३३ किलो सुन काण्डका सबै आरोपीलाई सफाई

३३ किलो सुन काण्डका सबै आरोपीलाई सफाई

बहुचर्चित ३३ किलो सुनकाण्डका सबै आरोपीले सफाई पाएका छन् । उच्च अदालत विराटनगरले आज उनीहरुलाई सफाई दिएको हो । सुन तस्करी र त्यससँग जोडिएको हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेसहित २२ जनाविरुद्ध उच्च अदालतमा मुद्दा चलाइएको थियो ।

जसमध्ये सनम शाक्यको ज्यान मुध्दामा जोडिएका बाहेक अन्यले सफाई पाएका हुन् । तस्करीमा मिलेमतोको आशंकामा प्रहरीको विभागीय कारवाहीमा परेका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी र श्याम खत्रीले पनि सफाई पाएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलजस्तो संवेदनशील स्थानबाट ३३ किलो सुन बाहिरिनुलाई गम्भीर सुरक्षा कमजोरी भएको भन्दै खत्रीलाई प्रहरी प्रधान कार्यालयले विभागीय कारवाही गरेको थियो । सुन तस्करी हुँदा खत्री विमानस्थलको सुरक्षामा थिए ।

२०७४ सालको फागुन ९ गते दुबईबाट तस्करी भएकोसहित साढे ३३ किलो सुन विमानस्थलबाटै गायब भएको भनी गृहमन्त्री रामबहादुर थापा बादलले छानवीन आयोग बनाएका थिए ।

घटनामा भरियाको भूमिकामा रहेको भनिएका सनम शाक्यको हत्या भएको थियो । उक्त हत्यामा पनि सुनकाण्डका नाइके गोरेको संलग्नता थियो ।

टिप्पणीहरू