गाउँपालिकाको ताला बल्लतल्ल खुल्यो

गाउँपालिकाको ताला बल्लतल्ल खुल्यो

गाउँपालिकाले आफूहरूले गरेको कामको भुक्तानी समयमा नदिएको भन्दै ठेकेदारका प्रतिनिधिले आइतवार पाँचथर फालेलुङ गाउँपालिका भवनमा लगाएको ताला खुलेको छ ।

आफूहरूले गरेको कामको रकम निकासा नपाएको भन्दै फालेलुङ गाउँपालिकाको प्रशासकीय भवनको ०७७।७८ को ठेक्काको पेटी ठेक्का लिएका स्थानीय ठेकेदारहरूले आइतबार दिउँसो गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

उनीहरूले आफूहरूले पाउनुपर्ने ४२ लाख रकम भुक्तानी नपाएको भन्दै दिउँसो ४ः३० बजे कार्यालयमा तालाबन्दी गरेका हुन् । ठेकेदारलाई केही रकम भुक्तानी दिने सहमति भएपछि गाउँपालिकामा लगाइएको ताला खुलेको छ ।

सोमबार बिहान गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङ, गाउँपालिकाको प्रशासकीय भवन निर्माणको ठेकेदार कम्पनीका प्रतिनिधिबीचको छलफलमा सहमति जुटेको हो ।

हाललाई ३० लाख रुपैयाँ रकम भुक्तानी दिने गरी सहमति भएको प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानले जानकारी दिए । निर्माणाधीन भवनको पाउनुपर्ने ४२ लाखमध्ये ३० लाख भुक्तानी दिन सहमति भएकाले ताला खोलिएको ठेकेदारका प्रतिनिधि अनिस गुरागाईले जानकारी दिए ।

फालेलुङ गाउँपालिका कार्यालयले गत आवमा प्रशासकीय भवनको भुइँ तला निर्माणका लागि ९४ लाखमा कमल कन्स्ट्रक्सन फिदिमलाई ठेक्का लगाएको थियो ।

तर, उक्त निर्माण कम्पनीले भवन निर्माणको काम स्थानीय अनिष गुरागाईं, केशव गुरागाईं, सुरेश थोक्लिहाङलगायत स्थानीयलाई पेटी ठेक्का दिएको थियो ।

टिप्पणीहरू