पत्रकारितामा भन्दा उम्मेदवारीमा रन्को

पत्रकारितामा भन्दा उम्मेदवारीमा रन्को

काभ्रेका केही पत्रकारले कांग्रेसको स्थानीय चुनावमा हार ब्यहोरेका छन् भने केहीले विजयी हासिल गरेका छन् । कांग्रेसको जिल्लामा मनोनीत सचिव, महासमिति सदस्य, पत्रकार महासंघका पूर्व अध्यक्ष, प्रेस काउन्सिलका पूर्व सदस्य ईश्वरी ओझा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत भएका छन् भने पूर्वअध्यक्ष भोला थापा वडामै पराजित भएका छन् ।

पूर्व अध्यक्षमध्ये नारायण सापकोटा पनौती नगरको सचिवमा निर्विरोध भएका छन् । पूर्व अध्यक्ष महेश पौड्याल क्षेत्रीय प्रतिनिधि भए । यसअघि पार्टी सभापतिनिकट भएकाले जिल्लाको प्रवक्ता थिए । वर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना पनि वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध भए । आफ्नै भाइलाई धुलिखेलको सचिव पदमा उठाए पनि पराजय ब्यहोरे ।

पत्रकार महासंघका पूर्वअध्यक्षहरू भोला थापा, ईश्वरी ओझा, महेश पौड्याल, नारायण सापकोटा, वर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, सदस्यहरू मधुसूदन तिमल्सिना, मोहनकृष्ण तिमल्सिना, कौशलराज खड्का, कपिल कोइराला, शंकर अधिकारी, राजाराम गौतम, रामकृष्ण चापागाईं, महेन्द्र थिङ, रोशन तिमल्सिना, सुदीप भोम्जन उम्मेदवार थिए ।

राजारामले गुटका कारण वडामै पराजय ब्यहोर्नुप¥यो । पत्रकार महासंघको नेतृत्व व्यावसायिक, स्वतन्त्र, निष्पक्ष हुने हो कि ? कुनै पार्टीनिकट ? प्रश्न उठ्न थालेको छ । पत्रकार महासंघको विधानमा राजनीतिक दलको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ । स्थानीय तथा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने पत्रकारलाई पनि महासंघको विधानअनुसार बिदा गरिएको अभिलेख छ ।

पत्रकार महासंघ उपत्यका समितिका सचिव रोशन पाण्डेले नमोबुद्ध नगरमा संस्थापन समूहबाट सभापति पदमा उम्मेदवारी दर्ता गराएको पनि फिर्ता लिए । दुबै समूहका नेता कार्यकर्ता सहमतिमा जुटेको भए पनि पत्रकार पाण्डेलाई मधु आचार्यले जबर्जस्ती उठाएका थिए ।

नेपाली कांग्रेस काभ्रेको क्रियाशील सदस्यता विवादका कारण पहिलो चरणमा हुन नसकेको अधिवेशन दोश्रो चरणमा शुरु भए पनि प्रदेश, संघ र जिल्ला समितिको सम्पन्न नहुँदै स्थगन भएको छ । क्रियाशील सदस्यताको सूची सार्वजनिक भएलगत्तै शुरु भएको वडा र पालिका अधिवेशनमा झगडा परेको छ ।

वडा र पालिका अधिवेशनमा व्यावसायिक भनिने पत्रकार, शिक्षक, गाउँपालिका र नगरपालिकामा कार्यरत कर्मचारीसमेत कांग्रेसका विभिन्न समितिमा निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक सबै शिक्षक हुन् । केही शिक्षक नेपाली कांग्रेसको इकाइ सभापति भएका छन् भने केही प्रतिनिधि बनेका छन् । केही पालिका स्तरका पदाधिकारी छन् ।

रोशी गाउँपालिकामा कार्यरत दुई कर्मचारी इकाइमा निर्वाचित भएका छन् । आफैँँ कर्मचारी, आफैँँ नेता बनेर नेपाली कांग्रेसका प्रतिनिधिहरूले रमाइलो गरेका छन् । वडा अधिवेशन सकिएलगत्तै प्रतिनिधिको हिसाब किताब शुरु गरेका कांग्रेसका संस्थापन र केन्द्रीय सदस्य शिवप्रसाद हुमगाईको समूहले पालिका स्तरमा समूहगत प्रतिस्पर्धाको तयारी गरेका थिए ।

पालिकास्तरको अधिवेशनको अघिल्लो साँझ पार्टी सभापति मधु आचार्यले अधिवेशन स्थगित भएको, निर्वाचन समितिका संयोजक भागेको जस्ता सूचना प्रवाह गराए । फेसबुक लाइभ गरे । तर, ३ घण्टा पनि टिक्न नपाउँदै उनको समूहका सबैले स्टाटस हटाए । भोलिपल्ट अधिवेशनका लागि हलमा पुगेका कार्यकर्ता रोक्न आचार्य समूहले अधिकतम प्रयास ग¥यो ।

धुलिखेलमा त अधिवेशन हलमा ताला लगाएर आफैँ खोल्न पुगे । विमल ब्याञ्जुलाई संस्थापन समूहले उम्मेदवार बनाएर पछि मञ्जुकुमार कोजुलाई उठाएको थियो । तैपनि, त्यो समूहको पत्तासाफ भयो ।

बनेपामा महेशकुमार कर्माचार्यले १ मतले विजय हात पारे । उनी शिव हुमगाई निकट हुन् । पाँचखालमा सहमतिमा हुमागाई समूहले संस्थापन समूहलाई सभापति छाडिदियो । हुमागाईं समूह बलियो भएर पनि मण्डन देउपुरमा पराजय भोग्न पुग्यो । जिल्ला पार्टी कार्यालयमा आफैँ ताला लगाउन लगाएर आफैँ खोलेको सभापति आचार्य समूहले फोरमको साथ लिन खोजे पनि फोरम आफैँ पत्तासाफ भयो ।

१३ वटा पालिकामध्ये खानिखोलामा फोरमका उम्मेदवारले सभापति पाए । उनी शिव हुमागाई निकट मानिन्छन् । आचार्य समूहले १३ मध्ये ३ वटामा सभापतिमा उम्मेदवारी विजयी गराउन सक्यो भने हुमगाई समूहले १० वटा पालिकामा आफ्नो पकड बनायो । प्रदेश र संघीय समिति सहित जिल्ला समितिमा विजयी हुने लक्षण देखेपछि रोक्ने प्रयास केन्द्रिय समितिका कारण सफल जस्तै देखिए पनि हुमगाई समूह काभ्रेमा बलियो बनेको छ ।

वडाहरूमा पनि उसले बहुमत प्राप्त गरेको छ । १ सय ३५ वडा, नगर र गाउँपालिका, ४ वटा प्रदेश सभा र २ वटा संघीय सभाको निर्वाचनका लागि शिक्षक संघमा आबद्धहरूलाई निर्वाचन अधिकृत बनाईएको थियो । वडा अधिवेशन मंगलबार आयोजना गरिएको हो । १ सय ३५ जना शिक्षक एकै दिन बालबालिकाको पढाइ छाडेर कांग्रेसको वडा अधिवेशन गराउन सहभागी भएका थिए ।

टिप्पणीहरू