उपत्यका छाड्ने सवा चार लाख पुगे

उपत्यका छाड्ने सवा चार लाख पुगे

दशैँ शुरु भएसँगै आजदेखि उपत्यका छोड्नेको संख्या बढ्न थालेको छ । दशैंका लागि घर जानेहरुको लर्को लागिरहेका बेला दशैँको पहिलो दिन आज उपत्यका बाहिरिनेको संख्या थप बढेको हो ।

महानगरीय ट्राफिक महाशाखाले दशैँकै लागि भनेर आजसम्म स्थलमार्गबाट उपत्यका छोड्नेको संख्या चार लाख नाघेको जनाएको छ । यसमा प्लेन प्रयोग गर्नेको संख्या समावेश छैन । जनआस्थासँग कुरा गर्दै महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले ११ गतेदेखि आजसम्म चार लाख १२ हजार ७३ जनाले गाडीबाट उपत्यका छाडेको जानकारी दिनुभयो ।

दासका अनुसार उपत्यका प्रवेश गर्नेको संख्या पनि उत्तिकै छ । सोहि अवधिमा तीन लाख ८७ हजार छ सय एक जना उपत्यका प्रवेश गरेका छन् । दशैँमा घर जानेको संख्या बढ्दा सार्वजनिक सवारी साधनमा अत्यधिक भीडभाड बढिरहेको भन्दै महाशाखाले चेकजाँचमा कडाइ गरेको छ । महाशाखाका प्रवक्ता दासले सीट क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको र अटेर गरे कारवाही हुने जानकारी दिनुभयो ।

दैनिक ४० देखि ५० वटा सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएको उहाँको भनाइ छ। त्यस्ता सवारी साधनलाई आवश्यक कारवाही गरिएको उहाँले बताउनुभयो।

सादा पोशाकमा प्रहरी चढ्ने र सडक अवरुद्ध नहुने गरी चेकजाँच गर्ने गरिएको दासले बताउनुभयो । हिजोमात्रै सिट क्षमताभन्दा बढि सवारी बोक्ने तथा नियम विपरित बढी भाडा असुल्ने १ सय ४१ सवारी साधनलाई कारवाही गरेको उहाँले जानकारी दिनुभयो ।

टिप्पणीहरू