कृषिमा प्रकाशको ऊर्जा

कृषिमा प्रकाशको ऊर्जा

-शंकर श्रेष्ठ

हजुर सर,
‘कता हुनुहुन्छ प्रकाशजी ?’
म पाडा गोठमा गोबर सोर्दै छु है सर, तपाईलाई ठ्याक्कै साढे सात बजे फोन गर्छु ।
‘ए.. ए..हुन्छ प्रकाशजी’
आज दिनभरि नर्सरीतिरै भ्याइनभ्याई भयो, गोठको जिम्मा पनि आज मेरै छ क्या ।
‘हुन्छ प्रकाशजी काम सक्नुस् अनि भेटौं है’

नीलकण्ठ नगरपालिका–३ का प्रकाश दुवाडीको दैनिक यस्तैगरी बित्छ । निकै व्यस्तमान्छे । बिहानदेखि बेलुकासम्म एकछिन फुर्सद हुन्न । कहिले नर्सरी, कहिले गोठ त कहिले चिस्यान केन्द्र चाहार्दै उनको दिन बित्छ । भन्छन्,‘हिजोआज कृषिकर्ममै व्यस्त छु हजुर ।’

उमेरले भर्खर २७ टेकेका प्रकाशले कृषि विषयमा मास्टर्स गरेका छन् । भारत, इण्डोनेसिया, पाकिस्तान, अफगानस्थानलगायत १३ देश त कृषि सिक्न र बुझुनै पुगिसके रे । अहिले भने प्रकाश बिरुवा उत्पादनका लागि नीलकण्ठ–१२, साङ्कोषमा नर्सरी र पाडोपाडी पालन गरिरहेका छन् । आफ्नै थाकथलो ज्वालामुखी–४, ढोलामाभने अदुवा र बेसार खेती गरेका छन् । उत्पादित वस्तु भण्डारण गर्न चिस्यान केन्द्र पनि त्यही छ ।

साङ्कोषको नर्सरीसँगै बायोफ्लग प्रविधिको माछापालन पनि सुरु गरेका छन् । त्यहीँनजिकै गड्यौले मल (भर्मी कम्पोस्ट) उत्पादन हुन्छ । प्रकाशको दैनिकी साँच्चै कृषिमै बित्छ । उठेदेखि साँझसम्म । सायद उनका बा पनि कृषिमा यत्तिको भिजेका थिएनन् होला ? त्यसैले होला २१ औं शताब्दीको वैज्ञानिक युगमा युवाका लागि प्रकाश उदाहरणीय ऊर्जा बनेका छन् । एसएलसी दिएपछि अमर उच्चमावि पटिहानी पुगेर १५ महिने जेटिए भेटेनरी पास गरे । नेपाल पालिटेक्निक इस्न्सिच्युट भरतपुरबाट प्लान्ट साइन्समा तीन वर्षे बाली विज्ञान (आईएससीएजी)गरे । बीएससीएजी पढ्न इलाम पुगेका उनले भारतको रामा युनिर्भसिटीबाट मास्टर्स इन हर्टिकल्चर गरेका छन् ।

कृषिमा नै डिग्रीसम्मको पढाइ हासिल गरेका प्रकाशले पढाइकै सिलसिलामा जहाँ जहाँ पुगे,कही कहिल्यै खाली बसेनन् रे । चितवन बसेर आईएससीएजी पढ्दै गर्दा सुरुमा साइकलमा राखेर कुखुराको अण्डा र चल्ला बेच्थे । तेस्रो वर्ष पढ्दै गर्दा एउटा प्रोजेक्टमा जोडिए, जागिरे भएर । त्यो जागिरमा झण्डै एक लाख कमाएँ भन्छन् । व्यावसायिक सोचका प्रकाशलाई त्यही पैसा बिउपुँजी भयो । प्रोजेक्टको जागिर छाडेर चितवनमा २ बिघा जग्गामा फूल खेती गरे । भन्छन्, ‘मेरो जीवनमा कृषिकर्म यहीबाट सुरु भयो ।’

