​जिन्दगीमा यस्तो पनि हुन्छ कहीं ?

  • राजेन्द्र महतो, अध्यक्ष मण्डल, राष्ट्रिय जनता पार्टी 

संसदमा राष्ट्रिय दलको हैसियतले उपस्थित हुने पाँचमध्ये पाँचौ दलको हैसियतमा छ, राष्ट्रिय जनता पार्टी । तराई आन्दोलनको जगमा बनेको उक्त दलले वैधानिक रुपमा दलीय हैसियत त बनाएको छ, तर प्राविधिक रुपमा अझै पनि दल बन्न सकिरहेको छैन । साना मधेसकेन्द्रित दललाई मिलाएर बनेको उक्त पार्टीलाई अहिले पनि उपेन्द्र यादव नेतृत्वको फोरमले चुनौति दिइरहेको छ । यही पार्टीको अध्यक्ष मण्डलमा छन्, राजेन्द्र महतो । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धनुषाबाट कांग्रेस नेता विमलेन्द्र निधीलाई हराएपछि उनको चर्चा चुलिएको छ । आफू कमजोर भए पनि वामगठबन्धनबाट गएको मत उनको विजयको आधार बनेको बताइन्छ ।

० मत परिणामलाई कसरी हेर्नुभएको छ ?

– मधेस आन्दोलनमा जनताको सहभागिता जसरी भएको थियो, निर्वाचनमा पनि त्यो प्रकट भयो ।

० विमलेन्द्र निधिलाई हराउने हिम्मत कहाँबाट आयो ?

– जनसमर्थनको उम्मेदवारले जित्छ । समर्थन भएन भने हार्छ । त्यसैले जनताको छायाँमा पर्नेले जित्छ, नपर्नेले हार्नु स्वभाविकै हो ।

० तपार्इंको चुनावी एजेण्डाले काम ग¥यो कि वामपन्थीको समर्थनले ? 

० कसले के–के गरेका छन् भन्ने हिसाब जनतासँग हुँदोरहेछ । हिजो मधेसी जनताले अधिकार प्राप्तिको लडाइँ लड्दा अन्धाधुन्द गोली चलाउन निर्देशन दिने को थियो ? मलेठ घटनामा पनि झण्डै सयौँ जनालाई सहिद बनाउने को हो ? संविधान निर्माणमा मधेसीविरुद्ध अघि सर्ने यी मुद्धालाई जनताले राम्रोसँग बुझेका छन् । सम्पूर्ण कुरा थाहा पाएपछि मधेसी जनताले बहुमतका साथ हामीलाई मत दिएर पठाएका हुन् । 

० चुनाव हारिसक्दा पनि सरकार नछाड्ने कुरा सुहाउँदो हो ?

– सत्ता नछाडेर हुन्छ ? सरकार आफैँले मुलुक चलाउने र टिकाउने हो र ! सरकार नछाडी हुँदै हुँदैन । नयाँ निर्वाचन भएको छ, त्यही जनादेशअनुसार चल्नुपर्छ । राष्ट्रियसभा निर्वाचनको सवालमा केही ढिलाई भएको थियो, त्यो पनि सल्टियो । जनमतले भनिसक्यो, देउवा सरकारको काम छैन । यस्तो अवस्थामा लाज पचाएर सरकारमा बस्ने र निर्णयहरु गर्दै जानु राजनीतिक नैतिकताभन्दा बाहिरको कुरा हो ।

० अब बन्ने सरकारमा राजपाको भूमिका के हुन्छ ?

– निर्वाचनअघि सारेको मधेसी, मुस्लिम, थारु र जनजाति अधिकारको आन्दोलन नै मूल एजेण्डा हो । तराई मधेसका जनताको हितविपरीत कुनै पनि परिवर्तन हुने छैन । हाम्रो मूल एजेण्डा, अहिले पनि त्यही हो । अब बन्ने सरकारसमक्ष पनि यही एजेण्डा अघि सार्ने छौँ ।  

० संविधान संशोधनमा तपाईंहरुको अबको भूमिका के हो ?

– यो मामिला सल्टाउँछौँ भनेर काँग्रेस–माओवादीले त्यतिबेलादेखि नै दिएको वचन हो । यो बचन फेरिँदैन होला । तर, तीन ठूला दलमध्ये एउटा पार्टीले समर्थन गरेको छैन । त्यो पार्टी एमाले हो । मलाई लाग्छ, अब सबैले यो मुद्दालाई समर्थन गर्नेछन् । कुनै पनि देशका नागरिक बराबर हुन् । कसैलाई काखा र कसैलाई पाखा बनाउनु जायज होइन । अब यसलाई कसरी ‘करेक्सन’ गर्ने तीन दलको दायित्व हो ।

० हिजो एमालेसँग तपाईंहरुको दूरी थियो । चुनावपछि घटेको हो ? 

– एमालेसँग कुनै दुश्मनी छैन । त्यसैले दूरी घट्ने र बढ्ने हुँदैन । जब संविधान बन्यो, तीनवटै दलको दूरी बढ्यो । विगतमा जे–जस्तो भएपनि अब हाम्रो मधेसको ‘इश्यु’ लाई सकारात्मकरुपमा लिने र समस्याको समाधान गर्नेसँग कुनै दुश्मनी राख्नुको औचित्य छैन । एमालेले पनि यो बारेमा नबुझेको होइन । 

० अब बन्ने बाम गठबन्धनको सरकारप्रति भारतको भूमिका कस्तो रहला ? 

