नेपालमा कमाउने,बिदेशतिर ओसार्ने

नेपालमा कमाउने,बिदेशतिर ओसार्ने

बैंकिङ कारोबारमा रकम ठगेवापत केही दिनअघि पक्राउ परेका सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले अरबौँ रकम बेलायत पुर्याएको आशंका छ । तामाङले झण्डै ६ अर्ब रुपियाँ छोरीमार्फत बेलायतमा लुकाएको उच्च प्रहरी स्रोतले दाबी गरेको छ ।

घरजग्गाको कारोबारीसमेत रहेका तामाङले निक्षेपकर्ताको रकम बटुलेर बेलायत पुर्याएको बताइएको छ । त्यस्तै,घरजग्गा कोरोबार गरेरै अरबौँ कमाएका अर्का कारोबारी सुधिर बस्नेतले पनि अमेरिकामा पैसा थुपारेको दाबी गरिन्छ । बताइएअनुसार नेपालमा घरजग्गाको कारोबार गरेर कुस्त कमाएका बस्नेतले त्यहि रकम अमेरिकामा पनि प्लटिङ व्यवसाय गर्ने भन्दै लगेका हुन् ।

स्रोतका अनुसार घरजग्गामा लगानी गरेर कमाएको पैसा सर्लक्कै विदेश पुर्याउने अरु पनि थुप्रै छन् । सरकारी मापदण्ड मिचेर जग्गा किनबेच गर्ने र हाउजिङका लागि खोलाको किनार खोज्दै हिंड्ने यी कारोबारीहरु टाट पल्टिएको बहानामा बैंकको कर्जा तिर्न भने आनाकानी गर्ने गर्छन् । घरजग्गा कारोबारले डुबेको भन्दै टकटकिने गरेका उनीहरुले युरोप र अमेरिकामा टन्नै लगानी गरेको बताइन्छ ।

बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जा नतिर्न उनीहरुले यस्तो जुक्ति लगाउने गरेको जानकारहरु बताउँछन् । जसका कारण अधिकांश आवासहरुको कम्युनिटीमा स्वामित्व हस्तान्तरण हुन सकेको छैन । हात्तिवनस्थित स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको लिटिल एञ्जेल्सको अपोजिट खोलापारी रहेको चौधरीको हाउजिङमा पनि यस्तै लफडा परेको स्रोतले बताएको छ ।

जसका कारण उक्त हाउजिङमा बस्नेहरुले बैंकमा धितो राखेर ऋण लिन पाएका छैनन् । ‘हाउजिङले कम्युनिटी बनाउँछ र कम्युनिटीलाई हस्तान्तरण गर्ने गरिन्छ । तर, हाउजिङ आफ्नै नाममा राख्ने, कम्युनिटीलाई नदिने प्रवृत्ति छ ।’, स्रोतले भन्यो ।

कतिपयले त स्विमिङ पुल पुरिदिने चेतावनी दिने गरेकोसम्मका घटना स्रोतले सुनाएको छ । त्यस्तै, हाउजिङमा बस्नेलाई अप्ठेरोमा पार्न जानीजानी बैंकको कर्जा नतिर्ने उनीहरुको रणनीति रहेको पनि बताइन्छ । ‘त्यहाँ बस्नेले धितो राख्न खोज्दा ऋण देखाएर बार्गेनिङ्ग गर्ने गरिएको छ’, स्रोतले सुनायो ।

नेपालमा टाट पल्टिएको भनेर बैंकको कर्जा नतिर्नेहरुले नै यहाँ कमाएको पैसा अफसोरमा लगानी गर्ने गरेका छन् । युरोप,अमेरिका पैसा लैजाने अनि सर्वशक्तिमान बनेर राजनीतिक पहुँच बढाउने पनि उनीहरु नै हुन् भनिन्छ ।

टिप्पणीहरू