ड्राइभरलाई रुवाएर कमरेड मन्त्री बन्न लागेको आरोप

ड्राइभरलाई रुवाएर कमरेड मन्त्री बन्न लागेको आरोप

-शिव अधिकारीबाट

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनेको नेकपा (माओवादी केन्द्र) त्यसयता तीन पटक आफ्नै नेतृत्वसहित पटक-पटक सरकारमा गयो । दर्जनौँ पटक पार्टी सरकारमा जाँदा अधिकांश नेताहरुले दोहोर्याई, तेहेर्याई मन्त्री बन्ने अवसर पाएपनि केही नेता भने त्यस्तो अवसरबाट बन्चित हुँदै आए ।

पटक-पटक पार्टी सरकारमा जाँदा पनि मन्त्री बन्न नपाएका हालको स्थायी कमिटीका एक मात्र नेता हुनुहुन्छ – देवेन्द्र पौडेल । खुला राजनीतिको लगभग १६ वर्षे अवधिमा केही नेताका श्रीमान-श्रीमती नै मन्त्री बनेपनि पौडेल भने कर्नरमा पर्दै आउनुभएको थियो । उनै पौडेललाई माओवादीले यसपटक मन्त्रीमा प्रस्ताव गरेको छ । हिजो बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पौडेलसहित थप तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

माओवादीको उपल्लो तहमा रहेर पनि मन्त्री बन्ने अवसर नपाएका स्थायी कमिटीका एकमात्र नेता भएकाले पनि पौडेललाई मन्त्री बनाउने माओवादीको निर्णयलाई नेता-कार्यकर्ता र बाहिरबाट पनि सकारात्मक रुपमा लिइएको छ ।

“सांसद खान माओवादीमा फर्किनुभएको थियो,मन्त्री बन्न लाग्नुभयो ।”

त्यसो त,पौडेल केपी ओली नेतृत्वको सरकारमा पनि मन्त्री बन्ने चर्चा थियो । मन्त्रिमण्डल पुनर्गठन हुँदा माओवादीका एक मन्त्रीलाई फिर्ता बोलाएर पौडेललाई पठाउने गरी प्रचण्डले तयारी गरेको बताइएको थियो । तर,बाग्लुङकै अर्का नेता डा. सूर्य पाठक बाधक हुँदा उहाँको सिंहदरबार यात्रा रोकिएको तत्कालीन नेकपाका नेताहरु सुनाउने गर्थे । एउटै जिल्लाका दुई नेताबीचको स्थानीय अन्तविरोधका कारण केपी ओलीलाई भनेर पाठकले पौडेललाई रोकेको भन्नेहरु अहिले पनि छन् ।

पौडेलले अवसर नपाउनुमा अर्को पनि कारण छ । तत्कालीन एकीकृत माओवादीमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईबीच अन्तरविरोध चर्किंदा पौडेल भट्टराईतिर लागेर प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार बन्नुभएको थियो । त्यहीबेला नाम्गेल शेर्पालगायतका ब्यापारीलाई अमेरिका छिराउने क्रममा दूतावासले उहाँको समेत भीसा रोकिदिएको थियो । पछि भट्टराईले माओवादी छोडेर नयाँ शक्ति गठन गर्दा त्यतै लाग्नुभएका पौडेल गत आम निर्वाचनताका माओवादीमै फर्किएर बाग्लुङबाट चुनाव जित्नुभएको हो ।

माओवादीले मन्त्रीमा प्रस्ताव गरेर पौडेलमाथि न्याय गरेको भन्दै गर्दा आफ्नै सवारी चालकमाथि उहाँले अन्याय गरेको घटना बाहिरिएको छ । पौडेलले झण्डै दुई वर्षको पारिश्रमिक नदिएको भन्दै उहाँका सवारी चालक रोशन पौडेलले सामाजिक सञ्जालमा हारगुहार गरेपछि घटना सार्वजनिक भएको हो ।

