​समात्ने गुण्डा, पुलिसमै सण्डमुसण्ड

समातेको छ गुण्डालाई, झगडा गर्छन् पुलिसहरु ! पक्राउ परेका आरोपीलाई हत्या अभियोग सकार्न लगाउने कुरामा प्रहरी–प्रहरीबीचमै बाझाबाझ चलेपछि अन्ततः ‘मैले फलानोलाई मारेकै हुँ’ भन्ने कागजमा सहीछाप भएको छ । 

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको असोज २३ गते शान्तिनगरस्थित कात्यायनी चोकमा हत्या गर्न मुख्य योजनाकारको भूमिका खेलेको आरोपमा पक्राउ परेका गुण्डानाइके समीरमानसिंह बस्नेतको निकटता प्रहरीकै डिएसपीसँग देखिएपछि समस्या भएको हो । पक्राउ परेका आरोपीलाई अदालतमा बुझाउनुअघि जुन अभियोग अदालतमा पेश हुन्छ, सो अभियोग सकारेको कागजात पनि राख्नुपर्छ । त्यस्तो कागज बनाउने क्रममा समीरले लामो समयसम्म गौचन हत्या अभियोगमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै अभियोग उल्लिखित कागजमा सही गर्न अस्वीकार गर्दै आएका थिए । प्रहरीहरुले फकाएर सही गराउन खोजे तर मानेनन् ।

यसपछि कसको सल्लाहमा समीरले यस्तो कुरा गरेका हुन् भनेर खोजी गर्ने क्रममा अहिले रामेछापको जिम्मेवारीमा रहेका डिएसपी कुमोद ढुंगेलसँग उनको बाक्लो सम्पर्क देखिएको थियो । समीरको पक्राउको जस केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले लिने गरे पनि डिआइजी गणेश केसी नेतृत्वको विशेष कार्यदलले एकीकृत योजना निर्माण गरी अनुसन्धान अगाडि बढाएको हो । रामेछापमा खटिनुअघि कुमोध गुण्डा अपरेशनमा कहलिएका डिएसपी थिए । त्यसक्रममा गुण्डादेखि साधुसम्म उनको सम्पर्क हुने नै भयो । त्यही सम्पर्कलाई आधार मानेर समीरले अभियोग पत्रमा सही नगरेको कुरालाई लिएर ‘तिमीले उकासेजस्तो छ’ भन्दै हाकिमहरु कराएपछि गलफत्ति चलेको बताइन्छ । ‘रामेछापमा जागिर खाएको मान्छेले इण्डियाबाट समातेर काठमाडौंमा थुनेको मान्छेलाई कसरी दबांq6न्छ ?’

कुरा यसरी निस्किएपछि यो जटिलता फुकाउन सिआइबीका डिएसपी अंगुर जिसी र उनलाई भारतबाट पक्राउ गरेर ल्याउने सई रमेश बजगाईंको निक्कै दौडादौड चल्यो । रमेशले समीरलाई फकाए । फकाउने क्रममा कुमोदबाट पनि भन्न लगाए । र, धेरै मुस्किलका साथ डिएसपी अंगुरले अनुरोध गरेपछि हालै उनले अभियोग स्वीकारेको कागजमा सही गरेका छन् । तर, समीरकी पत्नी भने उनलाई झूठो आरोपमा पक्राउ गरिएको र फसाउन खोजिएको भन्दै वकिलहरुसँग कसरी मुद्दामा जाने भनेर सल्लाह गरिरहेकी छन् । 

टिप्पणीहरू