​बैंककमै पुग्यो विशेष बात « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

​बैंककमै पुग्यो विशेष बात

प्रकाशित मिति :  ६ माघ २०७४, शनिबार १३:१२


प्रचण्डको सन्देश बजार अनुमानभन्दा ठीक उल्टो ! स्वास्थ्य परीक्षणको सिलसिलामा बैंकक पुगेका एमाले अध्यक्ष केपी ओली पूर्वनिर्धारित समयभन्दा थप केही समय उतै आराम गरेर बस्नुपर्ने । यस्तोमा बिरामीको उपचार औषधिले मात्र हैन, राम्रा, मीठा खबर र आफन्तको ममताले पनि हुन्छ । त्यही भएको छ, प्रचण्डको बोली केपीका लागि ।

आइतबार बेलुकी वाम गठबन्धन निर्माणका दुई सक्रिय सूत्रधार जनार्दन शर्मा र विष्णु पौडेललाई प्रचण्डले खुमलटार बोलाएर उनीहरूमार्फत केपीलाई खबर पठाएका छन्, ‘मेरो कारणले उहाँलाई अप्ठ्यारो हुन्छ भने म केन्द्रीय सदस्य मात्रै रहन तयार छु । संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री उहाँलाई नै मान्न तयार छु । हामी मानसिक रूपमा एक भइसकेका छौँं । यसबीच धेरै खेल भएका छन् । सबै खेलबारे हामी जानकार नै छौँ । यदि स–साना कुरामा अल्मलिएर नमिल्ने बाटोतिर लाग्यौं भने प्राप्त उपलब्धी पनि गुम्ने खतरा हुन्छ ।’

यसबीच, निर्वाचनपूर्व वाम गठबन्धनसँग बिच्किएर कांग्रेसको लोकतान्त्रिक गठबन्धनतिर गएका डा.बाबुराम भट्टराई केही दिनयता एमाले–माओवादीसँग बिग्रँदो सम्बन्ध सुधारको प्रयत्नमा छन् । अर्थात्, उनी त्यही गठबन्धनभित्र आफ्नो स्पेश खोज्दै छन् । यसका लागि लञ्च, डिनर र चिया संवादहरू थालेका छन् । र, माओवादीका केही बिमार नेतालाई रात्रिभोजमा बोलाइरहेका छन् । 

वाम गठबन्धनले सरकार बनाउनुपूर्व नै पार्टी एकतालाई मूर्तता दिने भनिएको छ । वामवृत्तमा प्रचण्डले साँच्चि नै निकास दिन्छन् भन्ने मान्यता विकास भएको छ । चिन्ता छ, मुख्यतः दोस्रो, तेस्रो तहका नेताको व्यवस्थापन । तर, त्यो पनि प्रचण्डले हाँसी–हाँसी नै मिलाउँछन् भन्दै छन्, वाम अगुवाहरू । 

यसैबीच, माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) सहित सुवास नेम्वाङहरूले आइतबार एमाले–माओवादी एकता कार्यदलको बैठकमा केही मोटामोटी सहमति निर्माण गरेका छन् । ‘कसरी मिलाउने त ?’ भन्ने विषय उठेपछि विशेषतः राष्ट्रियसभा र प्रदेश सरकारका सन्दर्भमा बादलले भनेका थिए, ‘प्राप्त भोटलाई आधार मान्दा हुन्छ ।’ अर्थात् अब ७०÷३० को हिसाबमा तालमेलको बाटो फुक्का भयो । निर्वाचनपूर्व ६०÷४० को हिसाबले उम्मेदवारी टुंगो लागेको थियो । तर, चुनावले एमालेलाई ७० र माओवादीलाई ३० प्रतिशतको दरले नतिजा दिएको छ । प्रतिनिधिसभातर्फ एमालेले असी र माओवादीले छत्तीस सिट जितेका छन् । यो भनेको सत्तरी र तीसको अनुपात हो । माघ २४ को राष्ट्रियसभा निर्वाचनमा ५६ सिटमध्ये वामगठबन्धनले बढीमा ४० र कम्तीमा पनि ३८ सिट जित्ने पक्का छ । यदि कांग्रेसले एकल संक्रमणीयमा अत्तो नथापेको भए ऊ शून्यमा हुन्थ्यो । वामपन्थी एक्लैले ५० सिट जित्ने स्थिति थियो ।

