जसपाले पनि मन्त्री टुंग्यायो,आज ४ बजे शपथ

जसपाले पनि मन्त्री टुंग्यायो,आज ४ बजे शपथ

जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरुको नाम टुंगो लगाएसँगै आज सरकारले पूर्णता पाउने भएको छ ।

नेताहरूबीच मन्त्रिमण्डलमा पठाउनेको नाममा अनौपचारिक सहमति भएकोले सरकारले पनि आज पूर्णता पाउने पूर्व प्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट्टराईले बताएका छन् ।

मन्त्रीहरूको नाम लगभग टुंगिएको छ । भट्टराईले भने,‘अनौपचारिक सहमति भएको छ,दिउँसो ४ बजे आसपास शपथ हुँदैछ,अहिले मन्त्रीहरुको नाम खुलासा नगरौं ।’ जसपाले पाउने मन्त्रालयको टुंगो भने लागेको छैन ।

कार्यकारिणी समितिको बैठकबाट मन्त्रीको नाम टुंगो लगाएर गृह जिल्ला गोरखा आउने क्रममा धादिङबेसीमा रोकिएका डा. भट्टराईलेभने,‘जसपाबाट पनि एउटा पक्ष अलगिएको हुनाले थोरै नोक्सान त भयो,हाम्रो कारणले हिजो रोकिएको होइन,आज पनि रोकिँदैन,आज सरकारले पूर्णता पाउँछ । हामी त्यसमा सहभागी हुन्छौं ।’

जसपा कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादव,संघीय परिषद अध्यक्ष डा. भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । श्रोतका अनुसार मन्त्रीहरुमा राजेन्द्र श्रेष्ठ (सँघीय मामिला,सामान्य प्रशासन तथा स्थानीय विकास), रामसहायप्रसाद यादव,रेणु यादव र प्रमोद साहको नाम आएको छ ।

४ दलीय गठबन्धन कहिलेसम्म टिक्ला ? भन्ने पत्रकारको प्रश्नमा डा. भट्टराईले भने,”बहुदलीय लोकतन्त्रमा विभिन्न संभावना हुन्छन्,चुनावसम्म नै यो गठबन्धन कायम गरेर लैजानुपर्छ भन्नेमा हामी छौं,त्यो के हुन्छ भविश्यले निर्धारण गर्नेछ ।’

टिप्पणीहरू