​राष्ट्रियसभा रोज्नेको रन्को

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको लामै रस्साकस्सीबीच राष्ट्रियसभाको चुनावी मिति तोकिएको छ । वाम गठबन्धनको बहुमत हुने अवस्था स्पष्ट भइसकेकै अवस्थामा पनि कांग्रेसको लामो अडान र रस्साकस्सीबीच सरकारको सिफारिसमा एकल संक्रमणीय विधिबाट छानिने गरी अध्यादेशको प्रमाणीकरण भएपछि कांग्रेसले पनि केही सिट जित्ने निश्चित भएको छ । 

वाम गठबन्धनका तर्फबाट उम्मेदवारी टुंगो लाग्दा आफूलाई अन्याय भएको भन्दै अलिक बढी नै असन्तुष्टि पोखेका माओवादी केन्द्र ललितपुरका संयोजक तथा पोलिटब्युरो सदस्य हरि दाहालले आफूलाई राष्ट्रियसभा सदस्य बनाउन अध्यक्ष प्रचण्डलाई निवासमै दलबलसहित गएर भेटेका छन् । ललितपुरमा एमालेले ०५६ पछि संसदीय निर्वाचनबाट पहिलो पटक २ प्रतिनिधिसभा र ४ प्रदेशसभा गरी ६ सांसद पाएको छ भने प्रदेशसभातर्फ समानुपातिकमा ऊसँग दुई सिट छ । यी उपलब्धि आफ्नो नेतृत्वमा भएको जससहित एमाले केन्द्रीय सदस्य सुशीला नेपालले ३ नम्बर प्रदेशबाट महिलामा आफू राष्ट्रियसभा सदस्य हुनुपर्ने माग गर्दै आएको बुझिएको छ ।

प्रदेशसभा समानुपातिकको अग्रपंक्तिमै नाम भएर एकाएक काटिएकी डा. सुमित्रा अमात्यको पनि राष्ट्रियसभा सदस्यमा चर्चा चलेको छ भने पूर्वमन्त्री एवं पुराना नेता गोपाल शाक्य र पूर्वसांसद सिद्धिलाल सिंहले पनि राष्ट्रियसभा एल्डर हाउस भएकाले आफूहरूले पाउँदा राम्रै हुने भनेर अनौपचारिक अनुरोध गरेको चर्चा छ । 

प्रतिनिधि तथा प्रदेशसभामा शून्य भएको कांग्रेसले राष्ट्रियसभामा जित्ने निश्चित भएमध्ये एउटा सिट ललितपुरले पाउनुपर्ने अडान राखेको छ । पराजयपछि तनाव भुल्न सभापति अमेरिका गएका छन् भने नेतृत्वमा नभएका केही नेता शीर्ष नेताको निवास धाउन थालेका छन् । जीवनभर टिकटसँग जम्काभेट पनि नभएका तर निरन्तर कांग्रेसको अग्रमोर्चामा रहेर सक्रिय मथुराप्रसाद घिमिरेका लागि कार्यकर्ताले चर्चा चलाएका छन् भने पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठलाई अगाडि सारेर भए पनि ललितपुरलाई एउटा राष्ट्रिय सभा सदस्य ल्याउनेमा कतिपयको जोड छ । 

रोक्नेहरूको चलखेल 

महिलामा सुशीला नेपाल र डा.सुमित्रा अमात्यबीच अघोषित प्रतिस्पर्धा देखिए पनि पुरुषबाट रघुजी पन्त वा प्रमेश हमाललाई राष्ट्रियसभामा अगाडि सार्ने सम्भावनाको पनि चर्चा छ । माओवादीबाट दाहाल एक्लै हिँडेको भन्दै दिनेश महर्जन र नारायणकाजी समूहका असन्तुष्ट छन् । पम्फा भुसालको आडमा अघि बढ्न खोजेकोमा अनन्त पनि असन्तुष्ट भएको बुझिएको छ । 

टिप्पणीहरू