तल्लो र माथ्लो सदनमा गरेर उसको एक्लै दुईतिहाई पुग्थ्यो । एकल संक्रमणीय प्रणालीअन्तर्गत वाम उम्मेदवारहरूको बढी भएको मत जोडिँदा दर्जन हाराहारी सिटमा कांग्रेसले जित्ने अनुमान छ । जसरी हिजो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा जनताले वामपन्थीको एकीकृत घोषणापत्रलाई भोट दिए, त्यही स्पिरिटमा राष्ट्रियसभा र राष्ट्रपतिको निर्वाचन हुने निश्चित छ । राष्ट्रियसभा सदस्यको मतदान केन्द्रीय राजधानीमा नभएर प्रदेशैपिच्छे छरिएर हुन्छ । उम्मेदवारमध्ये जसको मतदाता नामावली जहाँ छ, उसले त्यहीँबाट उठ्नुपर्ने र त्यहीँका जनप्रतिनिधिले मतदान गर्नुपर्ने प्रावधान छ । 

कथा कांग्रेसका

रामचन्द्र पौडेलमा कुनै नैतिक शक्ति वा बल नदेखिएको हुँदा कांग्रेस अर्को कुनै नयाँ कोर्षमा जाने सम्भावना छैन । स–साना व्यक्तिगत मागको आपूर्तिमै कुरा मिल्ने उनीहरूको विगतले पुष्टि गर्छ । 

देउवालाई मात्र दोष देखाएर अरू उम्किने स्थिति तत्काल छैन । संगठन देउवाको पक्षमा इन्ट्याक्ट छ । यसबीच रामचन्द्रका मान्छे देउवातिर गएर उनी बलिया भएका पनि हैनन् । न चुनावी पराजयपछि देउवाका कोही मान्छे रामचन्द्रतिर गएका छन् । एउटै एजेण्डामा दुवैथरी भिडेका थिए । देउवाले भने, वामपन्थीले जिते अधिनायकवाद आउँछ । रामचन्द्रको पनि कुरा त्यही, भाषा र शैलीमात्र फरक । त्यसैले चुनाव हारेकै नाममा कांग्रेसले विशेष महाधिवेशन गर्ला वा कार्यसमिति बैठक बोलाउला भन्नेमा स्वयं कांग्रेसीजन विश्वस्त छैनन् ।

धेरै भयो भने महासमितिको बैठक बोलाइन्छ । विगतमा पनि गणेशमान, किसुनजी, गिरिजाप्रसादको पालामा जब–जब अप्ठेरो पर्छ, महासमिति बोलाएर टालटुल पार्ने गरिएको थियो । त्यो भेलाले अरू केही गर्दैन, मुख्यकुरा देशभरका कांग्रेसको भेटघाट हुन्छ । नेताहरूले पालैपालो दुई दिनसम्म आ–आफ्नो कुरा राख्छन्, मन पर्नेले थपडी मार्छन्, मन नपर्नेले त्यहीँ सराप्छन्, घर फर्किएपछि सबै कुरा बिर्सिएर ‘जय नेपाल’ भन्दै हिँड्छन् । त्यस्तो भेलाले नयाँ नेतृत्व छान्दैन, भएकोलाई पनि हटाउँदैन । यो कांग्रेसको सनातनी परम्परा नै हो । नेताहरू हेर्दा कोही गतिला निस्किएनन् । विमलेन्द्रलाई चुनाव हारेयता भारतले उति महŒव दिन छाड्यो । रामचन्द्रले कांग्रेस थेग्लान् भनेर उनकै मान्छेहरू उति भर परेका छैनन् । शशांक बिपीको छोरो हुनुबाहेक अरू कुनै किसिमको नेतृत्व क्षमता राख्दैनन् । शेखर पनि उति राजनीतिक हुन सकेनन् ।

कुरा ठ्याक्कै त्यही हो त !

