‘घर त बन्यो, लालपुर्जा खोज्न कहाँ जाउँ सरकार ?’

‘घर त बन्यो, लालपुर्जा खोज्न कहाँ जाउँ सरकार ?’

-शंकर श्रेष्ठ

वेनिघाट रोराङ–२ पार्लाककी फुलमायाँ चेपाङ अहिले मख्ख छिन् । पहिले त घरमा पाहुना आउदा बस्नुस् भन्ने ठाउँ पनि थिएन । भुकम्पले घर ढलेको सातौं वर्षमा बल्ल सरकारको अनुदान लिएर घर बनाएकी फुलमायाँ भन्छिन्, ‘ढिलै भएपनि सरकारले अनुदान दियो, अहिले त घरपनि बनाइसक्यौ, अब घरको चिन्ता छैन ।’

भुकम्पले जल्तरासी घरलाई नै छेकबार गरेर घामपानीबाट जोगिदै आएका फुलमायाँको परिवारले अहिले नयाँ घर बनाएका छन् । २०७२ सालको भुकम्पले भत्किएपछि जग्गाको लालपुर्जा नभएकै कारण सरकारले उपलब्ध गराउने अनुदान रोकिँदा फुलमायाँसहित १९ परिवारले घर बनाउन सकेका थिएनन् ।

अहिले पार्लाक र बाकुराङका १९ परिवारले नै नयाँ घर बनाएका छन् । बारीको उत्पादनले जेनतेन ६ महिना खान पुग्ने समुदायले निजि आवास सहयोगार्थ अनुदान स्वरुप ३ लाख रकम लिएर ओतलाग्ने छानो फेरेका हुन् । ‘अनुदानको पैसा लिन लालपुर्जा चाहिने रहेछ, घर बनाउन सकिएला भन्ने लागेकै थिएन’, बीरबहादुर चेपाङ भन्छन्,‘ढिलै भएपनि घर बनाउने पैसा दियो, धन्यवाद छ सरकार ।’

नागरिकता धादिङ जिल्लाबाटै बनेको भएपनि घर जग्गाको लालपुर्जा उनीहरुसँग छैन । चितवनको मालपोतमा जग्गा धनी लालपुर्जा भएको पत्ता लागेपनि उनीहरुले अझैसम्म लिन सकेका छैनन् । नागरिकता धादिङकै छ । मतदाता नामावली पनि धादिङमै छ । ‘घर त पायौं, लालपुर्जा खोज्न अब हामी कहाँ जाने ?’ सुनिता चेपाङको प्रश्न निकै गहकिलो छ ।

चेपाङ समुदाय आधारभूत आवश्यकताबाट समेत बञ्चित छन् । विकास र समृद्धि उनीहरुका लागि एकादेशको कथा हो । गाँस, बाँस, कपासकै लागि उनीहरु पौठेजोरी खेलिरहेका छन् । लालपुर्जा विना पनि सरकारले दिने आवास सहयोगार्थ अनुदान रकम पाइन्थ्यो भन्ने आफुलाई जानकारी नभएको पार्लाकका लाले चेपाङले बताए ।

वर्षाैदेखि यहाँका समुदायले लालपुर्जा खोजी गरिरहेका छन् । लालपुर्जा खोज्न फियान नेपालले यहाँका समुदायलाई सहयोग पनि गरिरहेको छ । चितवनको मालपोतमा लालपुर्जाको श्रेस्ता रहेको पत्ता लागेको फियान नेपालका राजेन्द्र बस्नेतले जानकारी दिए ।

लालपुर्जा नभएका चेपाङ समुदायले पनि भुकम्पपछि पुनर्निर्माण सम्पन्न गरेका हुन् । तर भुकम्पले भत्किएको घर उठाउन मात्र नभएर गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगार, सडक सञ्जाल, खानेपानी जस्ता धेरै खालका समस्या भएको बेनीघाट रोराङ गाउँपालिका २ का वडा अध्यक्ष टंक थापाले बताए ।

टिप्पणीहरू