बीएससीएजी पढ्न उनी इलाम पुगे । त्यहाँ पनि हात खाली बस्न सकेनन् र युनिक नर्सरी स्थापना गर्न भ्याए । सादा जीवन उच्च विचारको रुपमा आफूलाई प्रस्तुत गर्ने प्रकाश भन्छन्, ‘गरिब परिवारमा अभावै अभावले हुर्किएको मान्छे म, पढ्दै दुःख गर्दै कमाएको एक लाख लगानी अहिले साढे तीन करोड हाराहारी पुगेको छ ।’न्यून वर्गीय परिवारमा हुर्किएका उनले स्कलरसिपमै विदेशको कृषि हेर्न पाए । कृषिमा काम गर्ने योजना पनि ल्याए । प्रकाशले गत तीन वर्षदेखि धादिङको नीलकण्ठ नगरपालिकामा प्रारम्भ एग्रो कम्पनीको नामबाट कृषि तथा पशुपालनमा विभिन्न १४ विधामा काम गरिरहेका छन् ।

२०७५ मा साङ्कोषमा नर्सरी सुरु गरेका उनले दोस्रो वर्षदेखि ढोलामा शाखा सञ्चालन गरे । उनको नर्सरीमा फलफूलजन्य, पुष्पजन्य र वनजन्य गरी ७०भन्दा बढी प्रजातिका बिरुवा छन् । ‘मध्य पहाडी क्षेत्रलाई छुट्टै र तराईलाई छुट्टै गरेर दुई स्थानमा बिरुवा उत्पादन गरेको हो,’ प्रकाशले जिज्ञासा मेटाए ।
वर्षमा ९० लाखसम्मको बिरुवा बिक्री गर्दै आएको छ । ‘गोटामा नै गन्ती गरेर कति बिरुवा बेचिन्छ त हिसाब राख्नै सकिँदैन, बिरुवाबाट मात्रै ८० देखि ९० लाखको कारोबार हुन्छ,’ प्रकाश भन्छन्, ‘चालू वर्षमा मात्रै मैले नेपालको ३६ जिल्लामा बिरुवा पठाएँ ।’

बिरुवा लिन मान्छेहरु नर्सरीमै पुग्छन् । बिरुवाको जात, उत्पादन प्रविधि र संरचनाअनुसार मूल्य पनि फरक हुन्छ । एउटा बिरुवालाई २५ रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ । केराको बिरुवामात्रै वर्षमा ३० हजार बिक्रीभएको गर्वसाथ सुनाउँछन् प्रकास । पहाडी गाउँघरमा केराको बिक्री त त्यस्तो छ भने आँप, लिची, एभोगार्डाे, कागती, ड्राइगनफुड, भुइँकटहरजस्ता बिरुवाको कुरै नगरौं । फलफूल, वन, घाँसजन्य गरी ७० भन्दा धेरै जातका बिरुवा नर्सरीमा छन् । प्रकाशको नर्सरीबाट प्रत्येक वर्षमा एक जातको बिरुवा कम्तीमा ५ हजार उत्पादन हुन्छ ।साङ्कोषको नर्सरीभन्दा झण्डै एक किलोमिटर माथि पाडापाडी फार्म छ । ज्वालामुखी– ४ ढोलामा ३६ रोपनी जग्गामा अदुवा र बेसार खेती । साङ्कोषको नर्सरी भएकै ठाउँमा गड्यौला खेती पनि छ । ‘देख्नेले बालुवामा पानी खन्याएजस्तै ग¥यो, यत्रो पैसा खेर फाल्ने भयो भन्थे,’ उनी सम्झन्छन्,‘३ वर्षमा लगानीबाट आम्दानी हुन थालेको छ । देशका विभिन्न जिल्लाबाट माग आउने गरेको छ । अहिले नर्सरीमा भएका घाँस, फलफूल, रुखका बिरुवाको बढी माग आउने गर्छ ।’

धादिङ सानोबजार भएकाले यहाँमात्रै बजारीकरणले पुग्दैन । अरूभन्दा केही सस्तो गरेर भए पनि बजार बढाउने सोच उनको छ । भन्छन्,‘तत्काल लगानी उठेको त छैन विस्तारै गर्दै जाने हो ।’ आफ्नो भविष्य यसैमा उज्ज्वल देखेको पनि उनले सुनाउन भुलेनन् ।

