​हिमानी र केपी सँगसँगै

बैंककको सडकमा केपी ओली हिँडेका छन् । फुच्चीहरु ‘फलानो मान्छे नि’ भन्छन्, केपी ‘आ, होइन होला’ भन्दै आफ्नै सुरमा लम्किरहन्छन् !
गएलगत्तै केही दिन अस्पतालमा र बाँकी दिन होटलमा बसेका एमाले अध्यक्षसँग डाक्टरमात्र हैन, तिनका दुई छोरी पनि थिए ।

अस्पतालले डिस्चार्ज गरेपछि होटलमा बसे । त्यसपछि प्राइभेट लाइफ हुने नै भयो । साँझ–बिहान सडकतिर निस्कन्थे । बालबालिकालाई असाध्यै माया गर्ने बानीअनुसारै डाक्टरकी छोरीहरु साथमै लिएर फर्किने अघिल्लो दिन सडकमा टहलिँदै थिए । एकजना महिलासँग जम्काभेट भयो । नेपाली, तर को हुन् पत्तो थिएन । फुच्चीहरुले भने, ‘हिमानी–हिमानी’ ! र एकर्कासँग हाइ–हाउआरयु भन्दै हात मिलाए । केपीले वास्ता गरेनन्, पत्याएनन् पनि । उनलाई लागेछ– पारसकी बैंककमा भएकी प्रेमिका पो हुन् कि !

‘हिमानी’ भनिएकी ती महिला अनौपचारिक र आधुनिक पोशाकमा थिइन् । भोलिपल्ट काठमाडौं फर्किने बेला साडी, चोलो लगाएको प्रचलित हुलियामा पूर्वयुवराज्ञी हिमानी शाह देखिइन् । विमानस्थल पुगेपछि नमस्कार आदान–प्रदान भयो । केपीले ‘मैले त यादै गरिनछु…’ भनेर कुरा शुरु गरे । हिमानीले केपीको स्वास्थ्यबारे सोधिन् । एयरपोर्टको भेट न हो, धेरै कुरा हुनै पाएन । जहाज चढेपछि हिमानी केपीभन्दा केही पर आफ्नो सीटमा बसिन् । साढे तीन घण्टा एउटै जहाजमा यात्रा भयो । तर, यात्राको शुरु र अन्तिममा बाहेक कुराकानी हुनै पाएन ।

टिप्पणीहरू