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलाली पुगेर ‘कसैको बहुमत छैन, कसलाई बुझाउने सरकार’ भनेपछि एक किसिमको तरंग फैलिएको छ र त्यही कुरालाई उनको सत्तालिप्साका रुपमा चित्रित् पनि गरिएको छ । तर, सत्य त्यही हो ।

समानुपातिकसमेत जोड्ने हो भने प्रतिनिधिसभामा कुनै एक दलको मात्र स्पष्ट बहुमत छैन । यसकारण फेरि पनि कुनै एउटा पार्टीले (वामपन्थीहरु नमिल्दासम्म) बहुमत देखाएर सरकार बनाइहाल्ने स्थिति हैन । अहिलेको व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दल नमिलिकन सरकार बन्ने स्थितिलाई समानुपातिकले छेकेको छ । ०४८ सालपछिको अवस्था हुन्थ्यो भने एमाले सबभन्दा ठूलो भएकैले उसले ०५१ मा यस्तै प्राविधिक बहुमत देखाएर सरकार बनायो, त्यो पनि अल्पमतको । त्यसबेला समानुपातिक व्यवस्था भइदिएको भए सम्भवतः उसलाई त्यो अवसर नमिल्न सक्थ्यो । माओवादीले ०६४ को पहिलो संविधानसभामा एक्लै २४० सीट जित्यो ।

प्रत्यक्षतर्फको मतपरिणाम हेर्दा त्योभन्दा सुविधाजनक बहुमत अर्को कस्तो हुनसक्थ्यो र ! तर, उसलाई पनि एक्लै बहुमतसिद्ध गर्न छेक्यो, समानुपातिकले । यति हुँदा पनि समानुपातिक प्रणालीले राजनीतिक स्थिरताको स्थिति निर्माण गर्न दिँदैन, त्यसमा खोट छ भनेर किन दलका नेताहरुले बुझ्न सकिरहेका छैनन् ? प्रश्न गम्भीर छ । त्यसमाथि निर्वाचन आयोगले फलानो दलको यति सीट भनेर अहिलेसम्म भनिदिएको छैन । यदि उसले त्यसो भन्थ्यो, राष्ट्रपतिकहाँ परिणाम बुझाउँथ्यो र राजपत्रमा प्रकाशित गरिदिन्थ्यो भने वामपन्थीहरु बहुमत देखाएर सरकार निर्माणमा लागिसक्थे । नियतमा निर्वाचन आयोगको खोट छ भन्नलाई कुनै आइतबार कुर्नुपर्ने स्थिति छैन ।

सदनमा एमाले वा माओवादीमध्ये एकको सुविधाजनक बहुमत हुन्थ्यो भने वामपन्थीहरुलाई पार्टी एकता गर्नमा यति धेरै तातो पनि लागिहाल्दैनथ्यो होला । किनभने, पार्टी एउटा बनाएर एक्लो बहुमतसिद्ध गर्नु उनीहरुको मूलमक्सद छ । आफैँले सार्वजनिक गरेको निर्वाचन तालिकामा यति दिनभित्र मतपरिणाम दिइसक्ने भन्ने त्यही निर्वाचन आयोगले अहिले राष्ट्रियसभा देखाएर समानुपातिकतर्फको मतपरिणाम रोक्ने काम किन गर्दैछ ? तालिका प्रकाशित गर्नुअघि नै संविधानको यो गाँठो फुकाएरमात्र निर्वाचन गर्छु किन भनेन ? यदि उसको नियत सफा हुन्थ्यो भने चुनावपछि पहिल्याएको गाँठो चुनावअघि किन ‘तैँचूप–मैँचूप’ को शैलीमा टार्दै गएको ? पार्टीहरु परिणाम तालिकाअनुसार आउँछ भन्नेमा ढुक्क थिए । ०७० को अनपेक्षित निर्वाचन परिणामबाट प्रचण्ड अत्तालिए, ‘परिणाम नै मान्दिनँ, मौन धाँधली भयो’ भन्दै हिँडे, यतिबेला केपी ओलीलाई भएको त्यस्तै हो । निर्वाचन आयोगले प्रकाशित गरेको तालिकाबमोजिम मतपरिणाम आउला र सरकार बनाउँला भन्ने उनको योजनामाथि निर्वाचन आयोगले अनपेक्षित रुपमा नयाँ–नयाँ बहाना झिक्दै पछाडि धकेल्दै लगेकै हो ।

