दशैँका दश दिनको के के दिनचर्या

दशैँका दश दिनको के के दिनचर्या

घटस्थापनासँगै आजदेखि बडादशैं शुरु भएको छ । दशैँको पहिलो दिन असोज शुक्ल प्रतिपदा अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्व मनाइन्छ । विजया दशमीका दिन टीकासँगै लगाइने जमरा अजै राख्ने गरिन्छ । बिहान सबेरै उठेर आत्मशुध्दिपश्चात नदी,बगर, खोलाबाट बालुवा वा पञ्चमाटोलाई ल्याई पूजाकोठा वा दशैँ घरमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ । घट (कलश)को स्थापना र देवी-देवतालाई आव्हान गरी पूजापाठ गरिने भएकाले पनि यस दिनलाई घटस्थापना भन्ने गरिएको किम्बदन्ती छ ।

धार्मिक परम्पराअनुसार जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तुका रुपमा लिने गरिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिको रुपमा जमरालाई लिने गरिएको धार्मिक विश्वास छ। त्यसैकारण नवदुर्गा भवानीलाई खुशी बनाउन दशैँमा जमरा राख्ने गरिएको हो ।

बडा दशैँको नौ दिनसम्म अर्थात नवमीसम्म नवरात्रको विधि अनुसार प्रत्येक दिन फरक-फरक देवी-देवताको पूजा गरिन्छ । प्रतिपदादेखि शैलपुत्री, ब्रम्हचारिनी,चन्द्रघण्ट,कुष्माण्डा, स्कण्दमाता,कात्यायनी,कालरात्री, महागौरी,सिध्दिदात्रीलगायत नवदुर्गाको पूजा आराधना गर्ने गरिन्छ ।

कामको प्रतिक बोका,क्रोधको प्रतिक राँगा,लोभको प्रतिक भेडो, मद मात्सर्यको प्रतिक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रको प्रबृतिस्वरुप मानवमा अहंकार,लोभ,क्रोध,दुर्भावना उत्पन्न हुने गर्दछ । त्यस्ता दुर्भावनालाई नवदुर्गाको मन्दिरमा लगेर चढाऊ भन्ने शास्त्रीय मान्यता रहेको पाइन्छ ।

दशौं दिन भगवान रामले रावणमाथि र भगवतीले दानवीय शक्तिमाथि विजय हासिल गरेको खुशियालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने प्रचलन छ । त्यसैले दशमीलाई यस पर्वको सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । प्राचिनकालमा भगवान रामले रावणको नाश गरी असत्यमाथि सत्यको विजय भएको मान्यता रहेकाले दशमीको दिनलाई विजयादशमी भनिएको धार्मिक विश्वास छ ।

आफूभन्दा ठूलाको हातबाट टिका र जमरा लगाएर आशीर्वाद लिने, आफ्नो क्षमताअनुसार राम्रो लगाउने,मीठो खाने,घरआँगन सफा सुग्घर राख्ने लगायतका कामहरु विशेष प्राथमिकताका साथ गरिने यो पर्वको आफ्नै खालको छुट्टै विशेषता रहेको छ ।
यो पर्व नेपाललगायत दक्षिण एसियाली मुलुक भारत,भूटान, बर्मामा पनि बिभिन्न तरिकाले मनाउने गरेको पाइन्छ ।

टिका र जमरा लगाएर पिङ खेल्ने यो पर्वको अर्को विशेषता हो । गाउँघरमा बाबियोको डोरी बाटेर लिङ्गे पिङ हाल्ने चलन छ भने पछिल्लो समय बाबियोको सट्टा अर्कै डोरीको समेत प्रयोग गर्न थालिएको छ ।

दशैँको घटस्थापनादेखि दशमीसम्म मनाइने प्रमुख दिनहरु

घटस्थापना

दशैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । गाईको गोबरले लिपेर सरसफाई गरेपछि बिशुध्द जलपूर्ण घटको स्थापना गरेर देवी-देवतालाई आव्हान गरिने भएकोले यस दिनलाई घटस्थापना भनिएको हो । यो दिनबाट दशैँको शुभारम्भ हुन्छ । घटस्थापनाका दिनदेखि विभिन्न शक्ति पिठहरुमा पूजा गर्नेहरुको भीड लाग्ने गर्दछ ।

फूलपाती

घटस्थापनाको सातौं दिन सप्तमी तिथिलाई फूलपाती भनिन्छ । यो दिनमा बेलपत्र,अदुवाको बोट, उखु,केरा,धानको गाभा,अनार लगायत नै प्रकारका पल्लवहरु दशैँघरमा भित्र्याउने गरिन्छ । यसै दिन गोरखा दरवारको दशैँघरबाट ल्याइएको फूलपातीलाई काठमाण्डौको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरवारमा भित्राउने प्रचलन रहेको छ ।

