कोहिसङ्ग पनि बहस गर्दै नगर्ने हो त कमरेड ?

कोहिसङ्ग पनि बहस गर्दै नगर्ने हो त कमरेड ?

‘हामीले छलफल गर्दा केही वैचारिक,केही सैध्दान्तिक र केही परम्परागत शव्दावली प्रयोग गर्न सक्छौं । जनताका वीचमा जाँदा त्यो भनेको के हो भन्ने मूर्त चित्र कोर्न सक्नुपर्छ । बाटो बनाउनु, पुल बनाउनु,खानेपानी गाउँमा पुर्याउनु,स्कूल बनाउनु,बेरोजगारी दिनु नै समाजवाद उन्मुख हो । जनतालाई यहि भन्नुपर्छ । धेरै जटिल बनाउनु आवश्यक छैन ।’ पार्टीको नीति तय गर्ने विधान अधिवेशनको बन्द सत्रमा ६ हजार बढी प्रतिनिधिलाई सम्बोधन गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको हो यो ।

एमालेले आफ्नो राजनीतिक जीवनमै पहिलो पटक विधान महाधिवेशन गरेकाले यसलाई चासोका साथ हेरिएको थियो । यसअघि राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व निर्माण एकैसाथ गर्दै गर्दै आएको एमालेले यसपटक फरक अभ्यास गरेकाले पनि चासो हुनु स्वभाविकै थियो । राष्ट्रिय महाधिवेशनमा नेतृत्व निर्माणमा बढी ध्यान जाने र त्यसले सैध्दान्तिक-वैचारिक बहस प्रभावित भएकाले छुट्टै विधान महाधिवेशन गर्नु परेको एमाले नेताहरुको तर्क रहँदै आएको छ ।

तर,नेताहरुले दाबी गरेजस्तै विधान महाधिवेशन वैचारिक बहसको थलो बन्न नसकेको एमालेकै नेता-कार्यकर्ताको गुनासो छ । अझ महाधिवेशन सम्पन्न हुँदै गर्दा ‘वैचारिक बहस नगर्नू’ भन्ने अध्यक्ष केपी ओलीको निर्देशन लिएर प्रतिनिधिहरु गाउँ फर्केका छन् । हरेक पार्टीका लागि महाधिवेशन आफैँमा ठूलो वैचारिक बहसको थलो हो । त्यहि थलोमा उभिएर वैचारिक बहसलाई नियन्त्रण गर्न खोज्नु उदेकलाग्दो छ ।

‘जो तपाईंसँग लडिरहेको छ,त्यो विरोधी हो । जो तपाईंसँग लडेको छैन,सँगै काम गरेको छ,त्यो मित्र हो । हाम्रो पार्टीका बिग्रिएका मान्छे ती हुन्, जो छोडेर गए । जो यहाँ छन्, त्यो सप्रिएका हुन् भन्ने छर्लङ्गै छ ।’

महाधिवेशनको अन्तिम दिन आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले जनतामा गएर वैचारिक, सैध्दान्तिक कुरा नगर्न प्रष्ट निर्देशन दिनुभएको थियो । समाजवादको ब्याख्या गर्ने क्रममा वैचारिक बहसलाई निरुत्साहित पार्ने गरी ओलीको यस्तो अभिव्यक्ति आएपछि एमालेमाथि संशोधनवादको आरोप लगाउनेहरुलाई बल पुर्याएको छ ।

कम्युनिष्ट पार्टीमा वैचारिक बहसलाई प्रधानता दिइन्छ । अन्तरपार्टी होस् या बाहिर नेता-कार्यकर्ता वैचारिक बहसमा जुटेका हुन्छन् । अपवादबाहेक शास्त्रीय शव्द र शैलीमै उनीहरु प्रस्तुत हुने गर्छन् । नेपाली काँग्रेस लगायत गैरकम्युनिष्ट पार्टीका नेता-कार्यकर्ताको तुलनामा कम्युनिष्ट पार्टीका कार्यकर्ता आफूलाई बढी वैचारिक र प्रगतिशील भन्न रुचाउँछन् । प्रगतिशीलको परिभाषा मार्क्सवादमा लगेर जोड्ने गर्छन् ।

आफ्नो सम्बोधनमा ओलीले समाजवादको लामै ब्याख्या गर्नुभयो । जनताको सुख नै समाजवाद हो भन्ने कुरा जनताले बुझ्ने गरी भन्न सक्नुपर्ने भन्दै शास्त्रीय शव्द र शैलीमा वैचारिक तर्क नराख्न कार्यकर्तालाई आग्रह गर्नुभयो । ओलीले भौतिक विकास र सामाजिक न्यायलाई समाजवादको परिभाषामा समेट्दै भन्नुभयो,’बाटो बनाउनु,पुल बनाउनु,खानेपानी गाउँमा पुर्याउनु,स्कूल बनाउनु,बेरोजगारी दिनु नै समाजवाद उन्मुख हो । जनतालाई यहि भन्नुपर्छ । धेरै जटिल बनाउनु आवश्यक छैन ।’

