​सहनुमै छ यति मीठो स्वाद « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

​सहनुमै छ यति मीठो स्वाद

प्रकाशित मिति :  २८ पुष २०७४, शुक्रबार १४:३५


  • राजेन्द्र स्थापित

अमेरिकी गान्धीको नाउँले प्रख्यात अश्वेत नेता मार्टिन लुथर किङ जुनियरको जन्म सन् १९२९ मा जर्जिया राज्यको एटलान्टामा भयो । पुर्खा बाप्टिष्ट सम्प्रदायका पादरी । बाप्टिज्म (यथार्थमा यो ग्रिक शब्द हो । जसको अर्थ पानीमा डुब्नु वा नुहाउनु हो । अर्थात् जल प्रयोग गरी गरिने धार्मिक कार्य, जुन कार्यपछि व्यक्तिलाई चर्चको सदस्यता प्रदान गरिन्छ ।) धार्मिक अनुष्ठानको समय नाउँ राखियो– माइकल । ६ वर्षकै उमेरमा उनले काला र गोराबीच भेदभावको कटु अनुभव गरे । मन दुखाए । 

माइकलका पिता रेभरेन्टले रंगभेदबाट विचलित बनेका छोरालाई सम्झाउन १५ औं शताब्दीमा युरोपमा प्रोटेस्ट्याण्टवाद नामक सुधारात्मक आन्दोलन चलाएका जर्मन भिक्षु तथा धर्मशास्त्री मार्टिन लुथर किङको जीवनगाथा सुनाए । सबै वृत्तान्त सुनाइसकेपछि भने, ‘आजबाट तिम्रो र मेरो, हामी दुवैको नाउँ मार्टिन लुथर किङ भयो ।’

बाबुको उत्प्रेरणा पाएपछि मार्टिन लुथर किङ ‘जुनियर’ ले अमेरिकामा व्याप्त रंगभेदविरुद्ध आन्दोलन चलाउने प्रण लिए । र, अश्वेतहरुलाई संगठित गरेर एकदिन सार्वजनिक सभामा भाषण दिँदै थिए, आन्दोलनविरोधी एकजना स्रोताले जुत्ता प्रहार गरे । यो अप्रत्यासित हमलाले स्रोताबीच ठूलो हंगामा मच्चियो । आयोजकहरु पसिना–पसिना भए तर किङ यथास्थानमा उभिइरहे ।

उनले जुत्ता उठाए र नम्र भाषामा बोले, ‘धन्य छ, त्यो मुलुक जहाँका जनता राष्ट्रसेवकलाई यसप्रकारले स्वागत गर्छन् । पैदल हिँड्ने म तुच्छ सेवकमाथि कसैले यति ठूलो उदारता देखाए । तर, दुःखलाग्दो कुरा यो छ कि यो जुत्ता बायाँ खुट्टाका लागि मात्र भयो ।’

एकछिन मौन बसे अनि बोले, ‘कृपालु सज्जनसँग मेरो विनम्र अनुरोध छ कि कृपया दायाँ खुट्टाको अर्को जुत्ता पनि फ्याँकिदिनुस् । यसो गर्नुभो भने अनुग्रहित हुनेछु ।’

उक्त कुरा सुनेर सभामा सन्नाटा छायो । सबै स्तब्ध भए । एकछिनपछि सबैले मार्टिन लुथर किङ ‘जुनियर’ को जयजयकार गरे । बल्ल किङको अनुहारमा मुस्कान देखियो । स्मरणीय छ, सन् १९६८ को अप्रिल ४ मा मेम्फिसस्थित लोरेन मोटेलको बरण्डामा उभिइरहेको मौका पारेर जेम्स एर्ली रे नामक गोराले गोली हानी उनको हत्या गरे । मारिँदा उनी ३९ वर्षका थिए ।

जवाफ भए पो !

