माओवादीको चिन्ह तानेको भन्दै एमालेको नयाँ लोगो विवादमा

माओवादीको चिन्ह तानेको भन्दै एमालेको नयाँ लोगो विवादमा

नेकपा (एमाले) को विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको छ । माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो हँसिया हथौडा लोगोमा प्रयोग गरिएकाले माओवादी कित्ताबाट यसउपर प्रशन उठाइएको हो ।

माओवादी केन्द्रका एक नेताले आफ्नो पार्टीको चुनाव चिन्ह एमालेले लोगोमा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

एमालेले यसअघि वर्गाकार कोठामा सानो साइजको हँसिया हथौडा राखेर त्यसको मुनि युएमएल लेखिएको लोगो प्रयोग गर्दै आएको थियो । हिजो सम्पन्न विधान महाधिवेशनले पुरानो लोगो परिवर्तन गरी सूर्यभित्र गोलाकार आकारको हँसिया हथौडा राखिएको लोगो पारित गरेको छ ।

तत्कालीन नेकपाले प्रयोगमा ल्याएको लोगो नै विधान महाधिवेशनले पारित गरेको हो । एमाले र माओवादीबीच पार्टी एकता हुँदा दुवै पार्टीका चुनाव चिन्हलाई मिलाएर लोगो प्रयोगमा ल्याइएकोमा पार्टी विभाजनपछि पनि एमालेले त्यसैलाई निरन्तरता दिएको छ ।

‘जसरी नेपालको झण्डा लोगोमा राख्न पाइँदैन त्यसैगरी अरु पार्टीको चुनाव चिन्ह राखेर लोगो बनाउन मिल्दैन । नेकपा हुँदा कम्प्रोमाइजमा त्यसरी राखिएको हो । अहिले एमालेले त्यसैलाई निरन्तरता दिनेगरी बनाएको लोगोप्रति हाम्रो आपत्ति छ’, माओवादी नेताले भने।

टिप्पणीहरू