सेबोन अध्यक्ष बर्खास्त,नेप्सेका साउदलाई उन्मुक्ति

सेबोन अध्यक्ष बर्खास्त,नेप्सेका साउदलाई उन्मुक्ति

सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । सर्वोत्तम सिमेण्टको सेयर बुक बिल्डिङ प्रणालीबाट निश्कासन गर्ने क्रममा अनियमित तवरले उक्त कम्पनीको सेयर लिएको आरोप लागेपछि उनीमाथि छानबिन गरिएको थियो ।

उच्च अदालतका पूर्वन्यायाधीश अनन्त डुम्रेको अध्यक्षतामा बनाइएको छानबिन टोलीको निश्कर्षको आधारमा सरकारले हिजोको क्याबिनेट बैठकबाट ढुंगानालाई बर्खास्त गरेको हो ।

सरकारी ओहोदामा बसेका पदाधिकारीले कानुन विपरितको कार्य गरेको अवस्थामा हदैसम्मको सजाय हुनुपर्छ । तर त्यस्तो कारबाही सबैलाई हुनुपर्छ भन्नेमा कसैको दुईमत छैन ।

एउटै सिमेण्ट कम्पनीको सेयर गलत तरिकाले श्रीमतीको नाममा हात पारेका नेपाल स्टक एक्सचेञ्जका सीईओ चन्द्रसिंह साउदलाई भने सरकारले उन्मुक्ति दिने छाँट देखाएको छ ।

गत भदौमा कार्यकाल सकिन एक महिना बाँकी रहेका साउदले समस्या जटिल बन्दै गएपछि एकाएक पदबाट राजीनामा दिएका हुन् । ढुंगाना र साउदले गरेका भए एउटै प्रकृतिको अपराध गरेका छन् ।

दुबै पदाधिकारीले पदको दुरुपयोग गरेर आफ्नो स्वार्थको निम्ति बदनियतपूर्वक काम गरेका हुन् भने पदबाट राजीनामा दिँदैमा उन्मुक्ति हुन नपाइनु पर्ने हो ।

उल्टै साउदले गत महिना राजीनामा दिएलगत्तै धितोपत्र बोर्डमा रिक्त हुने अध्यक्षको निम्ति आफू योग्य रहेको अन्तर्वार्तासमेत दिएका थिए ।

उनको उक्त अभिव्यक्तिले ढुंगानालाई सरकारले हटाउने र आफूमाथि कुनै कारबाही नहुने पूर्वजानकारी पाएको स्पष्ट भएको छ ।

बुक बिल्डिङ विधिबाट निश्कासन हुन लागेको उक्त कम्पनीको सेयर अवैध र गलत तवरले बुझेका सबैमाथि छानबिन हुनुपर्ने आवाज उठेको छ ।

त्यसमाथि प्रत्यक्ष सरोकार राख्ने संस्थाका साउदले गरेको बदमासीबारे सरकारले कारबाही गर्ने कि नगर्ने ? भन्ने ज्वलन्त प्रश्न चिन्ह खडा भएको बताइन्छ ।

टिप्पणीहरू