निकिता सर्गेइभिच खु्रश्चेभको जन्म खानी मजदुरको सामान्य परिवारमा भयो । बाल्यकालदेखि नै श्रममा लागे । ज्यालादारी पशु गोठाला बने । कारखानामा गरे । मजदुर संगठनमार्फत् रुसी कम्युनिष्ट पार्टीको सदस्य बने । र, जोसेफ स्टालिनको निधनपश्चात् सोही पार्टीको प्रथम
केन्द्रीय सचिव र सोभियत अध्यक्षमण्डलको अध्यक्ष (प्रधानमन्त्री) जस्तो सर्वोच्च पद हासिल गर्न सफल भए ।

सर्वोच्च पदमा पुगेपछि साइबेरियाको भ्रमणमा हिँडे । त्यहाँ भेट एक ९० वर्षीय वृद्धसँग भयो । प्रश्न गरे, ‘बाजे, तपाईं महान् अक्टोबर समाजवादी क्रान्तिपहिलाको स्थितिभन्दा अहिले सुखी हुनुहुन्छ नि होइन ?’

बूढोले निर्भिकतापूर्वक जवाफ दिए, ‘थाहा छैन, म त्यो बेला सुखी थिएँ वा अहिले । तर, एउटा कुरा भन्न चाहन्छु, त्यसबेला मसित दुई जोर जुत्ता थियो, दुईवटा ओभरकोट, दुईवटा सुट, दुईवटा ऊनी ह्याट (टोपी) र दुई जोर पञ्जा पनि । अब एकजोर मात्र बाँकी छ, त्यो पनि पुरानो र फाटिसकेको ।’

बूढाको कुरा सुनेर खु्रश्चेभ निराश बनेनन् । आफ्नो कुरालाई सही सावित गर्ने कोशिश गर्दै फेरि भने, ‘भयो बाजे, यो कुरालाई यत्तिकै छाडौं । तपाईंलाई थाहा छैन होला, चीन, अफ्रिका, दक्षिण अमेरिका र भारतजस्ता मुलुकहरुको स्थिति हाम्रोभन्दा दयनीय छ । धेरैभन्दा धेरैसित, हामीसित भएका यस्ता लुगाफाटा नै छैनन् र उनीहरु नांगै बस्न बाध्य छन् ।’

बूढा खु्रश्चेभदेखि अलिकति पनि डग्मगाएनन् न हार्न तयार भए । उनले पनि आफ्नो कुरालाई सही सावित गर्न जोड लगाउँदै भने, ‘श्रीमान्, त्यसो भए उनीहरुकोमा महान् समाजवादी क्रान्ति हाम्रोमा महान् अक्टोबर समाजवादी क्रान्ति हुनुभन्दा धेरै पहिला सम्पन्न भएको हुनुपर्छ ।’ बूढाको जवाफ सुनेर यसपटक भने खु्रश्चेभ नाजवाफ बने । बूढालाई अभिवादन गर्दै त्यहाँबाट हिँडे । 

बुद्धका ती वचन

एकजना व्यक्ति गौतम बुद्धको प्रवचन सुन्न दिनहुँ शिविर पुग्थे । मन लगाएर र ध्यान दिएर प्रवचन सुन्थे । बुद्ध आफ्नो प्रवचनमा लोभ, मोह, द्वेष र अहंकार त्यागेर जीवनमा परम लक्ष्य प्राप्त गर्ने उपदेश दिन्थे । एकदिन ती व्यक्ति बुद्धको नजिक पुगे । र, भन्न थाले, ‘तथागत, म विगत एक महिनादेखि तपाईंको प्रवचन सुनिरहेको छु । तर, क्षमा गर्नुस्, ममाथि प्रवचनको कुनै असर परेको छैन । तपाईंका प्रत्येक कुरा सत्य वचन हुन् तैपनि यस्तो भइरहेको छ । कारण के होला ? के मभित्रैको कमीले हो यस्तो भएको ? मुसुक्क हाँस्दै बुद्धले सोधे, ‘पहिला यो भन कि तिमी कहाँ बस्छौ ?’

‘श्रावस्ती ।’

‘यो ठाउँ यहाँबाट कति टाढा छ ?’

