राजधानीमा धेरैले आत्महत्या रोज्न थाले

राजधानीमा धेरैले आत्महत्या रोज्न थाले

नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले हिजो छिमेकी अरुको निर्माणाधीन घरको छतबाट हामफालेर बृध्दावस्थामा प्राण त्यागेका छन् । लामो समयदेखि डिप्रेसनको औषधी सेवन गरिरहेका उनले हिजो बिहान मर्निङ्ग वाकमा निस्केकै बेला आत्महत्या गरेका हुन् ।

चाबहिल चोकदेखि केही तल बुलबुले नजिकै गणेश मन्दिर छेवैमा रहेको अग्रवाल थरका एक व्यक्तिको निर्माणाधीन घरको छतबाट हामफालेर चतुर्वेदीले आत्महत्या गरेको प्रहरीले बताएको छ । चतुर्देवी यहि बाटो हुँदै मर्निङवाकमा निस्कने गरेको पनि प्रहरीको भनाइ छ ।

सिसिटिभी फुटेजका आधारमा चतुर्वेदीको आत्महत्या पुष्टि भएको हो । फुटेजमा बिहान ६:४० बजे छतमा उक्लिएर ७:१० बजे हाम्फालेको प्रष्ट देखिएको प्रहरीले बताएको छ । एक्लै छतमा चढेको र लामो समय छतमै बसेर हामफालेको देखिएकाले घटना शंकास्पद नभएको पनि प्रहरीको भनाइ छ ।

अख्तियारको छानविनको घेरामा परेपछि उनी तनावमा परेको र डिप्रेसनमा गएको निकटस्थहरु बताउँछन् । आत्महत्याको अघिल्लो दिन पनि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

७३ वर्षीय चतुर्वेदीका श्रीमती,दुई छोरा र एक छोरी छन् । घटना शंकास्पद नदेखिएकाले हिजो नै शवको पोष्टमार्टम गरिएको प्रहरीले बताएको छ । काठमाण्डौमा अहिले आत्महत्याको ग्राफ उकालो लागेको अभिलेखले देखाएको छ ।

टिप्पणीहरू