​विदेशीहरु तैपनि बोल्दैनन्

नयाँ सरकार नबनेर हो या अरु नै कारणले, अर्थमन्त्रालय तातिसक्दा पनि दातृ निकाय चूपचाप छन् । ‘आगामी आर्थिक वर्षको बजेटमा नयाँ सरकारलाई सहयोग हुने खालको के–के योजना छ ?’ भनेर अर्थमन्त्रालयले दातृ निकायलाई कोट्याएको धेरै दिन भइसक्यो, तर कोही तात्तिएका छैनन् । भूकम्पपछिको घर पुनःनिर्माणका लागि कबुलिएको रकम नै आइसकेको छैन । भारतले घोषणा गरेको २० अर्बको अझै पत्तो छैन । विश्व बैंकबाट बल्ल आइतबार भूकम्पपछि व्यक्तिको घर पुनःनिर्माणका लागि ३० अर्ब दिने बाचा–कबोल भएको छ ।

उसले बिनियोजन गरेको कूल ४४ अर्ब रकममध्ये बाँकी शिक्षा मन्त्रालयअन्तर्गत तालिम शिर्षकमा ६ अर्ब र पशुपंक्षीको क्षेत्रमा नेपालीलाई २५ जिल्लामा आत्मनिर्भर बनाउन ८ अर्ब खर्चने लक्ष्य छ । चीनले भूकम्पबाट क्षतिग्रस्त दरबार स्क्वायर बनाउने भनेको छ । काठमाडौंको चक्रपथ विस्तार परियोजनामा सक्रिय चीनले विस्तारका क्रममा केही ठाउँ भत्काउन समस्या भएपछि त्यो हल भएमा असारदेखि कलंकीबाट बालाजुतिरको बाँकी काम अगाडि बढाउने भनेको छ । नेपाल पक्षलेचाहिँ भूकम्पले क्षतिग्रस्त सर्वसाधारणका घरपछि अब सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाको पुनःनिर्माणमा लाग्न दातृ निकायको ध्यानाकर्षण गराएको बताइन्छ । 

टिप्पणीहरू