– जनताले बाम गठबन्धनलाई भरिपूर्ण मत दिएकै हुन् । सरकार बनाउने संसद र पार्टीेले हो । अरुको कुरा र भूमिकाबारे गन्थन गरेर हुँदैन । आफ्नोबारे प्रष्ट भएपछि अरुको कुरा गर्नु जरुरी पनि छैन ।

० अबको सरकारमा राजपा सामेल हुन्छ ?

– सरकारमा उपस्थित हुने राजपाको एजेण्डा हो र ? पहिले संविधान संशोधन भएपछि बल्ल सोच्न सकिन्छ । 

० कामचलाउ सरकारले धमाधम  नियुक्ति तथा दुरगामी प्रभाव पार्ने निर्णय गर्दै जानु राम्रो हो ?

– सरकारले काम गर्नुपर्छ । तर, नचाहिँदो काम गर्नु अनुचित हो । मुलुक संघीयतामा गइसकेपछि अस्थायी प्रदेश प्रमुखलाई शपथग्रहण गराउने दायित्व सरकारको हो ? यो एकात्मक सोच भएन ? राजधानी नै नतोकी यस्तो निर्णय गर्न मिल्छ ? यो त सीधै संघीयताको मर्ममा लात मारेको हैन र भन्या ! नानाथरिका नचाहिँदो काम गर्ने अधिकार सरकारलाई छैन । 

० भूकम्पपीडितहरु गिटी–बालुवा नपाएर पुनर्निर्माण गर्न नसकिरहँदा नेपालबाट गिटी–बालुवा भारततिर पैठारी गर्ने निर्णय क्याबिनेटबाट हुँदै छ । यो काम कत्तिको जायज हो ?

– हाम्रो आवश्यकताभन्दा बेसी भएमा त्यो गर्न अनुचित होलाजस्तो लाग्दैन । तर, आफैँलाई खान पुग्दैन भने यो काम गर्नु गलत हो ।

० केही दिनअघि समानुपातिक सांसद चयनको विषयलाई लिएर पार्टी कार्यालयमा तोडफोड भयो । वास्तविकता के हो ? 

– राजपाभित्र सबै नेतृत्वकर्ता एक से एक हुँदा यी समस्या आउनु स्वभाविक हो । उहाँहरुले त्यस्तो गर्न नहुने, तर भइछाड्यो । विनोद सिंह मधेसी निजामती कर्मचारी संगठनको पूर्वअध्यक्ष हुन् । अहिले राजपा जहाँ बसिरहेको छ, त्यो संगठनको भवन राजपालाई प्रयोग
गर्न दिएबापत उनलाई सांसद बनाउने आश्वासन थियो । त्यो पूरा नभएपछि पार्टी कार्यालय तोडफोड भयो । (हाँस्दै) जिन्दगीमा यस्तो पनि हुन्छ कहीँ ? यो बिल्कुल गलत हो । व्यक्तिले व्यक्तिलाई किटान गरेर यस्तो निर्णय गर्न हुन्छ ? जो कोहीले टिकट नपाउँदैमा गुनासो गर्नुपर्दैन  । लामो समयसम्म राजनीतिमा त्याग, तपस्या गरेपछि यस्ता पद प्राप्त भैहाल्छन् । 

० राजपाभित्रै जिउ–ज्यान दिएर राजनीति गर्नेलाई बाइपास गरेर स्याङ्जाका नरमाया ढकाललाई आर्थिक शुभलाभ लिई समानुपातिक बनाउन लागेको चर्चा छ । योबारे बताइदिनुस् न !

– निर्वाचन आयोग क्लष्टर मिलाऊ भन्छ । यही कारण यस्ता समस्या आएका हुन् । कानुनी मान्यताअनुरुप खस, आर्य सबैलाई समेटेर अघि बढ्नुपर्दा त्यस्तो भएको हो ।

० केही दिनअघि अमरेश सिंहलाई लिएर प्रचण्डकहाँ पुग्नुभयो । के छलफल भयो ?

– अमरेश कताको, म कताको ? म आफैँ सीधै प्रचण्डसँग भेट्ने हैसियत राख्छु । 

० प्रचण्डसँगको भेटमा कुराकानीचाहिँ के भयो ? 

– चुनावपछिको पहिलो भेट थियो । भेटघाटमा संविधान संशोधनको मुद्दा नबिर्सनुहोला, धोका नहोस् भनेको हुँ । 

० चुनावमा तपाईंहरु २ नं. नम्बर प्रदेशमा मात्र सीमित हुनुको कारण के हो ?

– राजपाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भोट पाएको छ । कञ्चनपुरमा प्रत्यक्ष सिट जित्यो । एक नम्बरलगायतका क्षेत्रमा चुनाव जित्दा दुई नम्बरमै सीमित भन्न मिल्छ ? राजपा मधेसकेन्द्रित भए पनि संगठन मेचीदेखि महाकालीसम्म छ । यसबाट आगामी दिनमा कमजोर भएको ठाउँमा मजबुत बनाउने प्रेरणा मिलेको छ । मधेसको हकमा भने हाम्रो संगठन मजबुत नै छ ।

० लामो समय सँगै काम गरेका बृजेशकुमार गुप्ता, हृदयेश त्रिपाठीहरुले एमालेबाट चुनाव जिते नि !

– सीधै यो मधेसमाथिको धोका हो । मधेसी जनताको हक हितमा लड्नुपर्ने बेला उता जानु कति जायज हो ? 

टिप्पणीहरू