फुली थप्न दूतावास धाएकै हुन् त डिआइजीहरु ?

फुली थप्न दूतावास धाएकै हुन् त डिआइजीहरु ?

नेपाल प्रहरीका चार जना डिआइजीले आइजी बन्न भारतीय सहयोग खोज्दै लैनचौरस्थित दूतावास धाएको विवरणसमेत समेटिएको नेपालका लागि पूर्वभारतीय राजदूत रञ्‍जित रेको ‘काठमाडौं डिलेमा रिसेटिङ इण्डिया–नेपाल टाइज’ नामक पुस्तक विवादमा परेको छ ।

नेपाल प्रहरीको आइजीपी नियुक्तिमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले आफूसंग परामर्श गरेको र आइजीका उम्मेदवारहरु दूतावासमा भेट्न आएको रेको दाबीको पूर्व आइजीपी प्रकाश अर्यालको पारिवारिक स्रोतले खण्डन गरेपछि पुस्तक विवादमा परेको हो ।

प्रहरी संगठनलाई बदनाम गर्ने मनशाय पुस्तकमा देखिएको भन्दै स्रोतले आपत्तिसमेत जनायो । हालसम्म रञ्‍जित रेसँग फेस टु फेस कुराकानी नगरेको र भारतीय दूतावास पनि नटेकेको दावी गर्दै उक्त स्रोतले पुस्तकमा उल्लेखित उक्त सन्दर्भको प्रतिवाद गरेको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आइजीपी नियुक्तिका विषयमा विवादित बनेको थियो । देउवा र निधिको आ-आफ्नै रोजाइका पात्र अघि सारेका कारण आइजी नियुक्तिमा सरकारलाई सकस परेको थियो । यहि सन्दर्भलाई उठाएका पूर्वराजदूत रेलले निधि स्वयंले आफूलाई फोन गरेर सुझाव मागेको पुस्तकमा लेखेका छन् ।

त्यतिबेला डिआइजी रहेका जयबहादुर चन्द,नवराज सिलवाल, प्रकाश अर्याल र बमबहादुर भण्डारी आइजीपीको लाइनमा थिए । उनीहरुलाई एआइजी नै नबनाई आइजीपीका लागि अघि सारिएको थियो ।

तर,आइजी नियुक्ति विवादित बनेपछि सिलवालले प्रहरी सेवाबाट राजीनामा दिएर एमाले प्रवेश गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाको रोजाइकै डिआइजी चन्दलाई आइजीपी बनाइएको थियो । तर,चन्दको नियुक्तिविरुध्द सर्वोच्च अदालतमा रिट परेपछि अदालतले कार्यसम्पादन मूल्यांकनका आधारमा अर्याललाई आईजीपी बनाउन आदेश दिएको थियो ।

आइजीपीको चर्चामा रहेका अर्याल र भण्डारीले रेलाई भेटेको कुरा विश्वास गर्नै नसकिने प्रहरी अधिकारीहरु बताउँछन् । ‘प्रधानमन्त्री र गृहमन्त्रीको चासोका दुई जना मैदानमा हुँदाहुँदा उनीहरुले कुनै देशको राजदूतलाई भेटेको कुरा कल्पना भन्दा बाहिरको हो’,एक प्रहरी अधिकारीले भने ।

चन्द र सिलवालले रेलाई भेटेको त्यतिबेलै चर्चा थियो । अर्याल र भण्डारी भने राजनीतिक पहुँचका हिसाबमा कमजोर रहेकाले त्यो सम्भावना नरहेको बताउनेहरु प्रहरीमा अरु पनि धेरै छन् । हालै सशस्त्र प्रहरीका डिआइजी प्रविनकुमार श्रेष्ठको सन्दर्भ उल्लेख गर्दै स्रोत भन्छ, ‘भारतीय दूतावासमा गएको भन्ने आरोपमा डिआइजी सापको म्याद थप नगरी घर पठाइयो ।

जबकि आइजी बन्ने रोलक्रमका उहाँभन्दा अघिका अरुको चैं म्याद थप गरेर बढुवा गरियो । त्यसैले राजनैतिक नेतृत्वको संरक्षण नहुँदासम्म कसैले पनि त्यत्रो आँट गर्दैन ।’ अर्याल निकट स्रोतले पुस्तकमा आएका कुराले अर्याल आश्चर्यमा परेको र स्पस्टिकरण दिएरै हैरान बनेको बतायो ।

त्यसो त,२०१३ अक्टोबरदेखि २०१७ फेब्रुअरीसम्म काठमाडौँमा भारतीय राजदूत बनेका रे आफैँमा विवादित कूटनीतिज्ञ हुन् । लगभग आफ्नो चार वर्षे कार्यकालमा उनी पटक-पटक विवादमा परेका थिए ।

काठमाडौँ रहँदाको विविध सन्दर्भ र नेपाल-भारत सम्बन्धलाई लिएर पुस्तक निकालेका रे नेपाल छोडेको चार वर्षपछि फेरि विवादमा परेका हुन् । उनको पुस्तकमा राजनीतिक दलका शीर्ष नेता,पूर्वप्रधानमन्त्री,मन्त्रीलगायत विभिन्न व्यक्तिबारे पनि टिप्पणी गरिएको छ। उनीहरुसँगको आफ्नो सम्बन्ध,भेटघाटलाई पुस्तकमा समेटेका रेले कतिपय गुह्य कुरा खोलेका छन् ।

टिप्पणीहरू