रन्कियो सीतानगरी,जहाँ दशैंभर नारीलाई नाकावन्दी छ

रन्कियो सीतानगरी,जहाँ दशैंभर नारीलाई नाकावन्दी छ

दशैँको उपलक्ष्यमा जनकपुरका विभिन्न शक्तिपीठहरुमा पूजाको तयारी पूरा भएको छ । दशैँका लागि जनकपुरको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको छ ।

स्थानीय युवा क्लबहरु दशैँलाई भव्य बनाउन जुटेका छन् भने प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको मूर्ति स्थापना गरी पूजाअर्चना गर्ने तयारी चलिरहेको छ ।

राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल,रंगीचंगी बल्ब जडान कार्य शुरु भइसकेको छ ।

राजा जनकका कूलदेवता भनिएको प्रसिध्द राजदेवी मन्दिरमा आकर्षक पण्डाल र भिलिमिली बत्तीहरु जडान गर्ने कार्य करिव पूरा भइसकेको महावीर युवा कमिटीले जनाएको छ ।

मूलपुरोहित गणेश झाले मन्दिरमा परम्परागत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रिक विधि अनुसार समेत पूजा गरिने बताउनुभयो । उहाँले मन्दिरमा तान्त्रिक विधिअनुसार पूजा हुने गरिएकै कारण दशैँभर महिलाहरुलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित गरिएको पनि उल्लेख गर्नुभयो ।

घटस्थापनादेखि शुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन साहले दशैँलाई भव्य बनाउन नियमित पूजाका साथै भजन सन्ध्यालगायतको कार्यक्रम गरिने जानकारी दिनुभयो ।

जनकपुरको मुरली चोक,भ्रमरपुरा चोक,पिडफिया माइस्थान,रजौल लगायतको क्षेत्रका युवा क्लबहरु पनि दशैंको तयारीमा जुटेका छन् । अन्य दिन चाँडै बन्द हुने जनकपुर दशैँ शुरु भएपछि राति अबेरसम्म खुल्ला रहने गर्दछ । धार्मिक स्थलहरुमा हुने भजनकिर्तन तथा धार्मिक कार्यक्रमले जनकपुरमा छुट्टै रौनक छर्ने गर्छ ।

टिप्पणीहरू