यो कस्तो सेटिङ हो म्याडम ?

सर्पको मुखमा च्यापिएको भ्यागुताले किरा खान खोजेको उखान आखिर आरजु म्याडमले चरितार्थ गरेरै छाड्ने भइन् । मन्त्रालय र विभागबाट गरिने उठ्तीले नपुगेर प्रधानमन्त्री पत्नीले भन्सार नाकामा समेत सेटिङ मिलाई निरन्तर लाभ हासिल गर्ने वातावरण बनाएको पाइयो । नेपाली बजारमा चिनियाँ सामान भित्रिने एक मात्र नाका केरुङ । भारतीयले समेत प्रयोग गर्ने लत्ताकपडादेखि अधिकांश घरायसी सामान, गाडी चिनियाँ छन् । सामानको आयात बढेको बढेकै छ । तर, राजस्व असुली घट्दो छ ।

राष्ट्रिय ढुकुटीमा जम्मा हुनुपर्ने रकममा फस्र्ट लेडीसम्मले मुख मिठ्याउँदै सेटिङ गरेपछि बिचरा कर्मचारी चेसको गोटीजस्ता हुने नै भए । अख्तियार प्रमुख दीप बस्न्यातका निजी सचिव लक्ष्मण बाँस्तोलाको दरबन्दी नै रसुवा भन्सार कार्यालय हो । उनी काजमा बस्नेतको निजी सचिवालयमा खटिएका छन् । व्यापारमा राम्रै जमेका लक्ष्मणको आफ्नै क्यारिङसम्बन्धी काम गर्ने कम्पनी पनि छ । रसुवाबाट आउने कतिपय ट्रकका सामान लक्ष्मणकै कम्पनीमार्फत भित्रिँदा अब कसले, कसरी जाँच पड्ताल गर्लान् र कसेर राजश्व उठाउलान् ? 

भन्सार र त्यहाँका कर्मचारीलाई च्याप्प अँठ्याएर बसेका आरजुहरूको शुभलाभको धन्दालाई अलिक खतरा राजश्व अनुसन्धान विभागबाट हुन सक्छ । तर, त्यहाँ पनि रसुवा भन्सारमै दरबन्दी भएका सहायकस्तरका तर उठ्ती र चाकडीमा निकै चालु कर्मचारी देवी थापालाई माथिदेखिकै सेटिङमा काज खटाइएको छ । यिनले विभागका सबै गतिविधि र योजनाबारे बालुवाटारदेखि टंगालसम्म रिपोर्ट पु¥याउने गर्छन् । अनि छड्के गस्ती जाँच गरिहाल्दा पनि अनुकूलका अधिकृतलाई कुदाउने गरिन्छ । त्यसैले होला निकै समय भयो न कुनै व्यापारी समातिएका छन् न त कुनै सुन तस्कर नै अप्ठ्यारोमा परेका छन् । नायब सुब्बा देवी तातोपानी भन्सार कार्यालयमा बसेर अकुत सम्पत्ति जोडिसकेका र जुवाको खालबाट समातिएका चर्चित कर्मचारी हुन् । भन्सारका कर्मचारी सामान्यतः काजमा आउँदा भन्सार विभागमा त्यो पनि तीन महिनाका लागि खटिनुपर्ने हो । तर, १० महिनादेखि किन करका सुब्बालाई राजश्व अनुसन्धान विभागमा खटाइयो ?

के उनीबिना राजश्व अनुसन्धानको कामै हुन नसक्ने हो ? रसुवा भन्सार कार्यालयका प्रमुख गोपाल कोइराला स्वयं पनि राजश्व अनुसन्धान विभागबाटै गएका हुन् । राज्यको ढुकुटीमा चुना लगाएर आफ्नै थैली भर्ने आरजु म्याडमको रुचिमै सुब्बा तहको समेत खटनपटन हुने भएपछि भन्सार र राजश्वका प्रमुखहरूले चाहेर मात्र पनि केही नहुने रहेछ भन्ने यो त एउटा सानो दृष्टान्त मात्र हो । 

टिप्पणीहरू