​छाड्ने बेला केही पनि नछाड्ने

छाडीजाने मन्त्रीलाई कर्मचारीले टेर्न छाडे पनि श्रीमती बोकेर ठाउँ कुठाउँ घुम्दै छन् देउवा सरकारका एक जना खम्बा । मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव २५ तारिख अर्थात् ११ माघबाट शुरु हुने कार्यक्रममा भाग लिन पत्नी बीनालाई बोकेर जान लागेका हुन् । रमाइलोचाहिँ के हो भने भनिएको छ कार्यशाला तर कार्यशालाको नाम कसैलाई थाहा छैन । मन्त्रीले सचिव गजेन्द्र ठाकुरमार्फत प्रस्ताव लेख्न लगाई क्याबिनेटमा पठाएका हुन् । यादव दम्पतीसँगै उपसचिव उपेन्द्रकेशर खनाल पनि स्पेन उड्ने भएका छन् । यता, अहिले मन्त्रालय मातहतका पाँचवटै क्षेत्रीय कार्यालयमा बेरुजु फस्र्याेट गोष्ठी चल्दै छ । 

२ माघदेखि ४ गतेसम्म सुदूरपश्चिमाञ्चलमा आयोजित चालु आर्थिक वर्षको समीक्षा तथा वित्तीय अनुसन्धानसम्बन्धी गोष्ठीमा मन्त्री पुगेनन् । त्यहाँ अनावश्यक रहेका राज्यमन्त्री अब्दुल रेज्जाक गद्दी, डिडिजी तेज भट्ट, सुनीलकुमार दासलगायत उपस्थित थिए । सुर्खेतमा गोष्ठी चल्दै गर्दा सरकारी गाडीमा नेपालगञ्जतिर सयर गर्दै थिए, मन्त्रीपत्नी बीना यादव र त्यहाँका कामु डिजी प्रदीप मुडवरीकी श्रीमती । यसरी सचिव र लेखा प्रमुखको अनिवार्य उपस्थिति मानिने तर मन्त्रीहरूको उपस्थिति जरुरी नमानिने गोष्ठीमा मन्त्री बटालियन बोकेर धाउन थाल्दा उल्टै बेरुजु थपिएको छ । मन्त्री पत्नीसहित बोकेर यस्ता कार्यक्रममा हिँड्दा कर्मचारीले चाकडीमा दौडँदै फुर्सद नपाउने र फाइल सदर गर्न राजधानी नै आउनुपर्ने भएपछि बेरुजु गोष्ठीमा उल्टै बेरुजु बढ्न पुगेको हो । यस्तै पश्चिमाञ्चलमा ११ गतेदेखि १३ गतेसम्म, पूर्वाञ्चलमा १७ देखि १९ सम्म, मध्यमाञ्चलमा २३ देखि २५ सम्म बेरुजु फस्र्याेट गोष्ठी आयोजना हुँदै छ ।

टिप्पणीहरू