इच्छाराजलाई सोह्रखुट्टे, पाकेटमारलाई १४ चौकी

इच्छाराजलाई सोह्रखुट्टे, पाकेटमारलाई १४ चौकी

हिजो साँझ पक्राउ परेका बैंकर तथा पूर्व सांसद इच्छाराज तामाङलाई प्रहरीले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा राखेको छ । उनी सिभिल सहकारीका निक्षेपकर्ताको ४६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका हुन् ।

सिभिल बैंकको अध्यक्ष रहेका उनी सिभिल होम्स कम्पनीका मालिक पनि हुन् । धेरै पटक धेरै वटा आर्थिक अनियमिततामा मुछिएका तामाङ पटक पटक जोगिएका थिए । यसपटक धेरै जनाले उजुरी हालेपछि उनलाई हिजो साँझ सुन्धारास्थित उनकै कार्यालयबाट प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी) ले पक्रेर सोह्रखुट्टे पुर्याएको हो ।

सोह्रखु्टटे प्रभागमा हिजै समातिएका अन्य एक दर्जनलाई पनि राखिएको छ । प्रहरीले पछिल्लो २० दिनमा उपत्यकाबाट समातेका अन्य दुई सय सात जना पकेटमारलाई १४ वटा चौकीमा राखेको छ । असोज महिनाको अझै १० दिन बाँकी रहेकाले पकेटमार पक्रिने संख्या तीन सय पुग्ने अनुमान प्रहरीको छ ।

दशैं नलाग्दै बजारमा पकेटमारको बिगबिगी भएपछि प्रहरीले चलाएको विशेष निगरानीबाट उनीहरु पक्राउ परेका हुन् । तीमध्ये कसैलाई अभद्र व्यवहार गरेको,कसैलाई मोबाइल चोरेको,कसैलाई नगद र अन्य सामान चोरेकोलगायतका अभियोग लगाइएको छ ।

दुई सय सात जनाको विभिन्न टोलीका सदस्यहरु समातिएका हुन् । एउटा समूहमा पाँचदेखि सात जना रहने उनीहरुले आफ्नै खालको कोड ल्याङ्वेज समेत प्रयोग गर्ने गरेको पाइएको छ । दशैंअगावै मानिसले अन्य बेलाकोभन्दा बढी रकम र गहना बोकेर हिँड्ने भएकाले चोर र पकेटमारहरु असोज नलाग्दै सक्रिय बनेका हुन् ।

इच्छाराजदेखि पकेटमार सबैलाई चौकीमा थुनेको अवधिमा समेत सरकारले खाना उपलब्ध गराउने व्यवस्था छ । ‘खाना चाहिँ उनीहरुले मागेको र चाहेको स्वाद र परिकारको हुँदैन । प्रहरीले जे दिन्छ, त्यहि खानुपर्छ ,’ एक जना प्रहरी अधिकृतले भने ।

टिप्पणीहरू