बौध्दका पुरुष चापागाउँमा दुई युवतीद्वारा लुटिए

बौध्दका पुरुष चापागाउँमा दुई युवतीद्वारा लुटिए

काठमाडौंमा दुई जना युवती मिलेर एक जना पुरुषको झण्डै साढे दुई लाख पर्ने सुनको सिक्री लुटेका छन् । युवतीहरुले आश्वासन र प्रलोभनमा नजिक्याएर बौध्द बस्ने पुरुषलाई चापागाउँ लगी नाङ्झार पारेका हुन् ।

१९ र २६ वर्षका युवतीको आश्वासनमा मख्ख परेका उनले घाँटीमा लगाएको ३७ ग्राम सुनको सिक्री लुटाएको बताइन्छ । दोलखा निवासी ती पुरुषलाई काभ्रेका १९ वर्षकी उर्मिला भन्ने युनिसा मगर र २६ वर्षकी रोशनी भन्ने सुनिता तामाङले फोन गरेर मख्ख पारेका थिए । युवतीहरुको डिमान्ड पूरा गरेर आफ्नो चाहना पूर्ति गर्ने उद्देश्यले ती पुरुष एअरपोर्ट नजिकै पुगेका थिए ।

त्यहाँबाट उनीहरु अर्की युवतीको जन्मदिन मनाउन भन्दै पुरुषलाई लिएर ललितपुरको चापागाउँ पुगे । चापागाउँ बसपार्क नजिकैको खाजा कटेजमा खाजा खाएपछि युनिसाले टिकटक बनाउने भन्दै उक्त सिक्री लगाएकी थिइन् ।

तीन वटी युवतीसँग मस्किन र जिस्किन पाएपछि पुरुष पनि दंग थिए । त्यत्तिकैमा मगरले जन्मदिन मनाउने भन्दै सबैलाई स्थानीय मोक्तान होटलमा लगिन् । जन्मदिनको तयारी गर्न केही बेर लाग्ने भनेपछि सुनिता र ती पुरुष केही बेर होटलको कोठाभित्र रमाए ।

पुरुष एकछिन सुस्ताएर कोठामा पल्टेको मौकामा सुनिता पनि आफ्नो रेडमी कम्पनीको मोबाइल छाडेर त्यहाँबाट टाप कसेकी थिइन् । ब्युँझिदा न युवती,न सिक्री देखेपछि पुरुषले प्रहरीमा उजुरी हाले । प्रहरीले खोज्दै जाँदा युवतीहरुलाई काठमाडौंको गोंगबुबाट अस्ति राति पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानपछि ठगीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान एवम् कारबाहीका लागि ती युवतीलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा राखिएको छ ।

टिप्पणीहरू