“मुलुककै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको महाधिवेशनबाट घर फर्किंदै गर्दा प्रतिनिधिहरु भने आफ्नै अध्यक्षले वैचारिक बहस नगर्न दिएको निर्देशन सुनेर घर फर्किनुपर्ने अवस्था बनेको छ ।”

ओलीले भनेजस्तै भौतिक विकासमात्रै समाजवाद निर्माणको आधार होइन । भौतिक विकास त पुँजीवादी राज्य व्यवस्थामा पनि देखिएको छ । कम्युनिष्टहरुले भन्ने गरेको भौतिक विकास प्रगतिशील मान्यताका आधारमा हुने भनिन्छ । त्योसँग राज्यको समग्र रुपान्तरणको प्रश्न जोडिएको हुन्छ । मार्क्सवादको मर्म नै सांस्कृतिक रुपान्तरण बिना समाजको विद्यमान संरचना बदल्न सकिंदैन भन्ने हो । सांस्कृतिक रुपान्तरण वैचारिक बहसबाट मात्रै सम्भव हुन्छ । यस्तो बहस नेता-कार्यकर्तामा मात्र होइन, आमजनतामा पनि लैजानु पर्छ ।

सोही सम्बोधनमा ओलीले वैचारिक बहसमा रुचि राख्ने नेता घनश्याम भुसालमाथि कटाक्षपूर्ण टिप्पणी पनि गर्नुभयो । जबजको ब्यानरमुनि उभिएर उहाँले भुसालतर्फ इंगित गर्दै सैध्दान्तिक कुरा गरेर मात्र उपलब्धि हात नलाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कहिले कहिले सिध्दान्त र व्यवहारमा धेरै अल्मलिन्छौं । विरोधीले गालामा थप्पड हानिसक्छ,अनि हामी शास्त्र पल्टाउन थाल्छौं । शास्त्रले के भन्छ,यो गालामा थप्पड हान्ने विरोधी हो कि होइन ? यतिसारो शास्त्रवादी हुन जरुरी छैन ।’ उहाँले अघि भन्नुभयो, ‘जो तपाईंसँग लडिरहेको छ,त्यो विरोधी हो । जो तपाईंसँग लडेको छैन,सँगै काम गरेको छ,त्यो मित्र हो । हाम्रो पार्टीका बिग्रिएका मान्छे ती हुन्, जो छोडेर गए । जो यहाँ छन्, त्यो सप्रिएका हुन् भन्ने छर्लङ्गै छ ।’

कम्युनिष्ट पार्टीको नीतिसम्बन्धी विमर्श गर्ने थलोमा ६ हजार बढी प्रतिनिधिलाई सम्बोधन गर्दै ओलीले पूर्वीय दर्शनको प्रसङ्गसमेत कोट्याउनु भयो । आफूहरुले जनताको सुख र सम्बृध्दिको चासोलाई एकमात्र उध्देश्य बनाएको भन्दै उहाँले हजारौँ वर्षअघि ऋषिमुनिहरुले पत्ता लगाएको ‘सर्वे भवन्तु सुखिन:’ नै आजको सुखी नेपाली सम्बृध्द नेपालको नारा भएको बताउनुभयो ।

‘सम्बृध्द नेपाल,सुखी नेपालीको सर्वोपरी राष्ट्रिय आकांक्षा जो हाम्रा ऋषि मुनिहरुले पनि भनेका थिए, सर्वे भवन्तु सुखिन: मान्छे के चाहन्छ भन्दा सुख चाहन्छ । हाम्रा ऋषि मुनिहरुले हजारौँ वर्षअघि त्यो पत्ता लगाएका थिए । त्यै सबै सुखी हौँ भन्ने हाम्रो कुरा हो । त्यसका लागि संमृद्धि हुनुपर्छ । जनता अधिकारसम्पन्न हुनुपर्छ’, ओलीले भन्नुभयो ।

विश्वभर कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपालमा भने ६० प्रतिशत बढी वामपन्थी जनमत छ । संसदबाहिर रहेका अन्य साना वामपन्थी शक्तिलाई समेत जोडेर हेर्दा ७० देखि ७५ प्रतिशत वामपन्थी मत रहेको देखिन्छ । जनमतको जग उनीहरुले उठाउँदै आएको अग्रगामी र प्रगतिशील बिचारलाई नै मान्ने गरिएको छ ।

तर,मुलुककै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको महाधिवेशनबाट बाहिरिंदै गर्दा प्रतिनिधिहरु भने आफ्नै अध्यक्षले वैचारिक बहस नगर्न दिएको निर्देशन सुनेर घर फर्किनुपर्ने अवस्था बनेको छ ।

टिप्पणीहरू