रोशनले आफ्नो पारिश्रमिक वापतको ३ लाख ६८ हजार रुपैयाँ पौडेलले खाइदिएको भन्दै फेसबुकमा गुनासो पोखेका छन् । ०७१ साल फागुनदेखि ०७३ चैत्रसम्म पौडेलको निजी चालकका रुपमा काम गरेको तर, अहिलेसम्म ६० हजार मात्र दिएर बाँकी रकम नपाएको रोशनको दाबी छ । मासिक १७ हजार पारिश्रमिक तोकिएर काम गरेको बताउँदै उनले चार लाख २५ हजार पाउनुपर्नेमा जम्मा ६० हजार मात्र पाएकाले अब ३ लाख ६८ हजार पौडेलसँग लिनुपर्ने हिसाब निकालेका छन् ।

सुवर्ण अर्याल नामक व्यक्तिले ग्लोबल आइएमइमा रहेको पौडेलको खातामा २०७७ साउन ८ गते ३३ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको भौचर बाहिरिएपछि यस्तो आरोप लागेको हो ।

रोशनसँग गत वर्षको पहिलो लकडाउनमा पौडेललाई भेट्न काठमाडौँ आउँदा गेटबाट फर्किनु परेको तीतो अनुभव पनि रहेछ । कोरोना संक्रमणको खतरा हुने भन्दै आफूलाई गेटबाटै छिर्न नदिएको उनले गुनासो गरे । बुटवलमा ड्राइभरी गरिरहेका उनी प्रचण्डलाई भेटेर गुनासो पोख्ने तरखरमा रहेको बताउँछन् ।

यता,स्रोत नखुलेको साढे ३३ लाख रुपैयाँ लुकाएको आरोप पनि यहीबेला पौडेलमाथि लागेको छ । सुवर्ण अर्याल नामक व्यक्तिले ग्लोबल आइएमइमा रहेको पौडेलको खाता (१७०७०१०००२०४७) मा २०७७ साउन ८ गते ३३ लाख ६१ हजार रुपैयाँ जम्मा गरेको भौचर बाहिरिएपछि यस्तो आरोप लागेको हो । ग्लोबल आइएमइका अध्यक्ष चन्द्र ढकाल र पौडेल टाढाको नाताले मामा-भान्जा पनि हुन् । त्यसैले पौडेलले त्यहाँ रकम ब्यवस्थापन गरेको निकटहरु नै बताइरहेका छन् ।

सांसद खानैका लागि पौडेल बाबुराम छोडेर माओवादीमा फर्किएको भन्नेहरु पनि छन् । तत्कालीन नयाँ शक्ति पार्टीको केन्द्रीय कमिटीको बैठकको रोचक किस्सा सुनाउँदै निकट स्रोत भन्छ – सांसद खान माओवादीमा फर्किनुभएको थियो,मन्त्री बन्न लाग्नुभयो । कुरा के रहेछ भने, बबरमहलस्थित केन्द्रीय कार्यालयमा नयाँ शक्तिको केन्द्रीय समिति बैठक बसिरहेको थियो । बैठकको वीचमा जुरुक्क उठेर पौडेलकी श्रीमती बलावती शमाले भन्नुभयो, ‘बाबुराम दाइको पार्टीमा लागेर जीवनभर सांसद बन्न सकिंदैन । त्यसैले हामी माओवादीमै फर्कनुपर्छ ।’

आफूले भरोशा गरेको मान्छेले नै सांसद बन्न माओवादीमा फर्किने बताएपछि डा.भट्टराईले पनि भन्दिनु भएछ, ‘ल ठीक छ सांसद हुने रहर छ र प्रचण्डले पनि बनाउने हो भने जानु न त !’

नेपालको वामपन्थी आन्दोलनमा पौडेल पुराना नेता हुनुहुन्छ । कठिन संघर्ष गरेर यहाँसम्म आइपुग्नु भएकोमा पनि कुनै दुई मत छैन । राजनीतिक योगदान र हालसम्म अवसर नपाएका हिसाबले मन्त्रीका लागि त झन् उहाँ योग्य पात्र नै हो । तर, आफूमाथि उठेका यस्ता प्रश्नको जवाफ नदिई सिंहदरबार यात्रा स्वयं पौडेलका लागि पनि सुखद नहुन सक्छ ।

टिप्पणीहरू