एमाले विभाजनले इञ्जिनियरहरु तितरबितर

एमाले विभाजनले इञ्जिनियरहरु तितरबितर

मातृ पार्टीमा १० बुँदे सम्झौता कार्यान्वयनलाई लिएर विवाद बढेका बेला नेकपा (एमाले) निकट प्रोग्रेसिभ इञ्जिनियरिङ एशोसियसन नेपाल (पिन) मा पनि लफडा निम्तिएको छ । माओवादीसँग एकता हुनुपूर्व अर्थात् २०७५ जेठ २ मा संगठनलाई फर्काउनुपर्ने १० बुँदेको मर्म विपरित नेकपाको भातृ संगठनको निरन्तरताकै रुपमा संगठनको नाम कायम गर्न खोजेपछि पार्टी फुटले पनि नधर्मराएको पिन विभाजनतर्फ धकेलिएको बताइन्छ ।

पार्टी विभाजनपछि अन्य जनवर्गीय संगठनहरु चिरा परे पनि पिन हालसम्म फुटेको छैन । औपचारिक रुपमा विभाजन नभएपनि पार्टी अध्यक्ष केपी ओली र तत्कालीन माधव समूह निकट दुई धारको संघर्ष चर्किएकाले कुनै पनि बेला पिन फुट्ने अवस्था बनेको छ । पिनलाई नै निरन्तरता दिने एमाले निकटहरुको तयारी र जेठ २ मा फर्किएर पुरानै नाम कायम गर्नुपर्ने अर्को पक्षको अडानले पिन विभाजनतिर धकेलिएको हो ।

विवादकै कारण संगठन नछोड्ने निधो गरेर एमालेमै बसेका केही इञ्जिनियरले एकीकृत समाजवादीमा जाने सुर कसेका छन् । त्यसो त तत्कालीन माधव समूह निकटहरु पनि सबै एकमत छैनन् । एउटा समूह समाजवादीमा जाने तयारी गर्दै गर्दा अर्कोतिर एमालेमै बसेर संघर्ष गर्नुपर्ने मत राख्नेहरु पनि छन् ।

फुट्न हुँदैन भन्नेहरुको तर्क छ – दुई वर्षपछि पार्टी मिल्छ,त्यसैले हाम्रो शक्ति एकै ठाउँमा रहेर ओलीनिकटलाई दबाब दिऊँ । समाजवादीमा जानुपर्छ भन्नेहरु चैं वर्षौदेखिको संघर्षबाट पनि पार नलागेकाले अब सकिंदैन भन्नेमा पुगेका छन् ।

पिनमा ओली र माधव निकटहरु हाराहारीकै संख्यामा रहेको दाबी गरिएको छ । पिनका एक नेता भन्छन्, ‘एक ठाउँ बस्यौँ भने ओलीतिर भन्दा हामी कमजोर हुँदैनौँ । ओलीले पार्टीमा १५ सयको कमिटी बनाएजस्तै यता पनि त्यसैगरी थपिएको छ । पुरानो कमिटीअनुसार हामी कमजोर छैनौँ ।’

माधव समूह छोडेर ओलीतिर लागेका गोकर्ण विष्ट मोर्चा इञ्चार्ज छन् । १० बुँदेको रन्कोले पार्टीमै लफडा चर्किएका बेला उनलाई भातृ संगठनको विवाद मिलाउने फुर्सद छैन । त्यसैले इञ्जिनियरहरुको विवाद मिलाउन बिष्टले लत्तो छोडेको बताइन्छ । भन्छन्, ‘फोन गर्दा पनि उहाँको रेस्पोन्स छैन । त्यसैले अब यता रहन सक्ने अवस्था रहेन ।’

त्यसो त,मातृ पार्टीमा जस्तै पिनमा पनि ओलीको टिम एकढिक्का नै छ । हिजो माधव समूह भनिएकाहरु मात्रै विभाजित भएका हुन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनवर्गीय संगठनहरूमध्ये सबैभन्दा पहिला इञ्जिनियरहरुको संगठनको एकता भएको थियो । एमालेको प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान) र माओवादीको नेपाल राष्ट्रिय इञ्जिनियरिङ संगठनको एकता भएर २०७५ साउनमा पिन गठन भएको हो ।

त्यहि नाममा माओवादीहरुले बनाएको संगठन पनि कायमै छ । तत्कालीन नेकपाको अन्तरविरोधमा माधव र प्रचण्ड एकातिर हुँदा उनीहरु निकटले पनि त्यहि नाममा संगठन चलाएका थिए । अहिले त्यहि नाममा अघि बढेको ओली समूहले पनि नाम फेरेको थिएन ।

एकीकृत समाजवादीतिर लाग्ने तरखरमा जुटेकाहरुको अर्को पनि तर्क छ – पार्टीको जिम्मेवारीमा रहेका र सरकारी तलब खानेहरु संगठनमा बस्न मिल्दैन । भरत पहारी विशेष अदालतबाट भ्रष्टाचारको आरोपमा सजाय पाएका व्यक्ति ओली समूहको हर्ताकर्ता छन् । विशेषले दोषी ठहर गरेपछि सर्वोच्च गएका उनी धरौटीमा छुटेका हुन् । उनैलाई एमालेले अनुशासन आयोगको सचिव बनाएको छ । उनी इन्जिनियरिङ क्याम्पसका पूर्वडिन पनि हुन् ।

दाबीअनुसार ओलीतिरका इञ्जिनियरहरु अधिकांश सरकारी तलब बुझ्नेहरू छन् । उपाध्यक्ष सुरज लामिछाने पुल्चोक क्याम्पसको सहप्राध्यापक हुन् । उनी नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए)को उम्मेदवार पनि थिए । ७६ वर्षीय शम्भुबहादुर श्रेष्ठ पिनका अध्यक्ष छन् । विधुत प्राधिकरणको रिटायर्ड कर्मचारीसमेत रहेका उनी पनि ओलीतिरैका हुन् । सचिवालयमा पनि अधिकांश बहालवाला सरकारी कर्मचारी रहेको बताइन्छ ।

टिप्पणीहरू