आफूले सुरु गरेको व्यवसायलाई निरन्तरता दिने अठोट छ उनमा । सबै फार्ममा गरी १४ जनालाई रोजगारीसमेत दिएका छन् । त्यसो त उनी कामलाई कहिल्यै सानो ठूलो ठान्दैनन् । कामदारसँगै सबै काममा उनी पनि जुटिरहेका हुन्छन् । उनको व्यवसाय नियाल्नेहरु भन्न थालेका छन् ‘यस्तो काम गरे पनि राम्रो हुने रैछ त…’ग्रामीण क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पु¥याउन तथा उत्पादित वस्तुको व्यवस्थापन एवं भण्डारणमा समेत प्रकाशको चासो छ । आफूले उत्पादन गरेको र गाउँका किसानले फलाएका तरकारी तथा फलफूलको भण्डारणका लागि ढोलामा चिस्यान केन्द्र सञ्चालनमा ल्याएका छन् ।

नर्सरी, व्यावहारिक ज्ञानको थलो

प्रकाशले सञ्चालन गरेको प्रारम्भ एग्रो कम्पनी व्यवहारिक ज्ञान सिक्ने थलो बनेको छ । देशभरका विभिन्न प्राविधिक स्कुलमा कृषि पढ्दै गरेका विद्यार्थी यहाँ इन्टर्न गर्न आउँछन् । ३ वर्षे बाली विज्ञान पढेर ३ महिनाको लागि इन्टर्न गर्न आएका कैलाली बर्दगोरीका माइकल चौधरी भन्छन्, ‘व्यावहारिक ज्ञान सिक्नकै लागि यहाँ आएको हुँ ।’

बाली विज्ञान (आईएससीएजी) पढ्दै गरेका ७ जनाले अहिले नर्सरीमा इन्टर्न गरिरहेका छन् । यसै वर्ष यहाँबाट ३५ जनाले इन्टर्न गरे । ती विद्यार्थीले नर्सरीमा बिरुवा उत्पादन, रोगकीरा व्यवस्थापन, मलको मात्रा मिलाउनेजस्ता कुरामा दक्षता हासिल गर्छन् ।

रोल्पाको नमूना मावि थप प्राविधिक तथा व्यावसायिक विद्यालयमा बाली विज्ञान पढेका ४ जना पनि इन्टर्न गरिरहेका छन् । यो नर्सरी विद्यार्थीको पनि रोजाइमा पर्छ । कालिकोटबाट इन्टर्न गर्न आएका लोकराज गिरी भन्छन्,‘अघिल्लो व्याजले यता राम्रो छ भन्यो, त्यसैले हामी पनि आयौं ।’बिरुवाको व्याड बनाउनेदेखि पशुपालनका लागि आवश्यक ज्ञान सिक्न पाउने भएकाले पनि विद्यार्थीको रोजाइ प्रकाश र उनको कृषि फार्म परेको छ ।

अघिल्लो वर्षका ३ जना इन्टर्न अहिले प्रारम्भ नर्सरीमै जागिर गर्छन् । पढेर जहाँ इन्टर्न गर्न आइपुगे त्यही जागिर पाउँदा मुगुका बलिराज रावल निकै खुसी छन् । उनी नर्सरीका म्यानेजर हुन् । माटोदेखि विरुवासम्म रेखदेख गर्न सक्छिन् । भन्छन्,‘सुरुमा पढेर पनि यस्तो धुलो माटोमा काम गरिएला र ! जस्तो लाग्थ्यो अहिले यही प्यारो लाग्न थाल्यो ।’

इन्डोनेसियाको बायोफ्लग ज्ञान

प्रकाशले नर्सरीभित्रै एकापट्टि छेउमा माछापालन गरिरहेका छन् । प्लाष्टिकको घरभित्र बायोफ्लग प्रविधिको माछापालन सुरु गरेको पनि वर्ष पूरा भयो । इन्डोनेसियाबाट सिकेर आफ्नै गाउँमा सुरु गरेको उनी बताउँछन् । ‘कृषिमा स्नातकोत्तर गर्दैगर्दा इन्टर्नका लागि ६ महिना इन्डोनेसिया पुगेको थिए, त्यहीको सीप बायोफ्लग प्रविधि यहाँ भित्र्याएँ,’ प्रकाशले सुनाए ।

