काठमाडौंमा सास फेर्न किन कठिनाइ ?

काठमाडौंमा सास फेर्न किन कठिनाइ ?

– निनाम कुलुङ ‘मंगले’

लगातार असामान्य ढंगले बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारण विश्वका धेरै देशमा असमय र अकस्मात छिटफुट पानी पर्ने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिऊँ पग्लने, हावाहुण्डरी चल्ने, समुन्द्रमा पानीको सतह बढ्ने आदि समस्या छ ।

गत वर्ष (२०७७) को पुस–माघ महिनाताका पनि नेपालको राजधानी काठमाडौँमा लगातार तीन दिनसम्म कुहिरो, हुस्सु अथवा भनौं तुवाँलोले गर्दा पटक्कै घाम लागेन । हावा पनि चलेन । फलतः कचौरा आकारको काठमाडाैँ उपत्यकालाई अरु समयमा भन्दा बढी वायु प्रदूषणले च्याप्यो । चिसो पनि सामान्य अवस्थाभन्दा अत्यधिक बढ्यो ।

यो वर्ष पनि हालसम्म मनसुन रोकिएको छैन ! जबकि नेपालका मौसमविद्हरूले भदौ २, ३ गतेखि नै यो वर्षको मनसुन अब दुई–तीन दिनमा रोकिन्छ !, भोलि वा पर्सिदेखि रोकिन्छ !! भन्दै आएका थिए ।

त्यसो त हालै विश्व स्वास्थ्य संगठन वल्र्ड हेल्थ अर्गनाईजेसन (डब्लुएचओ) ले प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण विश्वका विभिन्न देशमा बर्सेनि ७० लाख मानिसले अल्पायुमै आफ्नो अमूल्य जीवन गुमाउँछन् । औद्योगिक उत्पादन, उद्योग–धन्दा र कलकारखाना यसको कारक भए पनि जलवायु र मौसम परिवर्तनलाई अर्को प्रमुख कारण मान्न सकिन्छ ।

विज्ञहरूका अनुसार काठमाडौ विश्वकै ५० प्रदूषित शहरमध्ये पहिलो नम्बरमा रहेको छ ! डा. माधव अधिकारीका अनुसार वायुको गुणस्तर सूचांक (एक्युआई) काठमाण्डौको रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अंक रहेको थियो, गत वर्ष ।

जबकि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने, २०१ भन्दा माथि अस्वस्थ्यकर हो । यो ३०१ भन्दा माथि घातक हुन्छ ।

नेपालजस्ता अविकसित र अल्प विकसित देशहरूमा वायु प्रदूषण बढ्नुमा ३०, ३५, ४० वर्षभन्दा पुरानो बस, कार, जिप, भ्यान, मोटर साइकललगायत गाडीहरू चल्न दिनु पनि कारण हो । साथै युरो मापदण्ड पूरा नभएका पेट्रोल, डिजेल, ग्यास, कोइला लगायत औद्योगिक इन्धनहरूको प्रयोग धेरैजसोको घरमा भात–भान्सा तयार गर्न काठ–दाउरा, गोबरको गुईठा भुस र फुस प्रयोग पनि हो ।

केही वर्षदेखि चीन, अष्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानडालगायतका देशमा कयौं दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन, जंगलमा लगातार लाग्ने गरेको आगलागी र डढेलोले वायु प्रदूषण बढाउन सहायक भूमिका खेलेको देखिन्छ ।

जलवायु परिवर्तनका कारण हुने वातावरण विनाश, हिमनदी पग्लने क्रम र यसले हिमाली तथा पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसका रोकथामका लागि कस–कसले कसरी काम गर्ने ?

टिप्पणीहरू