अष्टमी

नवरात्रको आठौँ दिन अष्टमी पर्व मनाइन्छ । यो पर्वको छुट्टै महत्व रहेको छ । यस दिनमा महाकाली–भद्रकालीलगायतको पूजाआजा गरिन्छ । प्राचिनकालमा दक्षप्रजापतिको यज्ञ नाश गर्न ज्यादै शक्तिशाली भद्रकालीको उत्पत्ति भएको यो दिनमा मानिसहरु आफ्नो कूलदेवता र स्थानीय देवी-देवतालाई पुजेर बलि दिने गर्दछन् भने शाकाहारीका लागि कुभिण्डो,नरिवल,केरालगायत चढाउने गर्दछन् । सर्वसाधारण नगरिकको लागि बन्द हुने तलेजु भवानीको मन्दिर यस दिन भने खुल्ला गरिएको हुन्छ ।

महानवमी

नवरात्रको नवौँ दिन,सिध्दिधात्री देवीको पूजा गरिन्छ । कलकारखाना,हतियार, यातायातका साधनलगायतको पूजा गरेर महानवमी पर्व मनाईन्छ । काम,क्रोध,लालच,मोह, इर्श्यालगायतका विकारहरु नवदुर्गाको प्रसादले हट्ने र सुख, शान्ति,समृद्धि फैलिने विश्वासका साथ नवमी पर्व मनाउने गरिएको छ।

कामको प्रतिक बोका,क्रोधको प्रतिक राँगा,लोभको प्रतिक भेडो, मद मात्सर्यको प्रतिक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रको प्रबृतिस्वरुप मानवमा अहंकार,लोभ,क्रोध,दुर्भावना उत्पन्न हुने गर्दछ । त्यस्ता दुर्भावनालाई नवदुर्गाको मन्दिरमा लगेर चढाऊ भन्ने शास्त्रीय मान्यता रहेको पाइन्छ । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै यस दिनमा बलि चढाउने गरिएको छ ।

विजया दशमी

नवरात्रको दशौं दिन विजया दशमी पर्व धुमधामका साथ मनाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा र मान्यजनको हातबाट रातो टिका लगाएर विजया दशमी मनाइन्छ । नौ दिनसम्म दुर्गा भवानी र अन्य देवी-देवताको नाममा पूजा गर्दा कुनै कमजोरी भयो कि भन्ने सोचेर त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसको वीचमा रातो अक्षताको तीन थुप्रो बनाएर वीचमा अपराचिता देवी, दाहिनेतिर जया देवी र देब्रेतिर विजया देवीको आव्हान गरी जमरा लगायतको पूजा गरी दुर्गा भवानी र अन्य देवी देवतालाई चढाई आरती र पुष्पाञ्जली गर्ने परम्परा रहेको छ । यसो गर्दा कसैले पनि आफूमाथि दमन गर्न नसक्ने धार्मिक मान्यता रहेको छ ।

यसरी नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गा भवानी र अन्य देवी देवतालाई बिसर्जन गरी उठाएर अन्य स्थानमा राख्ने गरिन्छ । ‘आवाहनं नजानामि नजानामि विसर्जनं । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी’ जस्ता मन्त्र पढि देवीका मूर्ति, नवपत्रिकालाई बाजागाजासहित वैदिक मन्त्र पढि जलसायमा लगेर सेलाउने परम्पार रहेको छ ।

घटस्थापनासंगै नेपालीहरुको महानचाड बडादशैँ नेपालीहरुको घरआँगनमा भित्रिएको छ । कोरोना महामारीकाबीच भित्रिएको यो पर्वले खुशी सँगसंगै संक्रमणको त्रासलाई पनि ल्याएको छ । कोरोना संक्रमण र मृत्युदरमा केही कमि आएपनि पूर्णरुपमा नरोकिएका कारण दशैँ मनाउन गाउँघर फर्किएकाहरुमा विगतका वर्षहरुमा जस्तो उल्लास र उमंग देखिएको छैन । यद्यपि दशैँ घरघरमा पुगिसकेको छ । त्यसैले स्वास्थ्य मापदण्ड अपनाई धुमधामका साथ दशैँ मनाउँ । सम्पूर्ण नेपालीहरुमा बडा दशैँ, दिपावली र छठ पर्वको हार्दिक मंगलमय शुभकामना ।

टिप्पणीहरू