इच्छाराजले कहिलेदेखि र को कोसँग मिलेर लुटे ?

इच्छाराजले कहिलेदेखि र को कोसँग मिलेर लुटे ?

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा झण्डै ७५ करोड रुपैयाँ ठगेको देखिएपछि बैंकर,पूर्वसभासद तथा सिभिल बैंकका अध्यक्ष एवम् सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई प्रहरीले अस्ति साँझ पक्रेको छ । १ सय २० जना निक्षेपकर्ताले आफूहरु ठगिएको भन्दै झण्डै ७५ करोड रुपैयाँ बदमासीको निवेदन पेश गरेपछि प्रहरीको अनुसन्धान ब्युरोले उनीहरुलाई अस्ति साँझ एकाध घण्टाको अन्तरमा समातेको हो ।

२१ सय जना निक्षेपकर्तासँग उठाइएको झण्डै सात अर्ब रुपैयाँ तामाङ र उनको समूहले लुट्न थालेको धेरै पहिलेदेखि भनी पीडितहरुले बताएका छन् । बदमासी गर्न थालेपछि उनले सिभिल होम्सलगायतका १५ वटा कम्पनी खडा गरेका हुन् । सहकारीको पैसा आफ्ना मान्छे र समूहमा लगानी गरेको देखिएको छ ।

सिभिल होम्स बनाउँदै बेच्ने गरेको मुख्य स्रोत पनि सहकारीको त्यहि ठगिएको रकम भएको खुलेको छ । पैसो सहकारीको प्रयोग गरी बनाइएका सिभिल होम्स बेचेर प्राप्त झण्डै ८ अर्ब रुपैयाँ कमाएको देखिन्छ तर तामाङले उक्त रकम कहिँ कतै खुलाएका छैनन् । अहिले त्यो पैसो पनि गायब भएकाले विदेश पुर्याएको आशंका गरिएको छ ।प्रहरीको अनुसन्धानबाट तामाङसहितका सबैको सम्पत्ति शुध्दिकरण गर्नुपर्ने देखिएको छ । यसबारे गृहमन्त्रीलाई बेलैमा जानकारी गराइएको स्रोतको दाबी छ । अहिलेसम्म ७५ करोड रुपैयाँ भन्दा बढी ठगेको उजुरी परेको छ । आजबाट त्यस्तो उजुरी अरु पर्ने प्रहरीले बताएको छ । सिभिल सहकारीले ठगेका आधा दर्जन निक्षेपकर्ताको यसअघि नै निधन भइसकेको छ ।

उसको निक्षेपकर्तालाई दिनुपर्ने ७ अर्बभन्दा बढी रुपैयाँको निक्षेप दायित्व देखिन्छ । अवस्था भयावह भएपछि सोमबार साँझ २ देखि ३ घण्टाको बीचमा तामाङलगायत १२ जनालाई काठमाडौंबाट समातिएको हो । केही दिनदेखि उनीहरुलाई निगरानीमा राखेर सोमबार साँझ झ्याप्पै पक्रिएको सीआईबी स्रोतले बताएको छ ।

अहिले इच्छाराज तामाङलाई सोह्रखुट्टेमा राखिएको छ भने केहीलाई सीआईबी र केहीलाई महाराजगञ्ज वृत्तमा छुट्टाछुट्टै राखिएको छ । उनीहरुको बयान नसकिउन्जेल फरक स्थानमा राखिने जनाइएको छ । हिजो काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान शुरु भएको हो ।

हालसम्म पक्राउ परेकाहरुमा सहकारीका पूर्व अध्यक्ष तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, असिष्टेण्ट म्यानेजर मायोनानी महर्जन,एलिना तुलाधर,जुनियर अधिकृत शंकरप्रसाद पाठक छन् ।

त्यसैगरी सहायक संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, सहायक प्रबन्धक बुध्दराज तामाङ र कौस्तुभ केतन ढुंगाना,वरिष्ठ प्रबन्धक विजयविक्रम शाह र पूर्व लेखासमिति सदस्य हरिहर लामिछाने पनि अस्ति साँझ पक्राउ परेका हुन् ।

उनीहरुसँगको बयान, अनुसन्धानपछि थप संलग्नहरुको पहिचान गरेर पक्राउ गरिने स्रोतले बताएको छ । प्रहरीको उच्चस्रोतका अनुसार तामाङ, लामिछाने र श्रेष्ठको नजिक रहेर व्यवसाय र कारोबार गर्दै आएका सबैलाई निगरानीमा राखिएको छ । तिनमा कतिपय सरकारी अधिकारी,कानुन व्यवसायी र व्यापारी समेत छन् ।

यसअघि तामाङले सहकारीका पीडितहरुलाई आफूले केही वर्षमा रकम तिरिसक्ने भन्दै सीआईबीमा उजुरी नहाल्न भनेका थिए । सर्वसाधारणले पसिना चुहाएर कमाएको सम्पत्तिमा मस्ति गर्दै आएको तामाङ समूहले आफूहरुलाई काम गर्न दिएमा पैसा फिर्ता गर्न सकिने भन्दै प्रशस्त सम्पत्ति रहेकोले नआत्तिन भनेका थिए ।

टिप्पणीहरू