३ र ४ नं. प्रदेशमा एमाले र कांग्रेससँग तालमेल गरेर नयाँशक्ति या राप्रपाले राष्ट्रियसभामा एक–एक सीट जिते वा २ र ५ नं. प्रदेशमा साना दलले त्यस्तै तालमेल गर्दै एक–एक सीट जिते भने महिलाको संख्या ३३ प्रतिशत पु¥याएरै छाड्ने निर्वाचन आयोगको रटान कहाँ पुग्छ ? पहिला सोलोडोलो ३३ प्रतिशत भनियो । पछि प्रतिनिधिसभाको अलग्गै, राष्ट्रियसभाको अलग्गै ३३ प्रतिशत भन्ने नाममा अर्को लफडा निस्किने भयो । यदि अहिलेकै अवस्था हो भने प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षबाट जितेका महिलाको संख्या ज्यादै कम, राष्ट्रियसभामा चाहिँ पुग्ने नै देखिन्छ । नेमकिपा र राप्रपाले समानुपातिकबाट कतै–कतै एक वा दुई सीट पाउलान् । १० जना पाएको भए पनि त्यसभित्र क्लस्टर हेरेर सूची बुझाउँथे होलान् । तर, एक–दुईजना पाएका छन्, महिला अनिवार्य नपठाए के हुन्छ ? 

उमेरले आपत

यसपालिको चुनावको रोचक पक्ष कस्तो छ भने, रसुवा र डडेल्धुराबाहेक उत्तरमा चुरेभन्दा माथिका हिमाली र पहाडी जिल्लामा वामपन्थीबाहेक कसैले जितेनन् । राजनीति र जनमतमा भूगोलले पनि कस्तो असर पार्छ भन्ने कुराको यो एउटा गतिलो नमुना हो । 

यही चुनावले केही वरिष्ठ नेताको राजनीतिक भविष्य अन्त्य गर्दैछ । जस्तो कि, अहिले ७७ वर्षीय चित्रबहादुर केसी राष्ट्रियसभामा गएनन् भने अर्को चुनावको बेला ८२ वर्ष कटेर थलिएका हुन्छन् । कसैगरी सांसद भएछन् भने पनि उनको सक्रिय उपस्थिति र भूमिका रहने अवस्था शायद नहोला । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे ७७ का भए । नारायणमान र चित्रबहादुरलाई न राष्ट्रपति, न प्रधानमन्त्री केही बन्नु छैन । तर, कांग्रेसका नेतालाई समस्या  छ । ७६ वर्षीय कांग्रेस नेता गोपालमान श्रेष्ठले स्याङ्जामा एमालेकी पद्मा अर्यालसँग हारेका छन् । अर्को चुनावमा ८१ का हुनेछन् । रामचन्द्र पौडेलको उमेरस्थिति पनि त्यस्तै छ ।

लगातार ६ चोटि टिकट पाएर चारचोटि जितेका बलबहादुर केसीले हारेका छन् । उमेरले डाँडो काटिसक्यो । ८० कटेका केबी गुरुङ, ६५ का अर्जुननरसिंह केसी, ध्यानगोविन्द रञ्जित, डा.रामशरण महतहरुको पनि के हुन्छ, भन्न सकिन्न । किनभने, अबको पाँचवर्ष कांग्रेस सरकारमा जाँदैन, जाने हिसाब आजसम्म देखिँदैन । पाँच वर्षपछिको चुनावमा उनीहरुको सक्रियताको अवस्था कस्तो हुन्छ ? भन्न सकिन्न । एमालेमा मोदनाथ प्रश्रित, प्रदीप नेपालहरुले ‘अब पुग्यो’ भनिसके । तर, वामदेव गौतम, युवराज ज्ञवाली, अमृत बोहोराहरुले के गर्छन् ? हेर्न बाँकी छ । ७९ वर्षीय पशुपतिसमशेर राणाले यसपालि नै कतै भरिया लगाएर भोट माग्न हिँडे, कतै मोटरबाटै नमस्कार गरे ।

त्यति गर्दा पनि हारे । यिनले अर्को चुनावमा के गर्लान् ? पर्वतका अर्जुन जोशी, पाल्पाका हरिप्रसाद नेपाल, रुकुमका गोपालजीजंग शाह, सल्यानका राजेन्द्रबहादुर शाह, चितवनका शेषनाथ अधिकारी, मुगुका हस्तबहादुर मल्ल, सुनसरीका रामबहादुर बस्नेतहरु पटक–पटक मौका पाएर, उमेर पनि खाएका मध्येमा पर्छन् ।


प्रतिक्रिया दिनुहोस !