि बढी नै देखा पर्न थाल्नुभएको छ । रातो गलबन्दी । त्यो पनि गलामा । 

जबदेखि एमाले र माओवादी एकताको कुरा चल्न थाल्यो, केही विश्लेषकहरूले ठोकुवा गरे कि यसलाई वाम एकता भन्नै मिल्दैन । किनभने यतिबेला न एमाले वामपन्थी हो, न माओवादी । जो वामपन्थी नै होइनन् उनीहरूको एकतालाई कसरी वाम एकता भन्ने ? 

यही आरोपलाई जवाफ दिन पनि उहाँहरू दुवैजनाले रातो गलबन्दी लगाउनुभएको होला । अरू कुरा रातो होस्, नहोस् गलबन्दी त रातो छ नि ! हातमा रातो किताब नभए पनि गलामा रातो गलबन्दी त छ । वामपन्थको चिन्ह । 

यतिबेला कमरेड ओली र कमरेड दाहालको गला पनि खुब मिलिरहेको छ । कुनै बेला उहाँहरू एक–अर्काको गला काट्नेसम्मका दुश्मन हुनुहुन्थ्यो । अहिले गला मिल्ने मित्र हुनुभएको छ । आफूहरूको सिद्धान्त, विचार, आचार केही नमिले पनि गला चाहिँ मिल्छ है भनेर देखाउन पनि गलामा समान रंगको गलबन्दी लगाएको हुनुपर्छ । दुवैको गलामा शोभायमान रातो गलबन्दी नै वास्तवमा वाम एकताको सुन्दर झलक हो ।
 

टिप्पणीहरू