ती व्यक्तिले दूरी बताए । बुद्धले फेरि सोधे, ‘तिमी त्यहाँ कसरी पुग्छौ ?’

‘कहिले घोडामा त कहिले बयलगाडा चढेर ।’

‘कति समय लाग्छ ?’ बुद्धले फेरि प्रश्न गरे । 

हिसाब गरेर समय बताइदिए । बुद्धले अन्तिम प्रश्न सोधे, ‘ठीक छ, तिमी मलाई यो भन कि तिमी यहाँ बस्दाबस्दै श्रावस्ती पुग्न सक्छौ ?’
प्रश्न सुनेर व्यक्ति आश्चर्यमा परे । उनले भने, ‘यस्तो कसरी हुनसक्छ ? यहाँ बस्दाबस्दै त्यहाँ कसरी पुगिन्छ ? त्यहाँ पुग्नलाई त पहिला यहाँबाट हिँड्नुप¥यो । कुनै बाहनको सहयोग लिनुप¥यो ।’

बुद्धले भने, ‘ठीक भन्यौ तिमीले । पाइला चालेपछि बल्ल लक्ष्यमा पुग्न सकिन्छ । ठीक त्यसरी नै असल र राम्रो कुराको प्रभाव पनि त्यसबेला मात्र पर्छ, जब त्यसतर्फ अघि बढ्छौ, त्यसलाई जीवनमा उतार्छौ र त्यसैअनुरुप आचरण गर्छौ । मात्र उपदेश सुनेर केही हुँदैन ।’

ती व्यक्तिले गल्ती महसुस गरे । बुद्धलाई वचन दिए कि अबदेखि उपदेशअनुसारको आचरण गर्नेछु, देखाएको मार्गमा अघि बढ्नेछु । 

त्यो राजा जसले आमा भनेन

भनिन्छ, रोम शहर आगोमा भष्म हुँदै गर्दा सम्राट निरो बाँसुरी बजाइरहेका थिए । कसैकसैको भनाइ छ, सन्काहा निरो रोमलाई बेग्लै ढंगले सुन्दर शहर बनाउन र त्यहाँ आफ्नो शालिक ठड्याउन चाहन्थे । त्यसैले सडक अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचना हटाउन जानाजान शहरमा आगो लगाउन लगाए । इतिहासकार टैसिटन रोम शहर जलिरहँदा निरो त्यहाँ नभएको दाबी गर्छन् । रोम शहर जलेको केही समयपछि नै उनले लेखे कि निरो त्यसबेला ५० मिल टाढाको ऐटियमस्थित महलमा थिए । राजधानीमा आगो लागेको खबर पाउनेबित्तिकै दौडँदै रोमतर्फ बढे र आगो निभाउने कोसिस गरे । 

जेहोस्, सन्काहा स्वभाव र पागलले दिनेजस्तो आदेश जारी गर्ने गरेकै कारण उनीसम्बद्ध यस्ता ‘कथाहरू’ निकै प्रसिद्ध भए । १७ वर्षको उमेरमा आमा एग्रिपिनाले उनलाई रोमको सिंहासन सुम्पेकी थिइन् । नैतिक मूल्यको दृष्टिकोणमा निरो पतित राजा थिए । उनले आफ्नै आमा एग्रिपिनासँग शारीरिक सम्बन्ध राखे । रानी बनाए । गर्भवती पारे । यद्यपि एग्रिपिनाले निरोबाट जन्माएको सन्तान मृत घोषित भयो । निरोले आफ्नो नाटक र ओपेरा हेर्न आउन सबै जनतालाई आदेश दिए । उनको वचन साह्रै रुखो हुन्थ्यो । उनको क्रुरताबाट सम्पूर्ण जनता अप्रसन्न थिए । अन्त्यमा निजी रक्षक ‘दि प्रिटोरियन गार्ड’ ले समेत उनलाई छोड्यो । चारैतर्फ अँध्यारो र मृत्युको डर देखेपछि सन् १९६८ मा आत्महत्या गरे ।


प्रतिक्रिया दिनुहोस !