एउटा घरभित्र ३ वटा प्लाष्टिक पोखरी छ । एउटामा विभिन्न तीन जातका ३६ सय भुरा छन् । सुरुमा कमन कार्प, ग्रासकार्प, सिल्भरकार्प हालेका थिए । एक लट बेचिसकेर अर्काे लट पंगा जातका माछा हुर्काउँदैछन् प्रकाश । माछामा डेमोस्ट्रेशन गरिरहेको उनले सुनाए ।

अनुदान नै व्यवसाय बढाउने आधार

३ वर्षअघिबाट कृषि व्यवसाय गरिरहेका उनले सरकारले उपलब्ध गराउने अनुदानको सही सदुपयोग गरेका छन् । प्रकाशकै भनाइमा, सरकारको अनुदान नै व्यवसाय बढाउने आधार बन्यो ।

कृषि ज्ञान केन्द्रबाट आधुनिक नर्सरी स्थापनाअन्तर्गत ३५ लाख बराबर अनुदान लिए । बायोफ्लग प्रविधिको माछापालनमा प्रदेश सरकारबाट २ लाख लिए । सरकारले उपलब्ध गराउने सहुलियत ऋणको पनि उनले राम्रो सदुपयोग गरेका छन् ।

युवाको कृषि व्यवसायतिर मोह बढे पनि पहुँचका आधारमा स्थानीय तह तथा अन्य सरकारी निकायले अनुदान वितरण गर्दा वास्तविक किसान मारमा परेको उनको बुझाइ छ । प्रकाश भन्छन्, ‘राज्यका तर्फबाट अनुदान वास्तविक किसानसम्म पुगेको छैन, मैले पनि कृषिमा भविष्य देखेर काम थालेको हुँ, पहुँचका आधारमा राज्यको अनुदान लिने प्रथा छ, झोलामा बोकेका फर्मले बर्सेनि अनुदान लिन्छन्, यस्ता प्रथा हटाउन सकियो भने मात्रै वास्तविक किसान आफ्नो पेशामा ऐक्यबद्ध हुनेछन् ।’

कृषिमै चेन

प्रकाशको फार्ममा अहिले साना ठूला गरी ३५ वटा पाडापाडी छन् । पाडो हुर्किएपछि मासुका लागि बिक्री गर्छन्, पाडीलाई राँगो लगाएर महँगो मूल्यमा बेच्छन् ।

३ सय भैंसी पाल्ने र गोबरले गड्यौला मल उत्पादन गरेर शहरी क्षेत्रमा हुने कौसी खेती गर्नेलाई बिक्री गर्ने योजना उनको छ । ‘प्राङ्गारिक खेती गर्ने किसान र कौसी खेती गर्नेहरुलाई यो अति नै उपयोगी हुन्छ, प्रकाश भन्छन्,‘यो मल नगनाउने र प्रायः सुख्खाजस्तो हुने हुँदा प्रयोग गर्न सजिलो हुने भएकाले सजिलै बिक्री हुन्छ ।’

उनको कृषि व्यवसाय कुनै ठूला व्यावसायीको चेन विजनेशभन्दा कम छैन । भैंसीबाट गोबर उत्पादन, गोबरबाट गड्यौला मल उत्पादन गर्छन् । त्यही मल नर्सरी अथवा कृषिजन्य उत्पादनमा प्रयोग गर्छन् । ‘भैंसीको गोबर नर्सरीमा प्रयोग गर्छु । नर्सरीबाट निस्किएको वस्तुहरु गड्यौलालाई खुहाउँछ । खेतीमा उत्पादन भएको परालहरु भैंसीलाई खुवाउँछु’ आफ्नो व्यवसायबारेमा प्रकाशले सबैलाई यसरी नै बुझाउँछन् ।

‘धेरै धन कमाउने सपना बुनेर विदेशिने युवाको भीडबाट भागेर स्वदेशमै केही गर्छु भन्ने सपना देख्दै कृषिमा लागेको हुँ, उनी भन्छन्, ‘स्वदेशमा व्यावसायिक रुपमा कृषिमा लाग्न सके राम्रो आम्दानी लिन सकिन्छ भन्ने मलाई विश्वास छ ।’

टिप्पणीहरू