‘वेलहोप’को दाना, ‘नट वेल’ खान

‘वेलहोप’को दाना, ‘नट वेल’ खान

उद्योग ठूलो भएर के गर्नु, उत्पादन कमसल भएपछि क्वान्टिटीको के कुरा भो र ? जब क्वालिटी नै राम्रो छैन भने ।

खाद्यपदार्थ जस्तो चिजमा अलिकतिमात्रै खराबी हुँदा पनि त्यसले स्वास्थ्यमा जटिल समस्या निम्तिन सक्छ, चाहे मान्छे हुन् या पशुपक्षी ।

कुखुरा, गाई, भैंसी, बंगुर तथा माछाको लागि चिनियाँ प्रविधिद्वारा उत्पादित गुणस्तरीय पोषणयुक्त दाना भन्नेकै भनेअनुसार नभएको बुझिन्छ ।

आफूलाई नेपालकै नम्बर वान दाबी गर्ने नेपाल वेलहोप एग्री टेक प्रा.लि.को उत्पादन गुणस्तरीय नभएको बुझिएको हो ।

नेपाल वेलहोप एग्री टेक प्रा.लि.ले विजय पेलेट दाना उत्पादन गर्दै आएको छ । यो दाना खुवाएपछि पशुपक्षीमा समस्या देखिएको जनगुनासो छ । यसका कारण कुखुरा नै मरेको समेत किसानले बताएका छन् ।

प्रयोगशालामा परीक्षण गर्दा पनि दानाको गुणस्तर राम्रो नपाइएको स्रोत बताउँछ । भन्छ, ‘तोकिएको मापदण्ड अनुरुप देखिएन ।’

चितवनको भरतपुर–५, कल्याणपुरमा यसको अफिस र कारखाना छ । बाँकेको कोहलपुर र मोरङको विराटनगरमा शाखा उद्योगहरु र काठमाडौं नक्सालमा पनि कार्यालय छ । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा देशका ७७ वटै जिल्लामा सेवा विस्तार भइसकेको कम्पनीको दाबी छ ।

तर माथि नै भनिसकिएको छ कि कम्पनी ठूलो भन्दा पनि उपभोक्ताका लागि गुणस्तर महत्वपूर्ण हुन्छ । किसानहरुले ऋणधन खन्याएर कति दुःख गरी वस्तुभाउ पालेका हुन्छन् ।

दानाकै कारण नोक्सानी बेहोर्नुपर्ने अवस्था आयो भने के हालत होला कृषकको ? त्यसैले जाँचेर, बुझेर मात्रै किसानहरुले दाना खरिद गर्नुपर्ने तथा उच्च गुणस्तरको निक्र्याेल गरेर मात्र पशुपक्षीलाई दाना खुवाउनुपर्ने विज्ञ बताउँछन् ।

– अजय गोर्खाली

टिप्पणीहरू